केही तत्वहरूले निर्वाचन प्रभावित पार्ने प्रयास गरिरहेको आरोप, संसद् पुनःस्थापना राजनीतिक रूपमा सहज नभएको जिकिर

काठमाडौँ, ६ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक अवस्थाबाट निकास दिने सबैभन्दा सहज र व्यवहारिक उपाय निर्वाचन नै भएको बताउनुभएको छ। उहाँले जनता र राजनीतिक दलहरू निर्वाचन प्रक्रियामा सहभागी हुन चाहिरहेको उल्लेख गर्दै केही सीमित तत्वहरूले त्यस चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो।
नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई आज काठमाडौँमा सम्बोधन गर्दै संयोजक दाहालले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार निर्वाचन प्रक्रिया अघि बढ्न नदिए मुलुक थप अन्योल र संकटतर्फ धकेलिने खतरा छ।
“घोषणा भइसकेको निर्वाचन नै अहिलेको सबैभन्दा सहज र उपयुक्त विकल्प हो,” उहाँले भन्नुभयो, “जनता निर्वाचनका लागि मानसिक र व्यवहारिक रूपमा तयार हुँदै गएका छन्। यस्तो अवस्थामा निर्वाचन बिथोल्ने वा जनताको चाहनालाई भ्रममा पार्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन।”
संयोजक दाहालले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको अनिवार्य अंग भएको उल्लेख गर्दै जनताको सार्वभौम अधिकार प्रयोग गर्ने अवसर कसैले खोस्न नहुनेमा जोड दिनुभयो। उहाँले निर्वाचनमार्फत नै मुलुकलाई स्थायित्व, सुशासन र विकासको नयाँ दिशातर्फ लैजान सकिने विश्वास व्यक्त गर्नुभयो।
सरकारको मुख्य जिम्मेवारी निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन गराउनु भएको बताउँदै उहाँले निर्वाचन सम्पन्न गर्न सरकार दृढतापूर्वक अघि बढ्नुपर्ने धारणा राख्नुभयो। संसद् पुनःस्थापनासम्बन्धी चर्चाले जनमानसमा अन्योल सिर्जना गरिरहेको उल्लेख गर्दै संयोजक दाहालले त्यसप्रकारका हल्ला चिरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
“साँच्चै फागुन २१ गते निर्वाचन होला त ? संसद् पुनःस्थापना होला कि निर्वाचन नै हुन्छ ? भन्ने प्रश्न अहिले धेरैको मनमा उठिरहेको छ,” उहाँले भन्नुभयो, “तर निर्वाचन नै सहज र व्यावहारिक बाटो हो। निर्वाचनमार्फत नै मुलुकलाई नयाँ दिशा दिन सकिन्छ।”
उहाँले संसद् पुनःस्थापनाको बाटो कानुनी र राजनीतिक रूपमा सहज नभएको जिकिर गर्दै त्यसले थप अन्योल र द्वन्द्व सिर्जना गर्न सक्ने चेतावनी दिनुभयो। लोकतन्त्रको सुदृढीकरण निर्वाचनमार्फत नै सम्भव हुने उहाँको भनाइ थियो।
संयोजक दाहालले वर्तमान पुस्ता, विशेषगरी ‘जेन–जी’ पुस्ताको भूमिका र जिम्मेवारीबारे पनि चर्चा गर्नुभयो। भ्रष्टाचारविरुद्ध दृढतापूर्वक लड्ने, सुशासनको पक्षमा उभिने र उत्पीडित जाति, वर्ग, क्षेत्र तथा समुदायको पहिचान र अधिकारका लागि योगदान गर्ने शक्तिलाई नै जेन–जी पुस्ताको अभिभावक र प्रतिनिधि मान्नुपर्ने उहाँले बताउनुभयो।
“नयाँ पुस्ताले केवल आलोचना मात्र होइन, परिवर्तनको नेतृत्व गर्नुपर्छ,” उहाँले भन्नुभयो, “समाजमा विद्यमान विभेद, अन्याय र भ्रष्टाचारको अन्त्यका लागि सचेत र संगठित भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो।”
