अटिजम विषयक डकुड्रामा ‘मौन’को टिजर सार्वजनिक

काठमाडौँ, १० मंसिर । अटिजम जस्तो संवेदनशील विषयवस्तुलाई भावनात्मक कथनमार्फत उठान गर्ने उद्देश्यले निर्माण गरिएको डकुड्रामा ‘मौन’ को टिजर सार्वजनिक भएको छ । केही सेकेन्डको टिजरले नै एक आमाले आँसु भरिएको आँखाबाट आफ्नो छोरीसमक्ष गरेको गल्ती स्वीकारोक्ति प्रस्तुत गर्दै दर्शकलाई गहिरो रूपमा छोएको छ । टिजरले अटिजमसँग सम्बन्धित भावनात्मक, सामाजिक र पारिवारिक पक्षलाई कोमल तर प्रभावकारी ढङ्गले चित्रण गरेको देखिन्छ ।

डकुड्रामाका निर्माता तथा निर्देशक रामजी ज्ञवालीका अनुसार टिजर सार्वजनिक भएपछि ‘मौन’लाई देश–विदेशका विभिन्न सिनेमा महोत्सव, च्यारिटी शो र विशेष स्क्रिनिङमा प्रस्तुत गर्ने तयारी तीव्र बनाइएको छ । यसअघि सार्वजनिक दुई टिजर पोस्टरले नै दर्शक तथा समीक्षकको ध्यान खिचिसकेको थियो ।

निर्देशक ज्ञवालीले ‘मौन’लाई कुनै व्यावसायिक उद्देश्यका लागि नभई सामाजिक दायित्व अन्तर्गत निर्माण गरिएको परियोजना भएको स्पष्ट पार्नुभयो । उहाँले डकुड्रामाको प्रदर्शन नेपालका स्कुल–कलेज, संस्था र समुदायमा विशेष रूपमा केन्द्रित हुने बताउनु भयो । उहाँका अनुसार यसको उद्देश्य अटिजमबारे सचेतना वृद्धि, समझदारी निर्माण र सहानुभूति अभिवृद्धि हो ।

डकुड्रामामा कलाकार सरोज खनाल, हिउँवाला गौतम, प्रार्थना पाठक, ओजस्वी विक्रम विष्ट, दिवस नाथलगायतका कलाकारको अभिनय रहेको छ । यसमा अटिजमको चुनौती, पारिवारिक द्वन्द्व र समाजमा रहेका गलत धारणालाई उजागर गर्ने उद्देश्यसँग मेल खाने देखिन्छ ।

कथा रामशरण पाठकले लेख्नुभएको छ । जसले अटिजम पीडित बालबालिका तथा परिवारले भोग्ने मौन पीडा र सामाजिक बेवास्तालाई केन्द्रमा राखेका छन् । डकुड्रामाले अटिजमलाई मनोरञ्जनको विषय होइन, चिन्तन र परिवर्तनको बहसका रूपमा उठान गर्ने तयारी गरेको छ । ‘मौन’को छायांकन संकल्प भुजेलले गर्नुभएको छ । सहायक निर्माताम हरी क्षेत्री र भूपेन्द्र रह्नुभएको छन् भने ध्वनि डिजाइन भरत कँडेल, कलर ग्रेडिङ राजेन्द्र मोक्तान,

र सम्पादन नहकुल खड्काले गर्नुभएको छ । प्राविधिक रूपमा अनुभवी टिमको संयोजनले डकुड्रामालाई कलात्मक र तथ्यपरक प्रस्तुति दिने सम्भावना बढाएको छ ।
अटिजमबारे समाजमा अझै पर्याप्त जानकारी, सहानुभूति र पहुँचको अभाव रहेको वर्तमान सन्दर्भमा ‘मौन’ महत्त्वपूर्ण सामाजिक अभियानको रूपमा अघि बढिरहेको छ । टिजरले नै दर्शकको मन छुने संकेत देखाएकाले डकुड्रामा आगामी दिनमा सामाजिक संवाद र सचेतना अभिवृद्धिका लागि एक सशक्त माध्यम बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्