फिल्म ‘मुगलान’को आधिकारिक ट्रेलर सार्वजनिक

काठमाडौँ, २८ मंसिर । आगामी पुष १० गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली फिल्म ‘मुगलान’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट २४ सेकेण्डको ट्रेलरले फिल्मले उठान गरेको गम्भीर विषयवस्तु, पात्रहरूको संघर्ष र समयकालीन सामाजिक यथार्थको प्रभावशाली झलक प्रस्तुत गरेको छ ।

निर्देशक आशिष ढकाल को लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म २०५२ सालको राजनीतिक द्वन्द्व, विद्रोही गतिविधि बढिरहेको कालखण्ड र त्यसले सर्वसाधारणको जीवनमा पारेको प्रभावलाई कथाको मूल आधार बनाइएको छ ।

ट्रेलरका दृश्यहरूमा त्यतिबेलाको राजनीतिक अस्थिरता, गाउँ–समुदायमा फैलिएको आतंक, आर्थिक अभाव, बेरोजगारी र अवस्थाले थिचिएका युवाहरूको पीडा उजागर हुन्छ । गरिबी र अवसरको अभावले बाध्य भएर आफ्नै जन्मभूमि छोड्नुपर्ने युवाको मनोदशा, परिवारको माया, देशप्रतिको भावनात्मक सम्बन्ध र परदेशको कठोर वास्तविकताले ट्रेलरलाई मर्मस्पर्शी बनाएको छ । मुख्य पात्रले रोजेको ‘परदेशको बाटो’ केवल आर्थिक खोज मात्र नभई देशमा रहेको अन्योल र निराशाबाट पलायनको प्रतीकका रूपमा पनि देखाइएको छ ।

फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खड्ग बहादुर पुन (खबपु), श्री शिवांशु, मोती सुबेदी, रश्मी भट्ट, जीवन गौतम, राजु राज सोनीलगायत कलाकारहरूले अभिनय गरेका छन् ।

यी पात्रहरूलाई राजनीतिक परिवेशले कसरी प्रभावित बनाउँछ र उनीहरूबीचको सम्बन्धलाई कसरी हल्लाउँछ भन्ने पक्ष पनि ट्रेलरमा संकेत गरिएको छ । विशेष उल्लेखनीय कुरा, लोकप्रिय टिकटकर स्मारिका ढकाल ले यसै फिल्ममार्फत आफ्नो फिल्मी डेब्यु गरेकी छन्, जसले दर्शकहरूमा थप उत्सुकता जगाएको छ ।

रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता गोमन सिंह हुन् । साथै रिता चौधरी सहनिर्माताका रूपमा संलग्न छिन् । फिल्मको प्राविधिक पक्षमा पनि अनुभवी टोलिको योगदान छ ।

अजय रेग्मी ले सम्हालेको डिरेक्टर अफ फोटोग्राफीले २०५२ सालको ग्रामीण परिवेश, सामाजिक तनाव र कथानकअनुसारको वातावरणलाई क्यामेरामा अत्यन्त प्रभावकारी रूपमा उतारेको देखिन्छ । तारा थापा ‘किम्भे’ को सम्पादनले कथालाई गतिशीलता र भावनात्मक ग्राफ दिएर आकर्षक बनाएको छ ।

द्वन्द्व दृश्यलाई जीवन्त बनाउन जय बिष्ट र राम गुरू को द्वन्द्व निर्देशन महत्वपूर्ण देखिन्छ । यसैगरी, कथाको भावनात्मक गहिराइ बढाउन रिदम कँडेल को ब्याकग्राउन्ड म्यूजिकले ट्रेलरमै दर्शकलाई स्पर्श गर्छ । गीत–संगीतको पक्षमा किरण भुषाल ले सांगीतिक योगदान गरेका छन् भने देवेन्द्र कुँवर को कोरियोग्राफीले फिल्मका दृश्यहरूलाई कलात्मक बनाएको छ ।

ट्रेलर सार्वजनिक भएपछि फिल्मप्रति दर्शकको उत्साह झन् बढेको छ । विशेषगरी, नेपालमा भएको राजनीतिक द्वन्द्वका कारण जीवन बदलिन बाध्य युवाहरूका कथाहरू वास्तविकताका टुक्रा भएकाले फिल्मले व्यापक दर्शक वर्गसँग भावनात्मक सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ ।

सामाजिक यथार्थ, ऐतिहासिक घटना र व्यक्तिगत संवेदनालाई एकैसाथ चित्रण गर्ने प्रयास भएकाले ‘मुगलान’ लाई यही वर्षको महत्वपूर्ण सामाजिक ड्रामा फिल्मको रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्