काठमाडौँ, ९ पुस । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न अनुकूल वातावरण निर्माण गर्ने विषयमा प्रमुख राजनीतिक शक्तिहरूबीच समझदारी बनेको छ । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार अपराह्न भएको उच्चस्तरीय छलफलमा निर्वाचनलाई नै वर्तमान राजनीतिक संकटको निकासका रूपमा अघि बढाउने सहमति भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सम्पन्न उक्त छलफलमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार छलफलमा निर्वाचनको तयारी, राजनीतिक वातावरण, सुरक्षा अवस्था तथा दलहरूबीचको सहकार्यका विषयमा गम्भीर संवाद भएको थियो । सो क्रममा आगामी दिनमा निर्वाचन अनुकूल वातावरण निर्माणका लागि बालुवाटारमा पुनः विस्तृत छलफल गर्ने समझदारीसमेत बनेको छ ।
पोखरेलले जानकारी दिनुभयो, “निर्वाचनको मिति तोकिसकेपछि त्यसलाई सफल बनाउन सबै राजनीतिक शक्तिहरूले जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुपर्छ भन्ने साझा बुझाइ छलफलमा देखियो । यसका लागि थप छलफल प्रधानमन्त्री निवास बालुवाटारमा गर्ने सहमति भएको छ ।”
छलफलका क्रममा राष्ट्रपति पौडेलले देशको वर्तमान अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै त्यसको लोकतान्त्रिक निकास निर्वाचनमार्फत मात्रै सम्भव हुने धारणा राख्नुभएको थियो । उहाँले निर्वाचनको घोषणा कुनै साधारण राजनीतिक प्रक्रियामात्र नभई मुलुकलाई स्थिरता र संवैधानिक मार्गमा फर्काउने महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो ।
“देश जटिल परिस्थितिबाट गुज्रिरहेको अवस्थामा निर्वाचनको घोषणा गरिएको हो,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार पोखरेलले भन्नुभयो, “यसको गम्भीरतालाई आत्मसात् गर्दै निर्वाचनलाई सफल बनाउनु हामी सबैको साझा दायित्व हो ।”
राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई संविधान, लोकतन्त्र र जनताको सार्वभौम अधिकारको अभ्यासका रूपमा लिँदै प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । उहाँले राजनीतिक मतभेद र असहमतिलाई संवादमार्फत समाधान गर्दै चुनावी प्रक्रियामा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
छलफलमा सहभागी नेताहरूले पनि मुलुकलाई अनिश्चितता र अस्थिरताबाट बाहिर निकाल्न निर्वाचन अपरिहार्य रहेकोमा सहमति व्यक्त गरेको जनाइएको छ । लोकतान्त्रिक प्रक्रिया अवरुद्ध हुन नदिन र जनताको मताधिकार सुनिश्चित गर्न सबै पक्षले आ–आफ्नो स्थानबाट सकारात्मक योगदान दिनुपर्ने धारणा छलफलमा व्यक्त भएको बताइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सरकार निर्वाचन सम्पन्न गराउन आवश्यक सबै तयारीमा जुटिरहेको जानकारी गराउँदै राजनीतिक दलहरूको सहकार्यबिना निर्वाचन सफल हुन नसक्ने स्पष्ट पार्नुभएको थियो । उहाँले सरकार संवाद, सहमति र सहकार्यको माध्यमबाट अघि बढ्न तयार रहेको सन्देश दिनुभएको स्रोतको भनाइ छ ।
त्यसैगरी, प्रमुख दलका नेताहरूले पनि निर्वाचनलाई नै मुलुकको समस्याको समाधानको बाटोका रूपमा लिँदै आवश्यक छलफल र सहकार्यमा सहभागी हुने प्रतिबद्धता जनाएका छन । आगामी दिनमा बालुवाटारमा हुने विस्तृत छलफलले चुनावी वातावरण, सुरक्षा प्रबन्ध, दलहरूको सहभागिता र जनविश्वास अभिवृद्धिका विषयमा ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।
शीतलनिवासमा भएको यो छलफललाई पछिल्लो समय देखिएको राजनीतिक गतिरोध समाधानतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ । निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुक स्थिरता, लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियामा अघि बढ्ने अपेक्षा व्यक्त गरिएको छ ।
यसअघि प्रधानमन्त्रीको सहभागितामा भएको छलफल करिब साढे दुई घण्टा चलेको थियो । दिउँसो करिब साढे तीन बजेदेखि सुरु भएको उक्त बैठकमा मुलुकको वर्तमान राजनीतिक अवस्था, आगामी निर्वाचन, समग्र स्थायित्व तथा निकासका सम्भावित उपायबारे गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी, राष्ट्रपति पौडेलसँग प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच पुनः छुट्टै छलफल भएको छ । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवन शीतलनिवासबाट बाहिरिएपछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू राष्ट्रपतिसँग छलफलमा बसेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार हाल राष्ट्रपति पौडेल, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवाद भएको हो ।
प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रपतिसँग तीन दलका शीर्ष नेताहरूबीच थप गहिरो छलफल अघि बढाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । छलफलका विषयवस्तुहरू औपचारिक रूपमा सार्वजनिक नगरिए पनि मुलुक पछिल्लो समय भोगिरहेको राजनीतिक संवेदनशीलता, निर्वाचनको तयारी, दलहरूको भूमिकालगायतका विषय केन्द्रमा रहेको अनुमान गरिएको छ ।
पछिल्ला दिनहरूमा सरकार, राष्ट्रपति र प्रमुख राजनीतिक दलहरूबीच निरन्तर संवाद भइरहेको सन्दर्भमा यो बैठकलाई विशेष महत्वका साथ हेरिएको छ ।
राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने विषयमा सहमति खोज्ने प्रयासस्वरूप राष्ट्रपति पौडेलको पहलमा शीर्ष नेताहरूलाई शीतलनिवासमा आमन्त्रण गरिएको बताइएको छ । राष्ट्रपति पौडेलले यसअघि पनि मुलुकको जटिल अवस्थाबाट निकासका लागि संवाद र सहकार्य अपरिहार्य रहेको धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री बाहिरिएपछि भएको छुट्टै छलफलमा दलगत दृष्टिकोण, सम्भावित सहमति र आगामी रणनीतिबारे गम्भीर संवाद भएको स्रोतको भनाइ छ ।
मुलुक संवेदनशील राजनीतिक मोडमा रहेको अवस्थामा राष्ट्रपति, सरकार र प्रमुख राजनीतिक दलहरूबीच निरन्तर संवाद हुनु सकारात्मक संकेतका रूपमा हेरिएको छ । शीतलनिवासमा जारी यो छलफलले राजनीतिक सहमति, निर्वाचनको वातावरण निर्माण र लोकतान्त्रिक प्रक्रिया सुदृढ बनाउने दिशामा ठोस आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्