काठमाडौँ, १० मंसिर । फिल्म ‘परालको आगो’ आगामी बैशाख ११ गते (शुक्रबार) देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ । लक्ष्मण सुनार निर्देशित बहुप्रतिक्षित सिनेमा ‘परालको आगो’ ४० दिनको छायांकन यात्रासम्पन्न पछि मंगलबार औपचारिक रूपमा प्याकअप गरिएको घोषणा गरेको छ । दशैंअघि म्याग्दीका विभिन्न स्थानबाट छायांकन सुरु भएको यो सिनेमाले निर्धारित समयमै सम्पूर्ण कार्य पूरा गर्दै अब पोस्ट–प्रोडक्सनमा प्रवेश गरेको छ ।
निर्माता सुशिल पोखरेलका अनुसार उनले आफ्नो सिनेमालाई साधारण मितिमा सार्वजनिक गर्ने निर्णय गर्दै अन्य निर्माताको प्रदर्शन मितिसँग जुध्न नदिने स्पष्ट धारणा राख्नु भएको छ ।
“सबैका सिनेमा चल्नुपर्छ भन्ने मान्यताका साथ मैले मेजर डेटहरू त्यागेर बैशाख ११ को सामान्य दिन रोजेको हुँ,” पोखरेलले भने। उहाँका अनुसार एकैपटक धेरै फिल्म प्रदर्शन हुँदा निर्माता र हल व्यवसायी दुबैलाई नोक्सानी हुन सक्ने भएकाले सिनेमा रिलिजमा ‘ग्याप’ अनिवार्य भएको बताउनु भयो । गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ (कथा संग्रह ‘नासो’ भित्र समावेश) मा आधारित यो सिनेमामा नेपाली फिल्म उद्योगका चर्चित कलाकारहरूको सशक्त उपस्थिति रहनेछ ।
यस फिल्ममा कलाकारहरु सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार एन्जिला बानियाँको अभिनय रहेको छ । कथाको संवेदनशीलता र गहिराइलाई ध्यानमा राखी कलाकार चयन गरिएको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा सुशील देवकोटाको लेखन, सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतका शब्दरचना तथा शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत रहेको छ ।
छायांकन संकल्प भुजेलले गर्नुभएको छ भने कोरियोग्राफी रामजी लामिछाने, र प्रोडक्सन व्यवस्थापन नगेन्द्र घिमिरेले सम्हाल्नु भएको छ । यस फिल्मको वितरण आरआर फिल्म्सले गर्ने भएको छ भने ओटीटी तथा डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ ।
‘परालको आगो’ शीर्षकमा ४५ वर्षअघि निर्देशक प्रताप सुव्बाले पनि फिल्म निर्माण गर्नुभएको थियो । यसपटक पुनः उही शीर्षकमा नयाँ प्रस्तुति आउन लागेको हुँदा दर्शकमा अतिरिक्त जिज्ञासा र अपेक्षा बढेको देखिन्छ । सामाजिक यथार्थ, मानवीय संवेदना र ग्रामीण परिवेशमा आधारित यस कथालाई आधुनिक सिनेमाटिक शैलीमा प्रस्तुत गर्ने निर्माण पक्षको तयारी छ ।
छायांकन पूरा भएसँगै ‘परालको आगो’ अब पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा प्रवेश गर्दै छ । दमदार कलाकार, साहित्यिक आधार, आकर्षक दृश्य–परिकल्पना र अनुशासित निर्माण समयसीमाका कारण यो फिल्म आगामी वर्षको चर्चित प्रस्तुति बन्ने अपेक्षा गरिएको छ । बैशाख ११ ले यस सिनेमाको पात्र–कथाबाट भरिएको कथात्मक यात्रा दर्शकसम्म पु¥याउने छ ।
प्रतिक्रिया दिनुहोस्