‘झरीपछिको इन्द्रेणी’ निर्माण टिमको हलप्रतीे गुनासो

 

काठमाडौँ, १४ पौष । गत पौष ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली सिनेमा ‘झरीपछिको इन्द्रेणी’ ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । सिनेमालाई दर्शकले ‘उत्कृष्ट वर्ड अफ माउथ’ दिइरहेका छन् भने हलमा सिनेमा हेरेर निस्कँदा भावुक हुँदै रुँदै बाहिरिने दर्शकको संख्या पनि उल्लेख्य देखिएको छ । प्रारम्भमा अपेक्षाकृत कम शो पाए पनि दर्शकको प्रतिक्रिया बलियो रहेकाले क्रमशः शो थपिँदै जाने विश्वास निर्माण टिमले लिएको थियो ।

तर, उत्कृष्ट दर्शक प्रतिक्रिया हुँदाहुँदै पनि प्रमुख हलहरूले शो बढाउनुको साटो घटाउँदै गएको भन्दै निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले असन्तुष्टि जनाउँदै आएका छन् । प्रदर्शनको तेस्रो दिनदेखि नै उनले वितरकमार्फत हल व्यवस्थापनसँग पटक–पटक शो थप्न आग्रह गरे पनि अपेक्षित सुनुवाइ नभएको गुनासो गरेका छन् ।

शो थप्ने प्रयास सफल नभएपछि शुक्रबार सिनेमाको निर्माण टिमले ललितपुरस्थित आफ्नो कार्यालयमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरी आफ्नो धारणा सार्वजनिक गरेको छ । निर्देशक घिमिरेले विशेष गरी क्यूएफएक्स सिनेमा हलले ‘झरीपछिको इन्द्रेणी’प्रति उपेक्षापूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । उनका अनुसार देशभरका क्यूएफएक्स हलमा सिनेमाले जम्मा पाँच शो मात्र पाएको छ ।

पत्रकार सम्मेलनमा निर्देशक पाँडेले भने, “एउटा नेपाली सिनेमाले क्यूएफएक्सजस्तो ठूलो चेनमा पाउने शो यति मात्रै हो ? सुरुमा थोरै शो दिएको भए पनि दर्शकको उपस्थिति बढेपछि शो थपिन्छ भन्ने अपेक्षा थियो, तर अहिलेसम्म त्यो हुन सकेको छैन ।” उनका अनुसार अहिले पनि सिनेमाले पाएका सबै शो ‘हाउसफुल’ भइरहेको अवस्था छ ।

उनले थपे, “दर्शक भएपछि शो थपिनुपर्छ । तर जानाजान हाम्रो सिनेमालाई शो नदिइएको अनुभूति भएको छ । आजबाट रिलिज भएका केही हिन्दी सिनेमालाई २०० भन्दा बढी शो दिइएको छ । ती सिनेमामा कति दर्शक आउँछन् भन्ने अझै थाहा छैन । तर दर्शक पाएको नेपाली सिनेमालाई जम्मा पाँच शो मात्र दिनु न्यायसंगत होइन ।”

यद्यपि निर्देशक घिमिरेले सिनेमालाई शो नदिइनुका पछाडि केही प्राविधिक वा अन्य कारण हुनसक्ने सम्भावना पनि स्वीकार गरेका छन् । “वितरकले केही कारण हुनसक्ने कुरा बताउनुभएको छ, तर त्यसको पछि लागेर विवाद बढाउनु पनि हाम्रो उद्देश्य होइन,” उनले भने । शुक्रबारदेखि सिनेमा दोस्रो सातामा प्रवेश गरिसकेको उल्लेख गर्दै पहिलो सातामै सिनेमाले उत्साहजनक व्यापार गरेको दाबी पनि उनले गरे ।

नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको ‘झरीपछिको इन्द्रेणी’ले देशको राजनीतिक अस्थिरता, त्यसले आम नागरिकको जीवनमा पारेको प्रभाव तथा नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तुका रूपमा प्रस्तुत गरेको छ । साथै, एक इमानदार कर्मचारी र बाबुको संघर्षपूर्ण जीवनकथालाई पनि सिनेमा मार्मिक ढंगले चित्रण गरिएको छ ।

यस सिनेमाबाट अभिनेता गणेश उप्रेतीले करिब नौ वर्षपछि दमदार कमब्याक गरेका छन् । उनको अभिनयले विशेषगरी अघिल्लो पुस्ताका दर्शकलाई हलसम्म आकर्षित गरिरहेको निर्माण पक्षको भनाइ छ । सिनेमामा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायत कलाकारको अभिनय रहेको छ । एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामाको विशेष उपस्थिति पनि देख्न सकिन्छ ।

निर्देशक घिमिरेकै कथामा बनेको यस सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले अभिनयमा डेब्यु गरेका छन् । डेब्यु अभिनेता विमोचनको अभिनयप्रति दर्शकबाट प्रशंसा प्राप्त भइरहेको छ । जेसिका पोखरेल अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी भतिजी हुन् । बाल कलाकार दिप्सन चिलवालको अभिनय पनि सिनेमामा समावेश छ ।

सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको यस सिनेमाका छायाँकार बुद्ध थापा हुन् । अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माताका रूपमा छन् भने लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन् । दर्शकको सकारात्मक प्रतिक्रियाबीच हल व्यवस्थापनबाट थप शो पाउने अपेक्षा निर्माण टिमले अझै कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्