स्वाधीताका निम्ति वामपन्थीहरु एक हुनुपर्ने

 

विराटनगर, १६ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले नेपाली जनताको आत्मसम्मान र स्वाधीताका निम्ति वामपन्थीहरु एक हुनुपर्ने बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी केशी प्रदेशद्वारा सोमबार विराटनगरमा आयोजित ‘पार्टी एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उहाँले मुलुक अहिले सङ्कटमा रहेको र नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्न नेपाली सेना र नेपाल प्रहरीले मात्र गर्न नसक्ने भन्दै सम्राज्यवादलाई परास्त गर्न सबै नेपाली फौजी जस्तो बन्नुपर्ने धारणा राख्नुभयो ।

संयोजक प्रचण्डले संस्थालाई जोगाउन राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तरिम सरकार बनाउन आफूहरुले पनि सहमति दिएको बताउनुभयो । उहाँले आफूहरुलाई सच्चिनका लागि जेनजी आन्दोलनले सचेत बनाएको प्रसङ्ग उल्लेख गर्दै नेपालमा दलहरुले एकता र विभाजनको पीडा भोगिसकेको स्मरण गराउनुभयो ।

जेनजी आन्दोलनबाट उठेका मागलाई सम्बोधन गर्न, नेपाली जनतालाई बलियो बनाउन, सुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्न १६ वटा कम्युनिष्ट पार्टीहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको उहाँको भनाइ थियो । उहाँले सरकारले तोकिएकै समयमा निष्पक्ष, धाधलीरहित, स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण तयार गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

संयोजक प्रचण्डले विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न सेना र प्रहरी मात्र पर्याप्त नहुने भन्दै ३ करोड नेपाली जनताको ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने बताउनुभएको छ ।

एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालसँग ठुला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार बनाउने सामथ्र्य नभएको, तर जनताको तागत भने रहेको बताउनुभयो ।

‘हाम्रो सेनाले सायद चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र पुग्दो रहेनछ,’ प्रचण्डले भन्नुभयो ‘अहिले तत्काल ठुला शक्तिसँग लड्न मिसाइल बनाउन सक्ने तागत हामीसँग छैन । तर, ३ करोड नेपाली जनताको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ । यदि त्यस्तो भयो भने दुनियाँको कुनै पनि शक्तिले नेपाललाई हराउन सक्दैन ।’

प्रचण्डले भदौ २४ गते भएको घटनालाई ‘असाधारण संकट’ को संज्ञा दिनुभयो । उहाँले उक्त दिन ऐतिहासिक धरोहरहरू जलेर ध्वस्त भएको र देश झन्डै दुई दिनसम्म राज्यविहीनताको अवस्थामा पुगेको दाबी गर्नुभयो । ‘त्यो विध्वंस र षड्यन्त्रले नेपाल असाधारण संकटमा गयो । त्यसको साक्षी म र माधवकुमार नेपाल थियौँ,’ उहाँले भन्नुभयो ‘नारायणहिटी सरसफाइ भएर राजा ल्याउने वा सेनाले सत्ता लिने भन्ने खालका सन्त्रासको परिस्थिति सिर्जना भएको थियो ।’ उहाँले अहिले पनि राष्ट्र संकटमै रहेको उल्लेख गर्नुभयो ।

प्रचण्डले जेनजीको आन्दोलनले पुराना राजनीतिक दलहरूलाई झकझक्याएको स्वीकार गर्नुभयो । प्रचण्डले भन्नुभयो ‘जेनजी पुस्ताका युवाहरूको आन्दोलनले हामीलाई आत्मसमीक्षा गर्न प्रेरित ग¥यो । कहाँ गल्ती भयो भनेर सोच्न बाध्य बनायो ।’

अब विचार बुढो र तन्नेरी नहुने भन्दै उहाँले छोराछोरी र नातिनातिना पुस्तासँग सिक्न तयार हुनुपर्ने बताउनुभयो । ‘हामी धेरै पछि परिसकेका छौँ । अब जेनजीहरुसँग वार्ता र संवाद गरौँ, सबै आफैंले जानेजस्तो नगरौं,’ प्रचण्डले भन्नुभयो ‘अहिले जेनजीहरुले हाम्रो अभिभावक नेपाली कम्युनिस्ट पार्टी नै हो भन्दै प्रवेश गरिरहेका छन् ।’

प्रचण्डले वर्तमान सरकारलाई चुनावी सरकारको हैसियतमा मात्र रहन चेतावनी दिनुभएको छ । उहाँले चुनाव गराउने म्यान्डेट पाएको सरकारले दीर्घकालीन असर पर्ने खालका सन्धि सम्झौता गर्न नहुने बताउनुभयो । ‘यदि यो सरकारका मन्त्रीहरुले दीर्घकालीन खालका सन्धि सम्झौता अगाडि बढाउँछन् भने त्यो म्यान्डेट विपरित हुन्छ,’ उहाँले भन्नुभयो ‘हामी चुनावमा होमिसक्यौं । सरकारले स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाओस् ।’

सम्बोधनको अन्त्यमा प्रचण्डले आफ्नो उमेरमाथि प्रश्न उठाउनेहरुलाई कडा चुनौती दिनुभयो । ‘मसँग दौडिने कोही छ ? मर्निङ वाक कति गर्ने हो, म तयार छु । हेभी एक्सरसाइज कति गर्ने हो, म युवाहरुसँग गर्न चाहेको छु,’ प्रचण्डले भन्नुभयो ‘भुईँफुट्टा, इतिहासविहीन र विचारविहीनले गरेको हो–हल्लाको पछि नलाग्नुहोला ।’ उहाँले १६ वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले अब वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि र रोजगारी सिर्जनाको नेतृत्व गर्ने दाबी समेत गर्नुभयो ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीको पहिचान र स्वाधीनतालाई रक्षा गर्न वामपन्थीहरु एक भएको बताउनुभयो । उहाँले कम्युनिष्टहरुको क्रान्तिकारी चरित्र जोगाउन पार्टीहरुलाई एकीकरण गरेको धारणा राख्दै नेपाली सभ्यता, संस्कृति, सामाजिक न्याय र समानुपाति प्रणालीलाई जोगाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

 

उक्त पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न समयमा कम्युनिष्टहरुको सरकार बने पनि नेपाली जनताको सर्वोच्च हितमा काम गर्न नसकेको धारणा राख्दै आफ्नो पार्टीले निर्वाचनबाट बहुमत ल्याउन सक्यो भने भूमि सुधार आयोग, कृषिमा आधुनिकीकरण, औद्योगिकीकरण गरी रोजगार सृजना गर्नेमा प्रतिबद्धता व्यक्त गर्नुभयो । नेता नारायणकाजी श्रेष्ठले सङ्घीयतालाई रक्षा गर्न, सुदृढीकरण गर्न र संविधानमा रहेका कमीकमजोरीलाई परिमार्जन गर्न आफ्नो पार्टी दृढ सङ्कल्पित रहेको बताउनुभयो ।

नेता डा भीम रावलले मुलुकमा समृद्धि र आर्थिक विकासमा आफ्नो पार्टी प्रतिबद्ध रहेको चर्चा गर्नुभयो । पार्टी एकता सन्देशसभाका संयोजक हरिबोल गजुरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीमा आबद्ध सरिता थापा, गोपाल किराँती, राजेन्द्र श्रेष्ठ र रुपेश खतिवडालगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्