विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश

 

काठमाडौँ, २४ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनअन्तर्गत मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेलेको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई एकपक्षीय ७८ रनले पराजित गर्दै लगातार दोस्रो सिजन फाइनलमा प्रवेश गरेको छ ।

 

जारी लिगमा यसभन्दा कम स्कोर कुनै टोलीले गरेको थिएन, तर आज सुदूरपश्चिमले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै विराटनगरलाई मात्र ७७ रनमा समेटेर नयाँ कीर्तिमान कायम ग¥यो ।

सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल पुग्ने एकमात्र टिम बनेको छ । यसअघि लिग चरणमा सन्तुलित प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको विराटनगर किङ्स आजै फाइनल पुग्न नसके पनि अझै एक मौका बाँकी छ । भोलिको एलिमिनेटरको विजेतासँग बिहीबार क्वालिफायर–टु खेल्नेछ । त्यसको विजेताले सुदूरपश्चिमसँग शनिबार फाइनल खेल्नेछ ।

१ सय ५६ रनको ठूलो लक्ष्य पछ्याउँदै आएको विराटनगर किङ्स पहिलो ओभरबाटै थपथपीमा प¥यो । पहिलो ओभरको पहिलो बलमै स्कट कुगेलेइनले ओपनर साम हेजलेटलाई आउट गरे । त्यही ओभरको अन्तिम बलमा अनुभवी ब्याट्सम्यान मार्टिन गप्टिल रन आउट भए ।

दोस्रो ओभरको पहिलो बलमा नरेन भट्ट ० रनमै आउट हुँदा विराटनगरको शीर्ष क्रम पूर्ण रूपमा ढल्कियो । हर्मित सिंहको बलमा कुगेलेइनले सजिलो क्याच लिए । पावरप्लेमा विराटनगरले ३ विकेट गुमाउँदै ३४ रन मात्र जोड्यो ।

६.५ ओभरमा कप्तान दीपेन्द्र सिंह ऐरीले बसिर अहमदलाई क्याच आउट गराए । ८.२ ओभरमा अभिनाष बोहोराको बलमा लोकेश बमलाई दीपेन्द्रले क्याच लिए । त्यसपछि ९.१ मा हर्मित सिंहले नारायण जोशीलाई बोल्ड गर्दै विराटनगरलाई थप संकटमा धकेले ।

१० ओभरमा ६ विकेटको क्षतिमा ५७ रन बनाएको विराटनगर १०.५ ओभरमा ठूलो आघातमा प¥यो, जब ३६ रन बनाएर सेट हुँदै आएका फाफ डु प्लेसिस हेमन्त धामीको बलमा क्याच आउट भए । ११.१ ओभरमा प्रतिश जिसी आउट हुँदा विराटनगर ८ विकेटमा ५९ रनमा सीमित हुनपुग्यो ।

१३.२ ओभरमा मर्चेन्ट डि लाङ्गे १५ रनमा आउट भए । १४.१ ओभरमा अभिनाष बोहोराले सन्दीप लामिछानेलाई आउट गर्दै विराटनगरको इनिङ ७७ रनमै समाप्त गरिदिए ।
सुदूरपश्चिमका कुगेलेइन, हर्मित र अभिनाषले समान २–२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले १–१ विकेट हात पारे ।

यसअघि टस जितेर फिल्डिङ रोजेको विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई लगातार दबाबमा राख्ने कोसिस ग¥यो । तर ओपनर विनोद भण्डारीले धैर्यपूर्ण र संयमित ब्याटिङ गर्दै ६३ रनको महत्वपूर्ण योगदान दिए । पावर प्लेमा सुदूरपश्चिमले १ विकेटको क्षतिमा ४२ रन जोड्यो ।

तेस्रो ओभरमा लाङ्गेले मुख्तार अहमदलाई १० रनमा आउट गरे । ७.५ ओभरमा सूर्य तामाङले २० रन बनाएका सेल्डन ज्याक्सनलाई पभेलियन फर्काए । त्यसपछि नरेन भट्टले विनोदको कडा हिट गरिएको क्याच झारेपछि सुदूरपश्चिमले ठूलो राहत पायो ।

१० ओभरमा २ विकेटमा ७७ रन जोडेको सुदूरपश्चिमले मध्यम ओभरहरूमा रन गति कायम राख्यो । १३.५ ओभरमा इशान पाण्डे १३ रनमा आउट भए । त्यसअघि १३.४ मा दीपेन्द्र सिंह ऐरी ३ रनमा रन आउट भए ।

विनोद भण्डारीले ४४ बलमा ३ चौका र १ छक्कासहित अर्धशतक पूरा गरे । १८.५ ओभरमा उनी ६३ रनमा प्रतिश जिसीको बलमा आउट भए । अन्तिमतिर आरिफ शेखले २० रन बनाएर टोलीलाई २० ओभरमा १ सय ५५ रनसम्म पु¥याए ।

बलिङतर्फ लाङ्गे र प्रतिशले समान २–२ विकेट लिएका थिए । हेजलेट र सूर्य तामाङले १–१ विकेट लिए । किफायती बलिङ गरेका कप्तान सन्दीप लामिछाने विकेटविहीन रहे, तर ४ ओभरमा मात्र १६ रन खर्चे ।

एनपिएलको एलिमिनेटर खेल भोलि काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच दिउँसो ४ बजे हुनेछ । त्यसमा विजयी हुने टोलीले विराटनगरसँग फाइनल प्रतिस्पर्धाका लागि दोश्रो अवसर पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्