एमालेको महाधिवेशन प्रतिनिधि विवाद चुलियो

 

काठमाडौं, १९ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित पार्टीका शीर्ष नेताहरूबीच बिहीबार गुण्डुमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । आसन्न महाधिवेशनका प्रतिनिधि छनोटलाई लिएर देशका अनेकौं जिल्लामा उत्पन्न विवाद र असन्तुष्टिपछि बोलाइएको यो बैठक आन्तरिक मतभेद समाधानतर्फ केन्द्रित रहेको पार्टी स्रोतले बताएको छ ।

भेटमा सहभागी उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार ओखलढुंगा, चितवन, बाँके, बर्दिया, दाङ, सल्यान, डोटी लगायत विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा गम्भीर विवाद देखिएका छन् । यी विवादले महाधिवेशनको विश्वासनीयता प्रभावित हुनसक्छ भन्दै नेताहरूले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका थिए ।

ओखलढुंगामा प्रतिनिधि छनोट भएर १२ जना निर्वाचित भए पनि संगठन विभागले उक्त प्रक्रियालाई अस्वीकार गर्दै पाँच दिनभित्र पुनः निर्वाचन गर्न निर्देशन दिएको थियो । ती १२ जना प्रतिनिधि सबै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पंक्तीका भएकाले यसले गम्भीर आन्तरिक वादविवाद निम्त्याएको नेताहरू बताउँछन् ।

उता दाङ र सल्यानमा भने महासचिव शंकर पोखरेल निकट समूहले प्रभाव जमाएको भन्दै विरोध प्रदर्शन भएको छ । सल्यानमा त ‘होटलमै बसेर’ प्रतिनिधि चयन गरिएको आरोपसमेत लागेको छ ।

भेटमा सहभागी एक नेताले भने, “दाङमा शंकर पोखरेलका निकटहरूले एकलौटी गरेका छन् । सल्यानमा होटलमा बसेर प्रतिनिधि बनाइएको छ । त्यहाँका सदस्यहरूले उजुरी गरेका छन् । तर यस्ता गम्भीर उजुरीलाई वास्ता नगरी निर्वाचन सम्पन्न भइसकेका ठाउँमा उल्टै पुनः निर्वाचन गर्न निर्देशन पठाइएको छ । यहीबारे हामीले अध्यक्षज्यूलाई गम्भीर रूपमा अवगत गराएका छौँ।”

ंगठन विभागले केही जिल्लाको निर्वाचन अस्वीकार गरिरहेको तर अन्य गम्भीर विवादित जिल्लामा भने कुनै कारबाही नगरी ‘एकतर्फी निर्णय’ गरिरहेको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल स्वयं असन्तुष्ट देखिएका छन् । उनका निकट नेताहरूले यो कदमलाई लक्षित राजनीतिक हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् ।
ओखलढुंगामा पुनः निर्वाचन प्रक्रिया अघि नबढाइएको र दाङ–सल्यानमा भएको विवादलाई सम्बोधन नगरी संगठन विभागले असन्तुलित निर्णय गरिरहेको उनीहरूको आरोप छ ।
यसैबीच, नयाँ विवाद एउटा छुट्टै विषयबाट पनि उब्जिएको छ । महाधिवेशन घोषणा भइसकेपछि ‘नेसनल भोलेन्टियर फोर्स’ नामक नवगठित जनसंगठनबाट पनि महाधिवेशनमा प्रतिनिधि पठाइएको भन्दै उपाध्यक्ष पाण्डे र पोखरेल पक्षले आपत्ति जनाएका छन् ।

उपाध्यक्ष पाण्डेले भने, “महाधिवेशन घोषणा भइसकेपछि बनाइएको जनसंगठनबाट प्रतिनिधि बनाइएको छ । यो कुनै हालतमा स्वीकार्य छैन । हामीले अध्यक्षज्यूलाई भेटेर यही कुरा स्पष्ट रूपमा राखेका छौँ।”

नेता पाण्डेले यसले संगठनको विधि–प्रक्रियालाई कमजोर बनाउने मात्र होइन, आन्तरिक संतुलन भंग गर्न खोजिएको आशंका सिर्जना गरेको बताए ।
गुण्डुमा भएको भेटवार्तामा उपस्थित नेताहरूले अध्यक्ष ओलीलाई पार्टीभित्र बढ्दै गएको अविश्वास, प्रतिनिधि छनोटका अनियमितता र संगठन विभागका विवादास्पद निर्णयहरूबारे विस्तृत जानकारी गराएका थिए ।

उनीहरूको भनाइमा महाधिवेशन जस्तो संवेदनशील प्रक्रियामा अनुशासन र समानता आधारभूत मान्यताहरू हुन्, जसमा अहिले समस्या देखिन थालेको छ । अध्यक्ष ओलीले यस विषयमा गम्भीरतापूर्वक ध्यान दिने आश्वासन दिएको बताइएको छ ।

मालेको महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक मतभेद खुलेर सतहमा आउन थालेका छन् । प्रतिनिधि छनोट प्रक्रिया नै विवादित बनेपछि पार्टीभित्र शक्ति–सन्तुलनका प्रश्न उठिरहेका छन् । एकातिर पोखरेल पक्ष असन्तुष्ट छ भने अर्कातिर महासचिव शंकर पोखरेल समूहको प्रभाव बढेको आभास नेतृत्वले पाएको छ ।

यदि यी विवाद चाँडै समाधान हुन सकेनन् भने महाधिवेशनमा आन्तरिक ध्रुवीकरण अझै बढ्नसक्ने विश्लेषकहरूको अनुमान छ ।
गुण्डुमा भएको छलफलले विवाद समाधानका लागि संवाद प्रक्रियालाई बलियो बनाएको छ । अब यसलाई कसरी कार्यान्वयन गरिन्छ भन्नेमा नै एमालेको आगामी राजनीतिक गतिशीलता निर्भर रहनेछ ।

प्रतिक्रिया दिनुहोस्