देशको वाम आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै संयोजक दाहालले वाम शक्तिहरूबीच बृहत् एकताको नयाँ पहल सुरु गरिएको जानकारी दिनुभयो। उहाँले विगतका कमजोरीहरूबाट पाठ सिक्दै साझा लक्ष्यका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
“देशको वाम इतिहासमा हामीले नयाँ किसिमको बृहत् एकताको पहल गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “देशभर रहेका सबै वामपन्थी शक्ति र प्रगतिशील धाराहरूलाई यस एकता प्रक्रियामा सहभागी हुन आह्वान गर्दछु।”
उहाँले वाम एकताले मात्र राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो। जनताको अपेक्षा अनुसार काम गर्न सके मात्र राजनीतिक शक्तिहरूले आफ्नो विश्वसनीयता कायम राख्न सक्ने उहाँको भनाइ थियो।
यसैगरी, सन्देशसभामा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन आग्रह गर्नुभएको छ । उहाँले विगतका कमजोरीलाई सुधार्दै मुलुकबाट भ्रष्टाचार  अन्त्य गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताउनुभयो ।
सहसंयोजक नेपालले भन्नुभयो, “हामीले विगतमा खेलेको भूमिकाको मूल्याङ्कन गर्नुहोस्, नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रो भनेर स्वागत गर्नुहोस्, त्यसलाई स्वीकार्न हामी तयार छौँ ।”
उहाँले आसन्न निर्वाचनमार्फत जनताले नेकपालाई बहुमत दिएको खण्डमा आफ्नो पार्टीले जनअपेक्षा पूरा गर्ने विश्वास दिलाउनुभयो । “जनचाहनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अघि बढ्नेछौँ ।
हामीलाई एक पटक मौका दिनुस्, आजसम्म इमान्दारिताको राजनीतिलाई, देशभक्तिको भावनालाई, जनताका सेवाको भावनालाई ध्यानमा राखेर नै भूमिका खेल्दै आइरहेको छौँ ।
आगामी दिनमा थप सचेत भएर भूमिका निर्वाह गर्नेछौँ ।”
जेनजी पुस्ताको भावना सुशासन कायम र भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रवृत्तिको विपक्षमा रहेजस्तै नेकपाका नेताहरूले पनि विगत लामो समयदेखि यस्तै प्रवृत्तिविरुद्ध जुध्दै आएका उहाँले जिकिर गर्नुभयो ।
“त्यसका लागि हामीले तत्कालीन सरकारका प्रमुखलाई मागपत्र बुझाएका छौँ । सुशासनको पक्षमा आवाज बुलन्द गरेका छौँ”, सहसंयोजक नेपालले भन्नुभयो, “त्यसकारण आज जेनजी पुस्ताका साथीहरू नेकपामा समाहित भइरहनुभएको छ, नेकपामाथि गरेको त्यो विश्वासलाई कुठाराघात हुन दिँदैनौँ ।”
नेकपाका नेता राजेन्द्र श्रेष्ठले निर्धारित मितिमै निर्वाचन हुनुको विकल्प नभएको जिकिर गर्दै संविधान संशोधनमार्फत जनताको अपेक्षा पूरा गर्नका लागि आफ्नो पार्टीलाई मत दिन आग्रह गर्नुभयो ।
नेत्री जयपुरी घर्तीले जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई कुल्चेर मुलुकलाई प्रतिगमनतर्फ फर्काउने प्रयास नेकपाले सफल हुन नदिने बताउनुभयो । जेनजी प्रतिनिधि एवं विद्यार्थी नेता भूमिराज अधिकारीले जेनजी पुस्ताको आवाज नेकपाले नै सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी नेताहरूले पनि निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको मूल आधार भएको उल्लेख गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनीहरूले राजनीतिक अस्थिरता अन्त्य गरी विकास र सुशासनतर्फ अघि बढ्न निर्वाचन अपरिहार्य भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्