काठमाडौँ, ६ पुस । कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘पेन्सन पट्टा’को छायांकन औपचारिक रूपमा सुरु गरिएको छ ।
बिहीबार कास्की जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक रूपमा समृद्ध ताङतिङ गाउँमा शुभ मुहूर्त सम्पन्न गर्दै फिल्मको छायांकन थालिएको हो । शुभ मुहूर्त कार्यक्रममा फिल्मका मुख्य कलाकार पशुपति राई र गौमाया गुरुङले पहिलो सट दिएपछि निर्माण कार्यले गति लिएको छ ।
निर्माण पक्षका अनुसार फिल्मको सम्पूर्ण छायांकन ताङतिङ गाउँमै करिब ३५ दिनसम्म सञ्चालन हुनेछ । प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीले भरिपूर्ण ताङतिङ गाउँलाई फिल्मको प्रमुख लोकेसनका रूपमा चयन गरिएको निर्देशक गुरुङले जानकारी दिए । गाउँकै परिवेशमा आधारित कथावस्तु भएकाले वास्तविकता झल्किने स्थान रोजिएको उनको भनाइ छ ।
निर्देशक माओत्से गुरुङ स्वयंको लेखन रहेको ‘पेन्सन पट्टा’मा अनुभवी र नयाँ पुस्ताका कलाकारहरूको सशक्त उपस्थिती रहनेछ । मुख्य भूमिकामा पशुपति राई र गौमाया गुरुङ देखिनेछन् ।
उनीहरूसँगै दयाहाङ राई, सुनिल थापा, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, यासिली राईलगायत चर्चित कलाकारहरूको अभिनय रहनेछ । विभिन्न पुस्ता र शैलीका कलाकारको संयोजनले फिल्मलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ ।
फिल्ममार्फत लोकप्रिय मानिएका कलाकार विश्वास गुरुङ र माया गुरुङले पहिलो पटक नेपाली मूलधारको फिल्ममा अभिनय गर्दैछन् । यसअघि सांगीतिक तथा म्युजिक भिडियो क्षेत्रमा परिचित रहेका यी दुई कलाकारको डेब्युलाई दर्शकले चासोका साथ हेर्ने विश्वास निर्माण पक्षको छ । नयाँ प्रतिभालाई अवसर दिने निर्देशक गुरुङको प्रयासलाई पनि सकारात्मक रूपमा हेरिएको छ ।
‘पेन्सन पट्टा’ माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण हुँदैछ । फिल्मका निर्माता मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (बेलायत) र सपना गुरुङ हुन् ।
स्वदेश र विदेशमा रहेका नेपाली लगानीकर्ताको सहकार्यमा फिल्म निर्माण हुन लागेको जनाइएको छ । ग्रामीण जीवन, सामाजिक यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखेर फिल्म निर्माण गरिने निर्माताहरूको भनाइ छ ।
फिल्मको छायांकनको जिम्मेवारी अनुभवी छायाकार सुशन प्रजापतिले सम्हाल्नेछन् । दृश्यात्मक सौन्दर्य र कथाको भावनालाई क्यामेरामार्फत जीवन्त बनाउने प्रयास गरिने उनले बताए ।
संगीत पक्षमा झुमा लिम्बू, मनोज थापा मगर र शिव बराइलीको योगदान रहनेछ । उनीहरूले तयार पार्ने गीतहरूले फिल्मको कथावस्तुलाई थप प्रभावशाली बनाउने अपेक्षा गरिएको छ ।
कथावस्तुको सन्दर्भमा निर्देशक गुरुङले ‘पेन्सन पट्टा’ सामाजिक सन्देश बोकेको फिल्म हुने जानकारी दिए । फिल्मले लोभी स्वभाव भएको एउटा युवक कसरी परिस्थितिको प्रभाव र जीवनका अनुभवबाट दानी र उदार व्यक्ति बन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्नेछ । हास्य, भावना र सामाजिक यथार्थलाई सन्तुलित रूपमा प्रस्तुत गर्ने लक्ष्य रहेको उनले बताए ।
समग्रमा ‘पेन्सन पट्टा’ले ग्रामीण परिवेश, मानवीय मूल्य र परिवर्तनको कथा दर्शकमाझ ल्याउने अपेक्षा गरिएको छ । छायांकन सुरु भएसँगै फिल्मप्रति दर्शक र फिल्मकर्मीको चासो बढेको छ । निर्माण कार्य समयमै सम्पन्न भई छिट्टै प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्