काठमाडौँ, १३ पुस । झापामा आगामी पुस २७ र २८ गते ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा हुन लागेको यो प्रतियोगिता झापाको प्रमुख नाका क्षेत्र काँकरभिट्टास्थित काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन् ।
नेपाल र भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने तथा खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । उहाँका अनुसार खेलकुद कूटनीतिक सम्बन्ध विस्तारको प्रभावकारी माध्यम भएकाले दुई देशका सञ्चारकर्मीहरूलाई एउटै मैदानमा उभ्याएर मित्रता र सहकार्यको सन्देश प्रवाह गर्न प्रतियोगिता महत्वपूर्ण हुने विश्वास लिइएको छ ।
प्रतियोगितामा नेपाल र भारतका गरी आठ वटा मिडिया टिमको सहभागिता रहनेछ । सहभागी टिमहरूमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरू रहनेछन् । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिनेछ भने सम्पूर्ण खेलहरू अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को नियमअनुसार खेलाइने जनाइएको छ । यसले खेलको मर्यादा, प्रतिस्पर्धात्मकता र निष्पक्षतालाई सुनिश्चित गर्ने आयोजकको भनाइ छ ।
प्रतियोगिताका विजेता टिमलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिनेछ भने उपविजेता टिमले रु ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यसका अतिरिक्त विजेता तथा उपविजेता दुवै टिमलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगितालाई अझ आकर्षक र प्रतिस्पर्धात्मक बनाउन व्यक्तिगत विधातर्फ पनि विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलगायत विधागत पुरस्कार प्रदान गरिनेछ, जसअन्तर्गत नगद पुरस्कारसमेत समावेश रहनेछ ।
आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब रु दुई लाख खर्च अनुमान गरिएको छ । खेल मैदान व्यवस्थापन, खेल सामग्री, पुरस्कार, अतिथि सत्कार तथा अन्य प्रशासनिक खर्चलाई ध्यानमा राखी उक्त अनुमान तयार गरिएको हो । यस खर्च व्यवस्थापनका लागि स्थानीय सरकार, विभिन्न सङ्घसंस्था, उद्योगी तथा व्यवसायीहरूसँग सहयोगका लागि आह्वान गरिएको छ ।
प्रेस क्लब मेचीनगरले प्रतियोगिताले सीमावर्ती क्षेत्रको पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरेको छ । खेलकुद कार्यक्रममार्फत मेचीनगर क्षेत्रको पहिचान प्रवद्र्धन हुनुका साथै स्थानीय व्यवसाय, होटल तथा यातायात क्षेत्रमा समेत चहलपहल बढ्ने विश्वास गरिएको छ । साथै, नेपाल–भारतबीच सञ्चारकर्मीहरूको आपसी सम्बन्ध मजबुत भई भविष्यमा सहकार्य र अनुभव आदानप्रदानका अवसरहरू विस्तार हुने आयोजकको धारणा छ ।
आयोजक समितिले प्रतियोगितालाई सफल बनाउन स्थानीय समुदाय, खेलप्रेमी दर्शक तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै सबैलाई कार्यक्रममा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ । ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२’ ले खेलकुद, मित्रता र सहकार्यको सन्देश बोकेर सीमावर्ती क्षेत्रमा सकारात्मक ऊर्जा प्रवाह गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्