सुर्खेत, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले विगतका कमजोरी र अनुभवबाट शिक्षा लिँदै आफूहरू सुदृढ, एकीकृत र जनमुखी पार्टी निर्माणतर्फ दृढतापूर्वक अघि बढेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिबार आयोजित एकता सभालाई सम्बोधन गर्दै उहाँले पार्टी एकताको अभियानमा नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता देखिएको उल्लेख गर्नुभयो ।
संयोजक दाहालले कर्णाली प्रदेशका नेता–कार्यकर्ता तथा आम नागरिकले देखाएको आत्मीयता र समर्थनले आफू अत्यन्त उत्साहित भएको बताउँदै अब सबैको साझा प्रयासबाट देशकै पहिलो र सबैभन्दा बलियो राजनीतिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार पार्टी एकता केवल संगठनात्मक अभ्यास मात्र नभई राष्ट्र निर्माणको ऐतिहासिक अभियान हो ।
उहाँले विगतमा भएका राजनीतिक कमजोरीलाई आत्मसमीक्षा गर्दै सच्याउने प्रतिबद्धता व्यक्त गर्दै १४ भन्दा बढी राजनीतिक दल तथा समूह एकै ठाउँमा उभिएर साझा लक्ष्यका साथ अघि बढ्ने सङ्कल्प गरेको जानकारी दिनुभयो । देशका विभिन्न स्थानमा आयोजना गरिएका एकता सभामा देखिएको जनसहभागिताले पार्टी एकताको अभियानलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
संयोजक दाहालले पार्टी एकताको प्रयास लामो इतिहाससँग जोडिएको विषय भएको स्मरण गराउँदै विसं २०४१÷४२ सालदेखि नै आफू र सहसंयोजक माधवकुमार नेपालबीच पार्टी एकताका विषयमा निरन्तर संवाद हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले सशस्त्र द्वन्द्वको कठिन कालखण्डमा पनि देशको भविष्य, लोकतन्त्र र विकासका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो ।
“हामी सुरुदेखि नै पार्टी एकताको पक्षमा थियौँ,” उहाँले भन्नुभयो, “सशस्त्र संघर्ष सुरु भएको करिब दुई वर्षपछि नै माधव नेपाल र मबीच देशलाई कसरी अगाडि बढाउने, राष्ट्रिय एकता कसरी मजबुत बनाउने भन्ने विषयमा गम्भीर छलफल भइरहेका थिए । एमाले र माओवादीबीच सहमति कायम भएपछि नै १२ बुँदे समझदारी सम्भव भएको हो । विगत चार दशकदेखि पार्टी एकताका प्रयासहरू निरन्तर रूपमा हुँदै आएका छन् ।”
संयोजक प्रचण्डले कर्णाली प्रदेशलाई नेपाली सभ्यताको उद्गमस्थलको रूपमा वर्णन गर्दै यहाँ अपार प्राकृतिक सम्भावना रहेको उल्लेख गर्नुभयो । जडीबुटी, जलस्रोत, पर्यटन र सांस्कृतिक सम्पदाको दृष्टिले कर्णाली सम्पन्न प्रदेश भएको बताउँदै उहाँले यस क्षेत्रको समग्र विकासलाई पार्टीको प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले कर्णालीलगायत देशका विभिन्न क्षेत्रबाट ठूलो सङ्ख्यामा युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै रोजगारी र उद्यमशीलताको वातावरण निर्माण गर्न पार्टी सक्रिय रूपमा लाग्ने बताउनुभयो । “अब विदेशिएका युवाहरू स्वदेश फर्किएर सम्मानजनक जीवन बिताउन सक्ने वातावरण बनाउनु हाम्रो प्रमुख दायित्व हो,” उहाँले भन्नुभयो ।
कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले विभिन्न राजनीतिक धारका पार्टीलाई एकीकृत गर्दै अघि बढ्नु नेपाली राजनीतिक इतिहासकै महत्वपूर्ण उपलब्धि भएको धारणा व्यक्त गर्नुभयो । उहाँले पार्टी एकताले नेता–कार्यकर्ता र आम नागरिकमा नयाँ उत्साह, आशा र विश्वास पैदा भएको उल्लेख गर्नुभयो ।
सहसंयोजक नेपालले नेपाल कम्युनिष्ट पार्टीलाई जनता र राष्ट्रको हितमा काम गर्ने जिम्मेवार राजनीतिक शक्तिका रूपमा स्थापित गरिने स्पष्ट पार्नुभयो । उहाँका अनुसार देशका प्रत्येक निर्णायक मोडमा कम्युनिष्ट आन्दोलनले सही भूमिका निर्वाह गर्दै आएको इतिहास छ ।
“देश र जनताको हितका लागि लोकतन्त्र, गणतन्त्र र सामाजिक न्याय अपरिहार्य छन्,” उहाँले भन्नुभयो, “जनतालाई देशको वास्तविक मालिक बनाउने लक्ष्यसहित हामी अघि बढिरहेका छौँ । यसर्थ देशको स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्ने देशभक्त पार्टीका रूपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने हाम्रो साझा संकल्प हो ।”
कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता–कार्यकर्ता तथा नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो । एकता सभामा सहभागीहरूले पार्टी एकताको अभियानलाई सफल बनाउँदै समावेशी, लोकतान्त्रिक र समृद्ध नेपाल निर्माणका लागि साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्