काठमाडौं, १५ पुस । माघ १ गतेबाट फिल्म ‘मिरमिरे’ प्रदर्शनमा आउने तयारीमा रहेको छ । फिल्म ‘मिरमिरे’ छोरी र बुवाबीचको गहिरो भावनात्मक सम्बन्धमा आधारित छ ।
छोरीले आफ्नो बुवालाई गर्ने निस्वार्थ माया र छोरीका लागि बुवाले गर्ने त्याग, संघर्ष र समर्पणलाई केन्द्रमा राखेर कथावस्तु अघि बढाइएको छ । पारिवारिक भावना र संवेदनशील कथाले दर्शकको मन छुने विश्वास गरिएको छ ।
नेपाली चलचित्र क्षेत्रमा सफल जोडीलाई पटक–पटक दोहो¥याउने परम्परा नयाँ होइन । दर्शकको रुचि र स्वीकृति पाएका कलाकारको जोडीलाई फिल्म निर्माता तथा निर्देशकहरूले पुनः सहकार्य गराउनु स्वाभाविक मानिन्छ ।
यही अभ्यासको निरन्तरता स्वरूप पछिल्लो समय अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना निङलेखुको जोडी पनि एकपछि अर्को फिल्ममा देखिन थालेको छ ।
यसअघि दयाहाङ राई र मिरुना मगरको जोडी नेपाली फिल्ममा सबैभन्दा बढी दोहोरिएको जोडीका रूपमा चर्चामा रहँदै आएको थियो । तर हाल दयाहाङको नयाँ जोडीका रूपमा सिर्जना निङलेखु पनि दर्शकमाझ परिचित हुँदै गएकी छन् ।
दयाहाङ र सिर्जनाले पहिलो पटक चलचित्र ‘कार्साङ’मा सँगै अभिनय गरेका थिए । उक्त चलचित्रमा उनीहरूले श्रीमान–श्रीमतीको भूमिका निर्वाह गरेका थिए, जसलाई दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो ।
अब दयाहाङ र सिर्जना पुनः नयाँ चलचित्र ‘मिरमिरे’मा सँगै देखिँदैछन् । संयोगवश, यी दुवै कलाकारलाई दोहो¥याउने निर्देशक पनि उही व्यक्ति हुन् । ‘कार्साङ’ निर्देशन गरेका निर्देशक यम शेर्पाले नै ‘मिरमिरे’ निर्देशन गरेका हुन् । यसले कलाकार र निर्देशकबीचको विश्वास र सहकार्यको सम्बन्धलाई प्रस्ट पार्ने देखिन्छ ।
दयाहाङ र सिर्जनालाई दोस्रो चलचित्रमा पनि पुनः सहकार्य गराउनुको कारणबारे निर्देशक शेर्पा भन्छन्, “एकपटक सँगै काम गरिसकेपछि त्यही कलाकारसँग पुनः काम गर्न सहज हुने रहेछ ।
पहिलो फिल्ममै कलाकारको काम गर्ने शैली, पेशागत आनीबानी र सोच बुझिसकेको हुँदा दोस्रो प्रोजेक्टमा काम अझ सरल र प्रभावकारी हुन्छ ।” उनका अनुसार ‘कार्साङ’मा दुवै कलाकारसँग काम गर्दा सकारात्मक अनुभव भएकाले ‘मिरमिरे’मा पनि उनीहरूलाई दोहो¥याइएको हो ।
निर्देशक शेर्पाले ‘मिरमिरे’को कथावस्तुले पनि दयाहाङ र सिर्जना जस्तै पात्रको माग गरेको बताए । उनले भने, “स्क्रिप्ट लेख्ने क्रममा नै मेरो दिमागमा दयाहाङ र सिर्जना हुनुहुन्थ्यो । कथाको भाव, पात्रको स्वभाव र भावनात्मक गहिराइका लागि उहाँहरू उपयुक्त लाग्नुभयो । त्यसैले अघिल्लो अनुभव र कथाको आवश्यकतालाई आधार मानेर पुनः सहकार्य गर्ने निर्णय गरेको हुँ।”
‘मिरमिरे’मा दयाहाङ र सिर्जनासँग काम गर्न झन् सहज र रमाइलो भएको निर्देशक शेर्पाको भनाइ छ । कलाकारहरूबीचको आपसी समझदारी र अनुभवले फिल्म निर्माण प्रक्रियालाई सहज बनाएको उनको धारणा छ ।
चलचित्र ‘मिरमिरे’मा दयाहाङ र सिर्जना निङलेखुसँगै प्रकाश सपूत, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल तथा बाल कलाकार शाइसा गौचनलगायतको अभिनय रहेको छ । कलाकारहरूको सशक्त टोलीका कारण चलचित्रप्रति दर्शकको अपेक्षा पनि बढ्दो देखिन्छ ।
दयाहाङ राई र सिर्जना निङलेखुको यो पुनः सहकार्यले नेपाली चलचित्रमा नयाँ जोडीका रूपमा उनीहरूको पहिचान थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्