काठमाडौँ, १२ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा विराटनगर किङ्ग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जीत निकालेको छ । विराटनगरका बसिर अहमदले उत्कृष्ट ब्याटिङ गर्दा एक समय असम्भव लागेको जीत सम्भव भएको हो ।
कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ दशमलव ५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो ।
विराटनगरको सुरुआत भने राम्रो रहेन । ओपनर लोकेस बमले ६ रन र जर्ज मुन्से शून्यमा आउट हुँदा दबाबमा परेको विराटनगरका लागि साम हेजलेटले १६ र साहिल पटेलले १९ रन मात्रै बनाए । त्यसपछि आएका अहमलले उत्कृष्ट ६२ रन बनाए । उनले ४३ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । विराटनगरका लागि नारायण जोशीले पनि २५ रनको महत्वपूर्ण योगदान दिए ।
विराटनगर सामू जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो । अहमदले पाँचौ बलमा छक्का प्रहार गर्दै विराटनगरको जीत सुनिश्चित गरे । १४औँ ओभरसम्म सुस्त गतिमा रन बनाएका विराटनगरले त्यसपछि भने गति बढाएको थियो । विराटनगरले अन्तिम पाँच ओभरमा दुई विकेट गुमाउँदै ७१ रन बनाएको थियो ।
कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले दुई÷दुई विकेट लिए भने पवन सरार्फ, नन्दन यादव र विलियम बोसिस्टोले एक/एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन बनाएको थियो । उसका लागि प्रियान्क पञ्चालले सर्वाधिक ६३ तथा विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान दिए । यी दुवै ब्याटरले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले १/१ विकेट लिए ।
—
प्रतिक्रिया दिनुहोस्