‘टाइगर कप’ भलिबल प्रतियोगिताको तयारी तीव्र

 

कास्की, १० पुस । पर्यटकीय सहर पोखरामा आगामी माघ ९ गतेदेखि १७ गतेसम्म ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । महिला तथा पुरुष दुवै वर्ग समेटिएको यस प्रतियोगिताको छैटौँ संस्करण टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजना गर्न लागिएको हो ।

आयोजक संस्थाले बुधबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको मिति, सहभागिता, पुरस्कार राशि तथा तयारीका विविध पक्षबारे जानकारी दिएको हो । टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा महिला र पुरुष गरी कुल १४ टोलीको सहभागिता निश्चित भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार महिलातर्फ सात तथा पुरुषतर्फ सात टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

अध्यक्ष शर्माले यस संस्करणको ‘टाइगर कप’ लाई अझ प्रतिस्पर्धात्मक र अन्तरराष्ट्रियस्तरको बनाउन विदेशी टोलीलाई पनि आमन्त्रण गरिएको बताउनुभयो । महिलातर्फ थाइल्यान्डका दुई टोली र पुरुषतर्फ माल्दिभ्सको राष्ट्रिय टोली तथा भारतको गुजरात भलिबल क्लब गरी चार विदेशी टोली सहभागी हुने उहाँले जानकारी दिनुभयो । यसले प्रतियोगिताको स्तर उकास्नुका साथै नेपाली खेलाडीलाई अन्तरराष्ट्रिय अनुभव हासिल गर्न मद्दत पुग्ने आयोजकको विश्वास छ ।

महिला वर्गमा थाइल्यान्डका युनाइटेड प्यासन भलिबल क्लब र थाइल्याण्ड क्विन्सको सहभागिता रहनेछ । नेपालबाट नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र एभरेष्ट भलिबल क्लब, रुपन्देहीले प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी पुरुष वर्गतर्फ माल्दिभ्स भलिबल एसोसिएसन, भारतको गुजरात भलिबल क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, पर्वत जिल्ला भलिबल सङ्घ तथा विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरस्कार राशिबारे जानकारी दिँदै अध्यक्ष शर्माले छैटौँ संस्करणको च्याम्पियन बन्ने महिला तथा पुरुष टोलीले समान रूपमा नगद ६ लाख ६६ हजार ६६६, ट्रफी र मेडल प्राप्त गर्ने बताउनुभयो । उपविजेता टोलीले नगद तीन लाख ६६ हजार ६६६ प्राप्त गर्नेछन् भने तेस्रो स्थान हासिल गर्ने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद २६ हजार ६६६ प्रदान गरिनेछ । अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई महिला तथा पुरुषतर्फ समान रूपमा नगद ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

पाँचौँ संस्करणको ‘टाइगर कप’ मा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ आयोजक संस्था टाइगर ग्रुपले पहिलोपटक उपाधि जितेको स्मरण गर्दै अध्यक्ष शर्माले यस संस्करण पनि दर्शक र खेलाडी दुवैका लागि रोमाञ्चक हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड ८० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिँदै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण भलिबलप्रेमी, संघ–संस्था तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आग्रह गर्नुभयो । प्रतियोगिताबाट प्राप्त बचत रकम शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रको विकासमा खर्च गरिने उहाँले स्पष्ट गर्नुभयो ।

आयोजक संस्थाका सचिव डिबी नेपालीले प्रतियोगितालाई भव्य, व्यवस्थित र सभ्य रूपमा सम्पन्न गर्न १०७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिनुभयो । साथै, विभिन्न जिम्मेवारी बाँडफाँडका लागि १४ वटा उपसमिति गठन गरी तयारीलाई तीव्र बनाइएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्