राजनीतिक जटिलता अन्त्य गर्न सर्वपक्षीय राष्ट्रिय सम्मेलन बोलाउन राप्रपाको आग्रह

 

काठमाडौं, २४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीतिक जटिलता अन्त्य गरी नयाँ निकास निकाल्न प्रधानमन्त्री सुशीला कार्कीले ऐतिहासिक पहल लिनुपर्ने माग गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै लिङ्देनले राजतन्त्र, राजनीतिक दल तथा नयाँ पुस्ता सम्मिलित एक सर्वपक्षीय राष्ट्रिय सम्मेलन बोलाउन प्रधानमन्त्री कार्कीलाई आग्रह गर्नुभएको हो ।

अध्यक्ष लिङ्देनका अनुसार देश अहिले राजनीतिक संवेदनशीलता, अनिश्चितता र अविश्वासको अवस्थामा पुगेकाले राष्ट्रिय सहमतिको एउटा ठूलो प्लेटफर्म आवश्यक छ । उहाँले भन्नुभयो, “तपाईं ठूलो रक्तपात र अस्थिरताबीच प्रधानमन्त्री बन्नुभएको छ । यो केवल मध्यावधि चुनाव गराउने अधिकारको लागि होइन, देशलाई मार्गदर्शन गर्ने ऐतिहासिक जिम्मेवारी बोकेको अभिभावकको भूमिकाका लागि हो।”

उहाँले प्रधानमन्त्रीले राष्ट्रिय संवादको नेतृत्व लिन सके राजनीतिक स्थिरता र दीर्घकालीन समाधान सम्भव हुने दाबी गर्नुभयो । “राजा, राजनीतिक दलहरू र जेनजी पुस्तालाई एउटै मञ्चमा ल्याई सहमतिका बुँदा तय गर्नुस्,” लिङ्देनले भन्नुभयो ।

अध्यक्ष लिङ्देनले वर्तमान अवस्थालाई संवेदनशील बताउँदै अब देशले यत्तिको भन्दा ठूलो राजनीतिक द्वन्द्व सहन नसक्ने बताउनुभयो । उहाँका अनुसार, अब राजनीतिक आग्रह–पूर्वाग्रह र व्यक्तिगत अहंकार त्यागेर सबै दल सहमतिमार्फत समाधानतर्फ उन्मुख हुनुपर्छ । उहाँले ठूला दलका केही नेताहरूले खुला रूपमा राजतन्त्र तथा राजनीतिक स्वरूपबारे अभिव्यक्ति दिन थालेको उल्लेख गर्दै अब उनीहरूले औपचारिक रूपमा समेत पार्टीभित्र निर्णय लिनुपर्ने समय आएको बताउनुभयो ।

लिङ्देनले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री व्यवस्था स्थापित गर्दै राष्ट्रका अभिभावकका रूपमा राजा रहने संवैधानिक संरचना आवश्यक रहेको प्रष्ट पार्नुभयो । “अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रूपमा राजा रहने व्यवस्थासहित अघि बढ्नुको विकल्प छैन,” उहाँले भन्नुभयो ।

यसैगरी सोही कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टीले पूर्ण राजतन्त्रको वकालत नगरेको स्पष्ट पार्नुभयो । उहाँले राप्रपाको उद्देश्य लोकतान्त्रिक फ्रेमवर्कभित्र राजसंस्थालाई सम्मानित स्थान दिनु र राष्ट्र एकताका प्रतीकको रूपमा समावेश गर्नु रहेको बताउनुभयो ।

मिश्रले राजनीतिक दलहरूले धेरै गल्ती गर्दै राष्ट्रलाई क्षयित बनाएको टिप्पणी गर्नुभयो । तर आधुनिक राजनीतिक संरचना नष्ट गरेर हैन, सुधार र संस्थागतकरणमार्फत अघि बढ्नु जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “हामीले लोकतन्त्रको संरचनाभित्र राजसंस्थालाई उचित स्थान दिनुपर्छ । राजनीतिक दल आधुनिक शक्तिको प्रतीक हुन्, तर राष्ट्रको स्थिरता र एकता प्रतिनिधित्व गर्ने संस्था राजसंस्था नै हो।”

उहाँका अनुसार, राप्रपाले पृथ्वीनारायण शाहका वंशजलाई राष्ट्रिय एकताको प्रतीकको रूपमा लोकतान्त्रिक संरचनाभित्र स्थान दिनुपर्ने माग गरेको छ । “हामीले पूर्ण राजतन्त्र भन्न खोजेका होइनौं । हामीले सबै जाति, भाषा, धर्मका मानिसले विश्वास गर्न सक्ने, राजनीति भन्दा माथि रहने संस्था पुनस्र्थापना हुनुपर्छ भनेका हौँ,” मिश्रले भन्नुभयो ।

यस्तै, कार्यक्रममा राप्रपाका महामन्त्री डा. धवल शमशेर जबराले पनि नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नहुने स्पष्ट पार्नुभयो । उहाँले सक्रिय राजसंस्थाको अवधारणालाई राप्रपा स्वीकार्न नसक्ने बताउँदै, नेपालका वर्तमान राजनीतिक चुनौती समाधान गर्न संवैधानिक राजसंस्था उपयुक्त विकल्प हुने बताउनुभयो ।

जबराका अनुसार, उनीहरूले यो विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग समेत छलफल गरिसकेका छन् । “हामी सक्रिय राजतन्त्रका पक्षमा छैनौं । राजाले पनि सक्रिय भूमिका नखोज्ने स्पष्ट पारिसक्नुभएको छ । नेपालको सन्तुलित लोकतान्त्रिक संरचनाका लागि संवैधानिक राजसंस्था नै उपयुक्त हो,” उहाँले भन्नुभयो ।

उहाँले नेपालीका छोराछोरीले नै देश सञ्चालन गर्ने जिम्मेवारी वहन गर्ने तर राष्ट्र अभिभावकको भूमिकामा राजसंस्था रहने व्यवस्था आवश्यक रहेको बताउनुभयो । “राजसंस्था अभिभावक हुनुपर्छ, सत्ता चलाउने केन्द्र होइन,” उहाँले स्पष्ट पार्नुभयो ।

जबराले राप्रपाको उद्देश्य नेपालमा सनातन हिन्दू अधिराज्य र सांस्कृतिक पहिचानको संरक्षण तथा पुनर्जीवन पनि रहेको बताउनुभयो । उहाँका अनुसार, “यो सभा सनातन मूल्य, संस्कार र पहिचान पुनःजागरणको थलो हो । हामीले आधुनिक राजनीतिक व्यवस्था र सांस्कृतिक अभिभावकत्व दुवैलाई सन्तुलित रूपमा अघि बढाउनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्