भ्रष्टाचार मुक्त राष्ट्र निर्माणका लागि नेकपा संयुक्तमा आबद्ध हुन आह्वान

काठमाडौँ, १६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले सुशासन स्थापना र भ्रष्टाचार मुक्त राष्ट्र निर्माणका लक्ष्यसहित जनतालाई पार्टीमा आबद्ध हुन खुला आह्वान गरेको छ । आइतबार बसेको विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले जेनजी आन्दोलनमा विश्वास राख्ने, घुस नखाने संस्कृतिलाई जीवनशैली बनाउने तथा पारदर्शिता चाहने सबै नागरिकलाई पार्टीको अभियानमा जोडिन आग्रह गरेको हो ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बैठकका निर्णय सार्वजनिक गर्दै वर्तमान राज्य संयन्त्रमा गहिरो रूपमा फैलिएर बसेको भ्रष्टाचार अन्त्य गर्न दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भ्रष्टाचार नियन्त्रणका बिना देशमा सुशासन, स्थिरता र विकास सम्भव नहुने उल्लेख गर्दै नागरिकले चाहेको वैकल्पिक राजनीतिक निष्ठाको जग नै ‘घुस नखानेहरूको पार्टी’ बन्नेमा आफूहरू केन्द्रित रहन चाहेको बताउनुभयो ।

बैठकले भदौ २४ गते देशका विभिन्न स्थानमा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोडमा संलग्न समूहहरूको विषयमा छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । पार्टीले सरकारी सम्पत्तिको नष्ट कुनै पनि राजनीतिक आन्दोलनको नाममा सह्य नहुने र दोषीबाट क्षतिपूर्ति असुल गर्नुपर्ने सुझाव पनि अघि सारेको छ ।

त्यस्तै जेनजी आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमा भएको दमनबारे पार्टीले कडा आपत्ति जनाउँदै त्यसबेलाका उच्च सरकारी अधिकारी, सुरक्षा निकायका जिम्मेवार कमान्डर तथा प्रशासनिक तहका प्रमुखमाथि निष्पक्ष छानबिनको माग गरेको छ । भुसालले “दमन आदेश दिनेहरूलाई कानुनी दायरामा ल्याउनु न्याय र लोकतान्त्रिक मूल्यको आधारभूत आवश्यकता हो” भन्दै छानबिन प्रक्रियामा ढिलाइ नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

पार्टीले राज्यको उच्च जिम्मेवारीमा रहेका नेता, न्यायाधीश, सुरक्षा अधिकारी तथा निजामती कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने माग पुनः दोहो¥याएको छ । यसमार्फत अवैध ढंगले थुपारिएका सम्पत्ति र कारोबारलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नुपर्ने पार्टीको धारणा छ ।

यससँगै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायलाई आवश्यक पूर्वाधार र वातावरण सुनिश्चित गर्न नेकपा (संयुक्त) ले माग गरेको छ । पार्टीका अनुसार निष्पक्ष निर्वाचन नै देशको राजनीतिक स्थिरता र नागरिकको विश्वास पुनःस्थापित गर्ने मुख्य माध्यम हो ।

नेकपा (संयुक्त)ले प्रस्तुत गरेको सुशासन–केन्द्रित राजनीतिक अभियान निकट भविष्यमै अन्य कार्यक्रममार्फत अझ विस्तृत रूपमा अघि बढाइने जानकारी पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्