काठमाडौं, १९ मंसिर । ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ । बिहीबार नख्खु कारागारमा भएको भेटमा वैकल्पिक नेतृत्व निर्माणतर्फ महत्वपूर्ण छलफल भएको संस्थापक गुरुङले बताउनुभएको छ ।
गुरुङले लामिछानेसँगको भेटमा अर्को महत्वपूर्ण खुलासा पनि गर्नुभएको छ । उहाँले काठमाडौं महानगरका मेयर बालेन शाह र नेपाल विद्युत प्राधिकरणका पूर्व–कार्यकारी निर्देशक कुलमान घिसिङबीच भएको भेटघाटमा पनि आफूले सहजीकरण गरेको बताउनुभयो ।
उज्यालो नेपालका एक शीर्ष नेताले पनि गुरुङको दाबी पुष्टि गर्दै भन्नुभयो, “सुदन जी सुरुबाटै समन्वयकर्ताको भूमिकामा हुनुहुन्छ । बालेनसँग भेट गराउन उहाँसहित अरूको पनि भूमिका थियो।”
कुलमान, बालेन र रवि—यी तीनै जनालाई आजको वैकल्पिक राजनीतिक धारका प्रमुख अनुहार मानिन्छ । एक जनाले ऊर्जा क्षेत्रमा सुधार गरेको छ, अर्कोले स्थानीय शासन सञ्चालनमा नेतृत्व क्षमता देखाएको छ र तेस्रोले संघीय राजनीतिमा नयाँ विकल्पको प्रतिनिधित्व गरेको छ ।
यी तीनबीचको भेटघाट वैकल्पिक नेतृत्व निर्माणतर्फको महत्वपूर्ण संकेत मानिएको छ ।
गुरुङले भन्नुभयो, “अहिले हामी तीन–चारजना होइन, सबै वैकल्पिक शक्ति समेटेर ठूलो मोर्चा बनाउन चाहन्छौँ । मैले त्यसैको समन्वय गर्दै आएको छु ।”
गुरुङले आफू वैकल्पिक धारका विभिन्न समूह, अभियन्ता र नेतृत्वसँग निरन्तर संवादमा रहेको बताउनुभयो । जेनजी आन्दोलनकै क्रममा देशव्यापी रूपमा युवाहरूको असन्तुष्टि र विकल्पको खोजलाई उहाँले नजिकबाट अनुभव गर्नुभएको थियो । त्यसैलाई संगठित रूपमा राजनीतिक मार्गमा लैजान उहाँले पहल गरिरहनु भएको छ ।
उहाँका अनुसार देशमा अहिलेको मुख्य चुनौती पुरानो राजनीतिक संरचनाबाट निराश जनमतलाई विश्वास दिलाउने वैकल्पिक नीतिगत मोडल प्रस्तुत गर्नु हो । त्यसका लागि समान विचारधारा नजिक भएका सबै अभियन्ता, जनप्रतिनिधि र राजनीतिक समूहसँग सहकार्य हुनैपर्छ ।
“एकजुट भएर मात्रै प्रणालीगत परिवर्तन सम्भव छ,” गुरुङले भन्नुभयो, “त्यसैले अहिले मैले सबैसँग समन्वय गरिरहेको छु । रवि, बालेन, कुलमान जस्ता नेतृत्वलाई पनि एउटै उद्देश्यतर्फ ल्याउन खोज्दैछु।”
सुदन–रवि भेट, त्यसअघि बालेन–कुलमान भेट, र यसबीच भइरहेको विविध स्तरका समन्वय यी सबै घटनाले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन सक्ने संकेत दिइरहेका छन् ।
विशेषगरी युवा–केन्द्रित नेतृत्व, स्वतन्त्र राजनीतिक धारा र वैकल्पिक शक्तिहरूबीच यदि एकता भयो भने आगामी चुनावी नतिजामा यसको प्रभाव निर्णायक बन्न सक्छ ।
नख्खु कारागारमा भएको यो भेट केवल सांत्वना भेट मात्र थिएन । यो सम्भावित राजनीतिक पुनर्संयोजनको संकेत थियो । जहाँ देश परिवर्तनमा विश्वास राख्ने शक्तिहरू एक मञ्चमा उभिन सक्नेछन् ।
सुदन गुरुङका शब्दहरूमा “अब समन्वयको समय आएको छ । हामी मिल्यौँ भने परिवर्तन रोकिँदैन ।”
लामिछाने अहिले सहकारी ठगी प्रकरणमा चलिरहेको मुद्दाका कारण कारागारमा हुनुहुुन्छ ।
भेटमा राजनीतिक एकता र समन्वय मात्र नभई रवि लामिछानेको व्यक्तिगत मुद्दा पनि प्रमुख विषय बन्यो । सहकारी ठगी प्रकरणमा आफूमाथि परेको आरोप अन्यायपूर्ण रहेको बताउँदै उहाँले गुरुङसँग छिटो न्याय पाउन मद्दत पु¥याउन आग्रह गर्नुभएको छ ।
गुरुङले भन्नुभयो “उहाँले भन्नुभयो– ‘बरु मैले गल्ती गरेको भए कारबाही होस्, हैन भने न्याय चाहिन्छ । यसका लागि छिटो निर्णय हुनु जरुरी छ ।’”
लामिछानेले आफूलाई अनावश्यक रूपमा मुद्दामा तानिएको अनुभूति व्यक्त गरे र न्यायालयलाई छिटो निर्णय दिन दबाब सिर्जना गर्न सकिने सम्भावनाबारे छलफल गर्नुभएको छ । त्यसमा गुरुङले आफूहरूको पक्षबाट भीड, आन्दोलन वा प्रत्यक्ष दबाब नभई शान्त, विधिसम्मत तरिकाले मुद्दा छिटो टुंग्याउन पहल गर्ने आश्वासन दिनुभएको छ ।
“न्यायलयले सही–गलत भन्दिन्छ । तर प्रक्रिया ढिला हुँदाहुँदै अन्याय नहोस् भन्नेमा हामी पनि सचेत छौँ,” गुरुङले भन्नुभयो ।
भेटमा लामिछानेले गुरुङसँग राजनीतिक उद्देश्यबारे पनि खुला कुराकानी गरेको बताउनुभयो ।
उहाँले जेनजी आन्दोलनको लक्ष्य र ऊर्जा नेपालको राजनीतिक, आर्थिक र प्रशासनिक सुधारमा उपयोग गर्न एकताबद्ध अभियान आवश्यक भएको धारणा राख्नुभयो । गुरुङको भनाइमा, “उहाँले जेनजी आन्दोलनमा सुरुबाटै साथ दिएको कुरा स्मरण गरिरहनुभयो । देश बनाउन सबै वैकल्पिक धारा एक भएर लाग्नु जरुरी छ भन्नुभयो।”
यसले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सशक्त मोर्चा निर्माण गर्ने सम्भावनालाई अझ प्रस्ट बनाएको छ । विशेषगरी हालका युवा–केन्द्रित शक्ति, स्थानीय तहमा प्रभाव जमाइरहेका स्वतन्त्र समूह, रास्वपा तथा सामाजिक अभियन्ताहरूबीच समन्वय बढ्दै गएको संकेत देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्