शीर्ष नेताहरूद्वारा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता

 

काठमाडौँ, १३ पुस । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागीता हुने प्रतिबद्धता जनाएका छन । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न उच्चस्तरीय छलफलमा सहभागी प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा सहभागी हुने स्पष्ट प्रतिबद्धता जनाएका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल सकारात्मक वातावरणमा सम्पन्न भएको थियो र यसले निर्वाचन सफलताका लागि आशा थपेको छ ।

प्रधानमन्त्री कार्कीको नेतृत्वमा भएको उक्त छलफलमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू सहभागी थिए । छलफलको मुख्य उद्देश्य फरक राजनीतिक र सामाजिक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा साझा धारणा निर्माण गर्नु थियो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रमुख राजनीतिक दल निर्वाचनमा जान तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । कांग्रेस तयार छ, एमाले पनि तयार छ, अरु दलहरू पनि तयार छन् । अब सरकारले सुरक्षा र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्नुपर्छ।” उहाँको भनाइले निर्वाचन बहिष्कारको आशंका हट्दै गएको संकेत दिएको छ ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन निर्वाचन अपरिहार्य भएको धारणा राख्दै सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभएको बताइएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पनि निर्वाचन प्रक्रियामा सहभागी हुने आफ्नो दलको तयारी रहेको जानकारी दिनुभएको छ । छलफलका क्रममा उहाँले समावेशी, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्न सरकार र सबै राजनीतिक शक्तिहरूले सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान अवस्थामा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन मुलुकको लोकतान्त्रिक भविष्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले फरक–फरक विचार र दृष्टिकोण भए पनि निर्वाचन प्रक्रियामा सहभागी भई त्यसलाई सफल बनाउनु सबै राजनीतिक दलहरूको साझा दायित्व भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रमुख दलहरूको सहयोग र सहभागिताको आग्रह गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्था, प्रशासनिक तयारी तथा निर्वाचन आयोगसँगको समन्वयलाई प्राथमिकतामा राखेर सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि जनताको सहभागिता सुनिश्चित गर्न राजनीतिक नेतृत्वले सकारात्मक सन्देश दिनु आवश्यक रहेको बताउनुभयो ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने कार्यक्रम तय भइसकेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेताहरूबाट आएको सहभागिताको प्रतिबद्धतालाई राजनीतिक वृत्तमा सकारात्मक संकेतका रूपमा हेरिएको छ । यसले निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास बढाएको विश्लेषकहरूको भनाइ छ ।

राजनीतिक दलहरूबीच सहमति र सहकार्यको वातावरण निर्माण भएमा निर्वाचन प्रक्रिया अझ सहज, विश्वसनीय र जनविश्वासयुक्त हुने अपेक्षा गरिएको छ । लोकतान्त्रिक अभ्यासको निरन्तरताका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नेमा आम नागरिकले आशा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्