‘वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्रै सम्भव’, प्रचण्डद्वारा कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन

धनुषा, ४ पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डले देशले भोगिरहेको वर्तमान राजनीतिक सङ्कटको समाधान प्रतिनिधिसभाको निर्वाचनबाट मात्रै सम्भव हुने स्पष्ट पार्नुभएको छ । उहाँले राजनीतिक स्थिरता, लोकतान्त्रिक अभ्यासको निरन्तरता र जनताको विश्वास पुनःस्थापित गर्न समयमै चुनावमा जानु अपरिहार्य भइसकेको धारणा व्यक्त गर्नुभयो ।

महोत्तरीको गौशाला नगर कमिटीद्वारा बिहीबार आयोजित स्वर्गीय नेता काशी महतोको श्रद्धाञ्जलीसभामा बोल्दै संयोजक प्रचण्डले पार्टीका सम्पूर्ण कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।

उहाँले मुलुकलाई निकास र स्थायित्व दिन निर्वाचन नै एकमात्र व्यवहारिक र लोकतान्त्रिक विकल्प भएको उल्लेख गर्दै चुनाव हुने विषयमा कुनै शंका गर्न आवश्यक नरहेको बताउनुभयो । “देशलाई स्थिरता र निकास दिन अब चुनावको तयारी अपरिहार्य भइसकेको छ,” उहाँले भन्नुभयो, “निर्वाचन हुने कुरामा कोही कसैले सन्देह लिनुपर्दैन ।”

संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिवेशमा देखिएका अन्योल र अस्थिरताले आम नागरिकमा निराशा बढाएको उल्लेख गर्दै त्यसको समाधान जनताको म्यान्डेटमार्फत् मात्रै सम्भव हुने धारणा राख्नुभयो ।

उहाँले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मर्मअनुसार अघि बढ्दै निर्वाचनमार्फत् जनताको मत अभिव्यक्त गरिनु नै देशका लागि हितकर हुने बताउनुभयो । साथै, पार्टी संगठनलाई सुदृढ बनाउँदै जनतामाझ जाने र उनीहरूको विश्वास जित्ने कार्यमा सक्रिय हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

श्रद्धाञ्जलीसभामा संयोजक प्रचण्डले स्वर्गीय नेता काशी महतोप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँको राजनीतिक योगदानको स्मरण गर्नुभयो । उहाँले नेता महतो जनताको पक्षमा निष्ठापूर्वक लाग्ने, सरल र समर्पित व्यक्तित्व भएको उल्लेख गर्दै पार्टी र समाजका लागि उहाँले पु¥याएको योगदान सधैं स्मरणीय रहने बताउनुभयो ।

उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पनि स्वर्गीय नेता काशी महतोप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले नेता महतो सबैका लागि प्रेरणाका स्रोत भएको उल्लेख गर्दै जनकपुरमा आयोजित एकता सन्देशसभामा उहाँले खेलेको भूमिकालाई अविस्मरणीय बताउनुभयो । सहसंयोजक नेपालले राजनीतिक संघर्ष र संगठन निर्माणमा नेता महतोको योगदानले आगामी पुस्तालाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित नेताहरूले नेता महतोको सरल जीवनशैली, जनतासँगको आत्मीय सम्बन्ध र पार्टीप्रतिको निष्ठाको चर्चा गरेका थिए । वक्ताहरूले उहाँको निधनले पार्टी र समाजले अपूरणीय क्षति बेहोरेको उल्लेख गर्दै उहाँले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उल्लेखनीय छ, स्वर्गीय नेता काशी महतोको गत मङ्सिर २२ गते हृदयघातका कारण निधन भएको थियो । उहाँको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभामा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले नेता महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानलाई सधैं सम्मानका साथ सम्झिरहने प्रण व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्