एमालेको ११औँ महाधिवेशन तयारी तीव्र, मञ्च निर्माण अन्तिम चरणमा पुग्यो

काठमाडौँ, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशन नजिकिँदै गर्दा भक्तपुरको सल्लाघारी क्षेत्र अहिले महाधिवेशनकै रंगमा रंगिएको छ । उद्घाटन समारोह हुन पाँच दिन मात्र बाँकी रहँदा कार्यक्रमस्थलमा आवश्यक तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । अस्थायी संरचना निर्माणदेखि स्वयंसेवक व्यवस्थापन, पार्किङ तथा प्रतिनिधि बसोबाससम्मका सबै तयारीलाई अन्तिम चरणमा पु¥याउने कार्य जारी छ ।

पार्टीका पोलिटब्यूरो सदस्य महेश बस्नेतका अनुसार महाधिवेशनको उद्घाटनको मुख्य मञ्च भक्तपुरको मौलिक पहिचान झल्किनेगरी परम्परागत शैलीमा निर्माण भइरहेको छ । नेवारी कला–संस्कृतिको सौन्दर्य झल्कनेगरी बन्ने यो मञ्च अहिले तीव्रगतिमा निर्माणको अन्तिम चरणमा पुगेको छ । मञ्चसँगै शौचालय, अतिथिका लागि कक्ष, विश्रामस्थल तथा अन्य अस्थायी संरचना पनि द्रुत गतिमा पूरा गरिँदैछन् ।

 

बस्नेतका अनुसार उद्घाटन समारोहका दिन करिब पाँच लाखसम्म सहभागी भेला हुने अनुमान गरिएको छ । यस्तो ठूलो भीड व्यवस्थापनका लागि विस्तृत तयारी गरिएको छ । कार्यक्रमस्थलमा १० हजार स्वयंसेवक परिचालन गरिनेछ भने तीमध्ये ५५० जना स्वयंसेवक पोसाकसहित अनुशासित रूपमा उपस्थित रहने व्यवस्था मिलाइएको छ । युवा सङ्घले ५० हजार कार्यकर्तालाई उद्घाटन स्थलसम्म ल्याउने तयारी गरेको छ भने नेसनल भोलियन्टरका १० हजार स्वयंसेवक कार्यक्रम व्यवस्थापनमा खटिनेछन् ।

महाधिवेशनमा सहभागी प्रतिनिधि तथा कार्यकर्ताको सवारीसाधन व्यवस्थापनलाई विशेष ध्यान दिइएको छ । विभिन्न जिल्लाबाट सल्लाघारीतर्फ आउने प्रतिनिधिका गाडीलाई जगाती क्षेत्रका इँटा–टायल कारखाना तथा स्थानीय प्लटिङ जग्गामा पार्किङ गराइनेछ ।

त्यहाँबाट र्यालीसहित सल्लाघारीतर्फ प्रवेश गराइनेछ । पश्चिमतर्फबाट आउने सवारीसाधनलाई मध्यपुरथिमिको गट्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको खाली क्षेत्र तथा कमेरोटारका खाली जग्गामा पार्किङको व्यवस्था मिलाइएको बस्नेतले बताउनुभयो । ती स्थानबाट पनि सहभागीहरू र्यालीसहित कार्यक्रमस्थलकै दिशामा अघि बढ्नेछन् ।

महाधिवेशनमा करिब २,५०० प्रतिनिधिको सहभागिता रहनेछ । तीमध्ये पाँच प्रतिशत प्रतिनिधि मनोनीत हुनेछन्, जसको छानोट प्रक्रिया शीर्ष नेताहरू सञ्चालन गरिरहेका छन् । यसपटक एमालेले संगठनभित्र जेनजी अर्थात् नयाँ पुस्तालाई प्राथमिकता दिंदै कुल प्रतिनिधि संख्या मध्ये एक चौथाइ युवा समुहलाई प्रतिनिधित्व प्रदान गरेको छ । केन्द्रीय कमिटीमा समेत जेनजीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिने बस्नेतले जानकारी दिनुभयो ।

महाधिवेशनको उद्घाटन सत्र मङ्सिर २७ गते दिउँसो १२ बजे सुरु हुनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा महाधिवेशनको उद्घाटन गर्नेछन्। त्यसपछि मङ्सिर २८ र २९ गते भृकुटीमण्डपमा बन्द सत्र सञ्चालन हुनेछ, जहाँ आर्थिक, राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमाथि छलफल गर्दै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ । यसै क्रममा नयाँ केन्द्रीय कमिटीको गठन हुने कार्यक्रम तय छ ।

यतिबेला भक्तपुरको सल्लाघारी मात्र होइन, वरपरका क्षेत्र पनि महाधिवेशनको रौनकले भरिएका छन् । स्थानीय स्तरमा चहलपहल बढेको छ भने सुरक्षा व्यवस्थासमेत संवेदनशीलताका साथ सुदृढ गरिएको छ । व्यापक संख्यामा सहभागी हुने अनुमान गरिएकाले ट्राफिक व्यवस्थापनदेखि सुरक्षा निगरानीसम्म सबै संयन्त्र उच्च सतर्कताका साथ परिचालित हुन थालेका छन् ।

एमालेको यो ११औँ महाधिवेशन संगठन सुदृढीकरण, वैचारिक पुनरावलोकन र नयाँ नेतृत्व निर्माणको दृष्टिले महत्वपूर्ण मानिएको छ । विशेषगरी नयाँ पुस्तालाई अग्रस्थान दिने तयारीले यो महाधिवेशनलाई थप अर्थपूर्ण बनाएको विश्लेषण गरिन्छ । महाधिवेशनका क्रममा पारित हुने निर्णयले आगामी वर्षहरूमा पार्टीको दिशा–निर्देशन र राजनीतिक यात्रा कस्तो हुनेछ भन्ने निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्