धादिङ, २५ मंसिर । पृथ्वीराजमार्गअन्तर्गतको महत्वपूर्ण नागढुङ्गा–मलेखु सडकखण्ड आगामी एक सातासम्म आंशिक रूपमा बन्द हुँदैछ । सडक स्तरोन्नति तथा विस्तारसम्बन्धी कामलाई तीव्रता दिन नागढुङ्गा–मुग्लिन सडक आयोजनाले बुधबारदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवागमन रोक्ने निर्णय गरेको थियो । तर एमाले महाधिवेशन लक्षित गर्दै सरकारले नागढुंगा–मलेखु सडकखण्ड विस्तार २ दिन रोक्ने भएको छ ।
२६ र २७ मंसिरमा राजमार्ग पूर्ण सञ्चालन गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले जानकारी दिएको छ । यसअघि राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षीतिज थेबेसहित टोलीले मन्त्री घिसिङलाई भेट्दै राजमार्ग सञ्चालन निरन्तर राख्न आग्रह गरेको थियो ।
सोही बमोजिम २६ र २७ मंसिरमा काठमाडौं प्रवेश गर्ने यो राजमार्ग पूर्णरूपमा सञ्चालन गर्ने निर्णय भएको हो । सडक विभागले यो सडक खण्ड बुधबारबाट एक साताका लागि आंशिक बन्द गरी विस्तार थालेको थियो । यस क्रममा सडक कालोपत्रे, ढलान, ढुङ्गामाटो सरसफाइ तथा चौडाइ विस्तारजस्ता कामलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ ।
आयोजनाले जारी गरेको सूचनाअनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म तथा पोखरेभिर क्षेत्रसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सवारी सञ्चालन पूर्ण रूपमा रोकिनेछ । सो अवधिमा यात्रु तथा चालकहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
आवश्यक परे यात्राको समय उक्त अवधिभन्दा अघि वा पछि मिलाउन पनि आयोजनाले सुझाव दिएको छ । ‘‘कामका क्रममा ठूला निर्माण उपकरणहरू प्रयोग गर्नुपर्ने भएकाले दुर्घटना जोखिम बढ्न सक्छ, त्यसैले सुरक्षालाई प्राथमिकतामा राखेर आंशिक बन्दको व्यवस्था गरिएको हो,’’ आयोजनाका इन्जिनियर केशव ओझाले जानकारी दिनुभयो ।
पोखरेभिर क्षेत्र विशेष रूपमा साँघुरो र जोखिमपूर्ण मानिने भएकाले यस ठाउँमा सडक चौडाइ विस्तार अत्यावश्यक रहेको आयोजनाको निष्कर्ष छ । गजुरी–गल्छी खण्ड समेत समान रूपमा जोखिमयुक्त भएकाले त्यस क्षेत्रका काम पनि क्रमशः अघि बढाइने बताइएको छ । सडक विस्तारपछिको सुरक्षासम्बन्धी फाइदाले आस्थामा परेको यो अस्थायी असहजतालाई यात्रुहरूले सहयोगपूर्वक स्वीकार गर्ने अपेक्षा गरिएको छ ।
सडक आयोजनाले काठमाडौँतर्फ तथा काठमाडौँबाट बाहिरिने सवारीका लागि अस्थायी रोकिने स्थानसमेत निर्धारण गरेको छ । काठमाडौँ प्रवेश गर्ने सवारीसाधनलाई नागढुङ्गा चेकपोस्टमा रोकिने व्यवस्था छ भने काठमाडौँबाट बाहिरिने सवारीलाई पिप्लामोडतर्फ नबढाउन अनुरोध गरिएको छ ।
धादिङतर्फबाट उपत्यकातर्फ आउने गाडीलाई खानीखोला तथा जुँगेखोला क्षेत्रमा रोक्ने व्यवस्था गरिएको छ । त्यस्तै, गल्छी–गजुरी खण्डका सवारीलाई गल्छी बैरेनी तथा मासटार क्षेत्रमा नियन्त्रित गरिनेछ । नौबिसेतर्फबाट आउने सवारीलाई गल्छीमा रोकिँदैछ भने मुग्लिन–मलेखु क्षेत्रबाट आउने गाडीलाई मलेखु बजारमै थामिनेछ ।
अत्यावश्यक अवस्थाका लागि वैकल्पिक मार्गहरू उपलब्ध गराइएका छन् । साना तथा मझौला गाडीले सीतापाइला–भिमढुङ्गा–रामकोट–धार्के मार्ग प्रयोग गर्न सक्नेछन् । यसबाहेक, सामाखुसी–टोखा–छहरे हुँदै गल्छी झर्ने वा जरेखेततर्फबाट त्रिशूली पुल तरेर घाटबेँसीतर्फ उत्रने बाटो पनि वैकल्पिक रुपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
एम्बुलेन्स, सुरक्षासेवा, दमकल, शववाहनजस्ता अत्यावश्यक सेवाका गाडी भने सैद्धान्तिक रूपमा अवरोधमुक्त राखिएका छन् । तर, सडक विस्तारका क्रममा पहाड काट्दा सडकभरि ढुङ्गामाटो थुप्रिएको हुनाले ती गाडीहरूले समेत सहज रूपमा मार्ग पार गर्न नसक्ने अवस्थाको जानकारी आयोजनाले दिएको छ । आवश्यकताअनुसार तत्काल मार्ग सफाइ गरी सम्भव हदसम्म अत्यावश्यक गाडीका लागि सुविधा मिलाइने जनाइएको छ ।
त्रिभुवन राजपथअन्तर्गतको नागढुङ्गा–नौबिसे सडकखण्ड कालोपत्रे र स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ । उपत्यकाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डलाई उच्च प्राथमिकतामा राखेर गुणस्तरीय निर्माणमा जोड दिइएको आयोजनाले जनाएको छ । यस बाटोको स्तरोन्नतिले भूकम्पपछिको पुनर्निर्माण, बढ्दो सवारी चाप र यात्रु सुरक्षाका दृष्टिले अत्यन्त महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
अस्थायी बन्दको कारण यात्रुहरूले केही असुविधा भोग्नुपरे पनि समग्रमा सडक सुदृढीकरणपछि लामो समयसम्म दुर्घटनाको जोखिम घट्ने, समय बचत हुने र आवागमन सहज हुने विश्वास सडक आयोजनाले व्यक्त गरेको छ । ‘‘थोरै समयको असहजता दीर्घकालीन सुरक्षाको लागि हो,’’ आयोजना पक्षको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्