काठमाडौँ, ६ पुस । इस्ट बंगाल क्लबले दक्षिण एसियाली फुटबल महासंघ (साफ) द्वारा पहिलो पटक आयोजना गरिएको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा भारतको इस्ट बंगालले नेपाल प्रहरीको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
फाइनल खेलमा इस्ट बंगालको जितमा टोलीकी कप्तान फजिला इक्वापुटले महत्वपूर्ण भूमिका निर्वाह गरिन् । उनले दुई गोल गर्दै टोलीलाई उपाधितर्फ डो¥याइन् । इस्ट बंगालको तेस्रो गोल शिल्कीदेवी हनामले गरिन् । फाइनलमा इस्ट बंगालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै खेलको नियन्त्रण लिएको थियो ।
खेलको २२औँ मिनेटमा इस्ट बंगालले अग्रता लिएको थियो । एपिएफका गोलकिपर अन्जना राना मगर र डिफेन्डर गीता रानाबीच समन्वय नमिल्दा इस्ट बंगालले गोल गर्ने अवसर सिर्जना ग¥यो । सो अवसरलाई सदुपयोग गर्दै कप्तान फजिला इक्वापुटले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार डिफेन्डर गीतालाई लाग्दै गोलमा परिणत भयो ।
इस्ट बंगालले ३५औँ मिनेटमा अग्रता दोब्बर बनायो । सरिता युमनामले लिएको कर्नर किकमा आशा लताले दिएको क्रसलाई शिल्कीदेवी हनामले हेडमार्फत जाली चुमाइन् । पहिलो हाफमा इस्ट बंगालले खेलमा स्पष्ट दबाब कायम राख्दा एपिएफले अपेक्षाअनुसार आक्रमण गर्न सकेन ।
एपिएफ क्लबले खेलमा फर्किन दोस्रो हाफमा प्रयास गरे पनि इस्ट बंगालको संगठित डिफेन्स र तीव्र आक्रमणका कारण सफलता पाउन सकेन । इन्जुरी समयमा अनिता बस्नेतले मिलाएको बलमा मिना देउवाको हेडर पोष्ट नजिकबाट बाहिरिएपछि एपिएफको गोल गर्ने अवसर खेर गयो ।
दोस्रो हाफको सुरुवातमै इस्ट बंगालकी कप्तान फजिलाले व्यक्तिगत दोस्रो गोल गरिन् । एपिएफकी गोलकिपर अन्जना राना मगरले प्रहार रोक्ने प्रयास गरे पनि बललाई पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्दा गोलमा परिणत भयो। यससँगै इस्ट बंगालको जित लगभग सुनिश्चित भयो ।
खेलको अन्त्यतिर एपिएफले गोल फर्काउने प्रयास गरे पनि गोल गर्न असफल रह्यो । पटक–पटकको प्रयास इस्ट बंगालको रक्षापंक्तिले सफलतापूर्वक रोकेको थियो । उल्लेखनीय कुरा के छ भने समूह चरणमा इस्ट बंगालले एक खेल नखेली सिधै फाइनलमा स्थान बनाएको थियो भने एपिएफले फाइनलअघि कुनै पनि गोल नखाएको टोलीका रूपमा प्रतिस्पर्धा गरेको थियो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितामा पाँच सदस्य राष्ट्रका लिग च्याम्पियन टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा नेपालबाट एपिएफ क्लब, भारतबाट इस्ट बंगाल, पाकिस्तानबाट कराँची सिटी एफसी, बंगलादेशबाट नासिर स्पोट्र्स एकेडेमी तथा भुटानबाट ट्रान्सपोर्ट युनाइटेड सहभागी थिए ।
सिंगल राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली इस्ट बंगाल र एपिएफ क्लब फाइनलमा प्रवेश गरेका थिए । पहिलो संस्करणमै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दै सम्पन्न भएको यस प्रतियोगिताले दक्षिण एसियाली महिला क्लब फुटबलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्