‘नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार’

 

कैलाली, १० पुस । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता भीम रावलले पार्टी ताजा जनादेश लिन पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभएको छ । उहाँले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन पार्टीले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश समितिले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले निर्वाचन लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार मुलुकको वर्तमान राजनीतिक अवस्था समाधानका लागि जनताको मतमार्फत नयाँ जनादेश लिनु अपरिहार्य रहेको छ ।

“निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्छ,” नेता रावलले भन्नुभयो, “त्यस्तो वातावरण सिर्जना गर्नु सरकारको प्रमुख दायित्व हो । आगामी निर्वाचनमा सहभागी भएर ताजा जनमत लिन हाम्रो पार्टी तयार छ।” उहाँले निर्वाचन प्रक्रियालाई विश्वसनीय र स्वीकार्य बनाउन राज्यका सबै निकायले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता रावलले विगत भदौ २३ र २४ गते मुलुकका विभिन्न स्थानमा घटेका घटनाप्रति चिन्ता व्यक्त गर्दै ती घटनाको यथोचित, वस्तुगत र निष्पक्ष छानबिन गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले निष्पक्ष छानबिन र दोषीमाथि कारबाही भएमा मात्रै निर्वाचनका लागि अनुकूल वातावरण बन्ने धारणा व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा नेता रावलले सुदूरपश्चिम प्रदेशमा पार्टीले सञ्चालन गरेको संगठनात्मक गतिविधिबारे पनि जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले सुदूरपश्चिमका सबै नौवटै जिल्लामा ‘एकता सन्देशसभा’ सफलतापूर्वक सम्पन्न गरिसकेको छ । ती सभामार्फत पार्टीले संगठन सुदृढीकरण, कार्यकर्तामा उत्साह अभिवृद्धि तथा जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्य राखेको उहाँले बताउनुभयो ।

नेता रावलले पार्टीका आगामी कार्यक्रम पालिकास्तर हुँदै वडास्तरसम्म विस्तार गरिने जानकारी दिँदै जनतामाझ पुगेर पार्टीका नीति, सिद्धान्त र कार्यक्रमबारे स्पष्ट पार्ने अभियानलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो । उहाँका अनुसार पार्टी संगठनलाई जरा तहसम्म मजबुत बनाउँदै आगामी निर्वाचनमा जनताको विश्वास जित्ने लक्ष्य लिइएको छ ।

उहाँले नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, सामाजिक न्याय र समावेशी विकासको पक्षमा दृढतापूर्वक उभिएको पार्टी भएको उल्लेख गर्नुभयो । पार्टीले देशको सार्वभौमिकता, संविधानको रक्षा र जनताको अधिकार सुनिश्चित गर्ने एजेन्डालाई प्राथमिकतामा राखेर निर्वाचनमा जाने उहाँको भनाइ थियो ।

नेता रावलले निर्वाचनलाई प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यासका रूपमा लिन सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । आपसी असहिष्णुता, निषेधको राजनीति र हिंसात्मक गतिविधिले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै उहाँले स्वस्थ प्रतिस्पर्धा र राजनीतिक मर्यादाको पालना आवश्यक रहेको धारणा राख्नुभयो ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका पार्टी नेताहरूको समेत उपस्थिति रहेको थियो । उनीहरूले पार्टी संगठन विस्तार, जनसम्पर्क अभियान र निर्वाचन तयारीका विषयमा आ–आफ्नो धारणा राखेका थिए । पार्टी नेतृत्वले सुदूरपश्चिम प्रदेशलाई संगठनात्मक रूपमा थप मजबुत बनाउँदै राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्ने लक्ष्य लिएको बताइएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले आगामी निर्वाचनलाई मुलुकको राजनीतिक स्थायित्व र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्ने अवसरका रूपमा लिएको भन्दै नेता रावलले जनताको विश्वास र समर्थनका आधारमा पार्टीले नयाँ जनादेश प्राप्त गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्