काठमाडौँ, ११ पुस । प्रणय दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कुमारी’को प्रवद्र्धनका लागि चर्चित गायक केहर सिंह लिम्बूले सक्रिय सहयोग गर्ने हुनुभएको छ । फिल्मबारे दर्शकमाझ व्यापक जानकारी पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको सांगीतिक टूरमा केहर र उहाँको ब्यान्डले लाइभ प्रस्तुति दिने तयारी गरेको छ ।
‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ नाम दिइएको उक्त टूर देशका छ वटा प्रमुख सहरमा आयोजना हुने जनाइएको छ । आगामी माघ १ गतेदेखि माघ २३ गतेसम्म सञ्चालन हुने यस सांगीतिक यात्रामा दाङ, पोखरा, काठमाडौँ, नेपालगन्ज, चितवन र धरान समावेश छन् । प्रत्येक सहरमा आयोजना हुने कन्सर्टमा गायक केहर सिंह लिम्बू र उहाँको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् ।
निर्माण समूहका अनुसार फिल्मका गीतहरू दर्शकमाझ क्रमशः लोकप्रिय बन्दै गइरहेका बेला सांगीतिक कन्सर्टमार्फत प्रत्यक्ष रूपमा दर्शकसँग जोडिन सकिने विश्वास गरिएको छ ।
यसले फिल्मप्रतिको उत्साह अझ बढाउने र दर्शकलाई हलसम्म आकर्षित गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ।गायक केहर सिंह लिम्बू स्वयं फिल्म ‘कुमारी’का पाश्र्व गायक पनि हुनुहुन्छ ।
उहाँले गाउनु भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ बोलका गीतहरू सार्वजनिक भएसँगै दर्शक र श्रोतामाझ उल्लेखनीय लोकप्रियता हासिल गर्न सफल भएका छन् । ती गीतहरू विशेषतः युवापुस्तामाझ अत्यन्त रुचाइएका छन् ।
कन्सर्ट टूर सुरु हुनु अघि फिल्ममा समावेश अर्को नयाँ गीत सार्वजनिक गर्ने तयारी पनि निर्माण पक्षले गरिरहेको छ । लोक लयमा आधारित उक्त गीतमा पनि केहर सिंह लिम्बूकै स्वर रहेको जानकारी दिइएको छ । निर्माण पक्षका अनुसार यस गीतले फिल्मको कथावस्तु र भावनात्मक पक्षलाई थप मजबुत बनाउनेछ ।
फिल्म ‘कुमारी’ केहर सिंह लिम्बूका लागि विशेष महत्वको परियोजना पनि हो, किनकि यही फिल्मबाट उहाँले नेपाली चलचित्र क्षेत्रमा पाश्र्व गायनको औपचारिक डेब्यु गर्नुभएको हो । यसअघि आफ्नो ब्यान्डमार्फत सांगीतिक पहिचान बनाइसक्नुभएका केहरले फिल्म संगीतमा पनि आफूलाई सफलतापूर्वक स्थापित गर्ने प्रयास गर्नुभएको छ ।
‘कुमारी’को निर्देशन चर्चित निर्देशक दिनेश राउतले गर्नुभएको छ । उहाँ यसअघि ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता रोमान्टिक फिल्ममार्फत दर्शकमाझ विशेष परिचित हुनुहुन्छ । ‘कुमारी’ पनि प्रेम, सम्बन्ध र संवेदनशील भावनामा आधारित फिल्म भएको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा आकृति राजभण्डारी, अबिषेक खड्का, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सरोज लामिछाने लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
कलाकारहरूको सशक्त अभिनयले फिल्मलाई भावनात्मक रूपमा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
फिल्मका निर्माता महेन्द्र अधिकारी हुनुहुन्छ भने कथावस्तु तथा पटकथा विकास सुवेदीले लेख्नुभएको हो ।
निर्माण समूहका अनुसार ‘कुमारी’ प्रेमकथामा आधारित भए पनि यसले सामाजिक संवेदनशीलता र सम्बन्धका जटिल पक्षहरूलाई पनि चित्रण गर्ने प्रयास गरेको छ ।
प्रणय दिवसको माहोलसँग मेल खाने समय छानेर प्रदर्शनमा ल्याउन लागिएको ‘कुमारी’ र त्यससँगै सञ्चालन हुने ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ ले नेपाली फिल्म र संगीतलाई एउटै प्लेटफर्ममा जोड्ने प्रयास गरेको छ । यसले दर्शकलाई नयाँ अनुभव दिने र फिल्मप्रतिको चासो थप बढाउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्