महिला क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य

 

काठमाडौँ, १० पुस । नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली खेलाडीहरूमा रहेको अदम्य लगनशीलता र दर्शक–नागरिकस्तरको गहिरो क्रिकेटप्रेम नै नेपाली टोली विश्वकपमा छनोट हुन सक्ने प्रमुख आधार रहेको बताउनुभएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार कीर्तिपुरमा आयोजना गरेको अन्तक्र्रियात्मक कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक पाठकले घरेलु दर्शकको अपार माया र समर्थनले नेपाली खेलाडीहरूलाई मैदानमा उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार नेपालमा क्रिकेट केवल खेल मात्र नभई राष्ट्रिय गौरव र भावनासँग जोडिएको विषय बनेको छ, जसको सकारात्मक प्रभाव महिला टोलीमा स्पष्ट देखिन्छ ।

“नेपाली दर्शकको उत्साह र समर्थन असाधारण छ । यही मायाले खेलाडीहरूलाई हरेक खेल जित्नका लागि मैदानमा लड्न ऊर्जा दिन्छ,” प्रशिक्षक पाठकले भन्नुभयो । यसअघि आफू थाइल्यान्डको राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षक रहँदा नेपाललाई विपक्षी टोलीका रूपमा नजिकबाट नियाल्ने अवसर पाएको उल्लेख गर्दै उहाँले नेपाली टोलीमा सिक्ने र सुधार गर्ने अद्भुत क्षमता रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले नेपाली महिला क्रिकेट टोलीमा खेल्दै–सिक्दै अघि बढ्ने प्रवृत्ति बलियो रहेको बताउँदै यही विशेषताले टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउँदै लगेको धारणा राख्नुभयो । “नेपाली टोलीमा प्रतिभा मात्र होइन, निरन्तर सुधार गर्ने इच्छाशक्ति पनि छ । त्यसैले विश्वकप छनोटको सम्भावनालाई मैले निकै सकारात्मक रूपमा लिएको छु,” उहाँले भन्नुभयो ।

नेपाल क्रिकेट सङ्घले आसन्न आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितालाई लक्षित गर्दै पहिलोपटक विदेशी मुख्य प्रशिक्षकका रूपमा हर्षल पाठकलाई नियुक्त गरेको हो । क्यानको यो निर्णय नेपाली महिला क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ गरिएको जनाइएको छ ।

मुख्य प्रशिक्षक पाठकले स्पष्ट योजना, अनुशासित अभ्यास र टोलीभित्रको समन्वयलाई प्राथमिकता दिइएमा नेपाली महिला टोलीले उल्लेखनीय नतिजा दिन सक्ने विश्वास व्यक्त गर्नुभयो । “सही रणनीति बनाएर त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके नेपाली टोलीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्न सक्छ,” उहाँको भनाइ थियो ।

क्यानका क्रिकेट प्रबन्धक विनोद दासले हर्षल पाठकलाई आगामी दुई वर्षका लागि नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पाठकको अन्तर्राष्ट्रिय अनुभव र सफल प्रशिक्षण पृष्ठभूमिले नेपाली महिला क्रिकेटलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

भारतीय मूलका प्रशिक्षक पाठकले सन् २०१८ देखि सात वर्षसम्म थाइल्यान्डको महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुभएको थियो । उक्त अवधिमा उहाँले थाइल्यान्डलाई एसिया छनोट तथा ग्लोबल छनोट दुवै चरण पार गराउँदै पहिलोपटक आइसिसी महिला टी–२० विश्वकपमा स्थान दिलाउन सफल हुनुभएको थियो, जुन उहाँको प्रशिक्षण क्षमताको महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।

यस अनुभवलाई नेपालमा उपयोग गर्दै नेपाली महिला क्रिकेट टोलीलाई विश्वकपसम्म पु¥याउने लक्ष्यसहित आफूले काम गर्ने प्रशिक्षक पाठकले स्पष्ट गर्नुभयो । उहाँले खेलाडी, व्यवस्थापन र समर्थक सबै एकजुट भए नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा नयाँ इतिहास रच्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्