विभिन्न चुनौती, अवरोध र प्रहारका बाबजुद एमालेको दृढ प्रतिबद्धता

 

काठमाडौँ, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मुलुकलाई गलत दिशातर्फ जान नदिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले लोकतन्त्र, राष्ट्रियता, सुशासन र समृद्धिका पक्षमा नेकपा एमाले सदैव अडिग रहने स्पष्ट पार्नुभएको छ ।

भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशले सामना गरिरहेका विभिन्न चुनौती, अवरोध र प्रहारका बाबजुद एमालेप्रति जनसमर्थन बढ्दै गएको दाबी गर्नुभयो । उहाँका अनुसार मुलुकको राजनीतिक स्थायित्व, विकास र सुशासन चाहने सम्पूर्ण शक्ति एमालेको वरिपरि एकताबद्ध हुँदै गएको छ ।

अध्यक्ष ओलीले नेकपा एमाले कुनै प्रकारको राजनीतिक ‘स्टन्ट’ वा क्षणिक लोकप्रियतामा आधारित गतिविधिमा संलग्न नभई दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्नुभयो । उहाँले एमालेले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यसहित ठोस नीति, योजना र कार्यक्रममार्फत मुलुकको विकासको नेतृत्व गर्ने सङ्कल्प लिएको बताउनुभयो ।

“लोकतन्त्र अजेय छ र नेकपा एमाले अजम्मरी पार्टी हो,” अध्यक्ष ओलीले भन्नुभयो, “लोकतन्त्र र जनताको हितमा समर्पित एमालेजस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न आवश्यक छ । हामी सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने साझा गन्तव्यतर्फ निरन्तर अघि बढिरहेका छौँ ।”

उहाँले कम्युनिष्ट आन्दोलन र राष्ट्रियताको सम्बन्धलाई स्पष्ट पार्दै कम्युनिष्ट पार्टी जति बलियो हुन्छ, राष्ट्रियता पनि त्यति नै मजबुत हुने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष ओलीका अनुसार एमाले सामाजिक न्याय, समानता र समावेशिताको सुरुआत गर्ने अग्रणी राजनीतिक शक्ति हो । “नागरिकको जीवन र भविष्यको आधार नै यही शक्ति हो,” उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा एमाले समावेशिताको अगुवा पार्टी भएको उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा सबै क्षेत्र, वर्ग, समुदाय र भूगोलको प्रतिनिधित्व स्थापित गर्न एमालेले ऐतिहासिक भूमिका खेलेको बताउनुभयो । उहाँले एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा सक्रिय रूपमा लागेको उल्लेख गर्दै जनसहभागितामूलक, गाउँमुखी विकास र ठूला राष्ट्रिय विकास परियोजनाको अभियन्ता पार्टीका रूपमा एमाले परिचित रहेको धारणा राख्नुभयो ।

महाधिवेशनमा देखिएको विशाल जनउपस्थितिलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै अध्यक्ष ओलीले यसले एमालेप्रतिको जनविश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको बताउनुभयो । उहाँले विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफूहरू विश्वस्त रहेको समेत उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएको घुसपैठका कारण राज्य र राज्यका संरचनालाई कमजोर पार्ने प्रयास भएको आरोप लगाउनुभयो । तथापि, शान्तिपूर्ण, न्यायपूर्ण र संवैधानिक बलको आधारमा लोकतन्त्रलाई पुनः सुदृढ गरिने उहाँको भनाइ थियो ।

उहाँले वर्तमान सरकारमाथि आलोचना गर्दै सरकारले निष्पक्ष निर्वाचनको वातावरण तयार पार्नुभन्दा पूर्वाग्रहपूर्ण र संविधानविपरीतका गतिविधिमा केन्द्रित भएको आरोप लगाउनुभयो । यसले लोकतान्त्रिक अभ्यास र राजनीतिक स्थायित्वलाई कमजोर बनाउने खतरा रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले नेकपा एमाले लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र राष्ट्रिय हितको संरक्षणका लागि सदैव अग्रपङ्क्तिमा उभिने पार्टी भएको दोहो¥याउँदै आगामी दिनमा जनताको विश्वास जितेर निर्णायक भूमिकामा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा देशभरबाट आएका नेता–कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । महाधिवेशनले पार्टीको भावी कार्यदिशा, नेतृत्व चयन र नीतिगत स्पष्टता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्