फिल्म ‘पीआर’ अब ओटीटीमा रिलिज हुने

 

काठमाडौँ, ६ पुस । गत शुक्रबार (मंसिर २६) देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘पीआर’ ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसक्दा अब डिजिटल प्लेटफर्ममार्फत दर्शकमाझ पुग्ने भएको छ ।

दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको भए पनि हलमा पर्याप्त शो नपाउँदा फिल्मको व्यापारिक गति कमजोर बनेपछि निर्माण पक्षले आम्दानीका लागि वैकल्पिक माध्यम रोजेको हो ।

फिल्मको ओटीटी प्रदर्शन अधिकार लोकप्रिय डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’ले लिएको छ । बिहीबार फिल्मका निर्देशक शोभित बस्नेत र एमएसएम भिडियोका प्रतिनिधिबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार यही पुष १० गतेदेखि दर्शकले ‘एमएसएम भिडियो’ मार्फत फिल्म ‘पीआर’ हेर्न पाउनेछन् । यससँगै हलमा रिलिज भएको जम्मा १३ दिनमै फिल्म ओटीटी प्लेटफर्ममा प्रवेश गर्नेछ, जुन नेपाली फिल्म उद्योगका लागि तुलनात्मक रूपमा छोटो समय मानिन्छ ।

निर्देशक शोभित बस्नेतका अनुसार हलमा फिल्म हेर्न नपाएका दर्शकलाई लक्षित गर्दै ओटीटी रिलिजको निर्णय लिइएको हो । उनले हल सञ्चालकले पर्याप्त शो नदिँदा धेरै दर्शकले फिल्म हेर्न नपाएको गुनासो गरिरहेको बताए । “दर्शकको माग हुँदाहुँदै पनि हलमा शो नपाउँदा फिल्म अपेक्षित रूपमा दर्शकमाझ पुग्न सकेन,” उनले भने, “यसैले हल रिलिजको दुई सातामै डिजिटल प्लेटफर्ममार्फत फिल्म रिलिज गर्न लागेका हौँ ।

ओटीटीमार्फत धेरै दर्शकसम्म फिल्म पुग्ने हाम्रो विश्वास छ ।”
हाल नेपाली फिल्म बजारमा ठूला विदेशी फिल्म र सीमित नेपाली फिल्मलाई प्राथमिकता दिँदा मध्यम बजेटका चलचित्रले शो पाउन कठिन भइरहेको गुनासो चलचित्रकर्मीहरूले गर्दै आएका छन् ।

‘पीआर’ पनि यही समस्याबाट प्रभावित भएको निर्माण पक्षको बुझाइ छ । सकारात्मक प्रतिक्रिया हुँदाहुँदै पनि व्यापार नबढ्नुले नेपाली फिल्म उद्योगको संरचनात्मक समस्यातर्फ संकेत गर्ने निर्देशक बस्नेतको भनाइ छ ।

फिल्म ‘पीआर’को कथावस्तु नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरूले त्यहाँ स्थायी आवासीय अनुमति अर्थात् पीआर प्राप्त गर्नका लागि गर्ने संघर्षमा आधारित छ ।

वैदेशिक रोजगारी र अध्ययनका नाममा विदेश जाने नेपाली युवाको सपना, त्याग, पीडा र मनोवैज्ञानिक द्वन्द्वलाई फिल्मले यथार्थपरक रूपमा चित्रण गरेको दाबी गरिएको छ । पछिल्लो समय वैदेशिक पलायन बढ्दो क्रममा रहेकाले फिल्मको विषयवस्तु समसामयिक र दर्शकसँग नजिक रहेको निर्माण पक्ष बताउँछ ।

फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायललगायत कलाकारको अभिनय रहेको छ ।

कलाकारहरूको स्वाभाविक अभिनय र आप्रवासी जीवनको यथार्थ चित्रणलाई दर्शकले सकारात्मक रूपमा लिएको प्रतिक्रिया प्राप्त भइरहेको छ । ओटीटी प्लेटफर्ममा रिलिजसँगै फिल्म ‘पीआर’ले देशभित्र मात्र नभई विदेशमा रहेका नेपाली दर्शकसमेतलाई लक्षित गर्ने अपेक्षा गरिएको छ ।

डिजिटल माध्यममार्फत फिल्म विश्वभर एकैसाथ हेर्न सकिने भएकाले यसले फिल्मको पहुँच र आय दुवै बढाउने विश्वास निर्माण पक्षको छ ।
नेपाली फिल्म उद्योगमा ओटीटीको भूमिका क्रमशः बढ्दै गइरहेको सन्दर्भमा ‘पीआर’को डिजिटल रिलिजलाई वैकल्पिक वितरण मोडेलको रूपमा हेरिएको छ ।

हल र ओटीटीबीच सन्तुलन कायम गर्दै दर्शकसम्म फिल्म पु¥याउने रणनीतिमा ‘पीआर’को यो निर्णयले नयाँ बहस र सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्