काठमाडौँ, १० मंसिर । साझा लगानीकर्ताका लागि मंगलबारको धितोपत्र बजार मिश्रित संकेतसहित बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार नेप्से परिसूचक ५.३२ अंकले उक्लिँदै ०.२० प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा सूचक वृद्धि भए पनि कुल कारोबार रकम भने उल्लेखनीय रूपमा घटेको छ । दिनभरको उतार–चढावपछि नेप्से २,६५५.९९ अंकमा आएर रोकिएको छ ।
ठूला र प्रभावशाली कम्पनीहरूको गतिविधि मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि सुधारिएको छ । सेन्सेटिभ १.३९ अंक बढेर ४५७.५३ अंकमा पुगेको छ, जसले ठूला तथा स्थायित्वपूर्ण कम्पनीप्रतिको लगानीकर्ताको भरोसा यथावत रहेको संकेत गर्छ ।
कूल ३१९ कम्पनीका १ करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर कारोबार भएको छ । कारोबार मूल्य रु ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ मा सिमित रह्यो । यसअघि सोमबार कूल कारोबार रु ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १३६ पुगेकाले आज बजारमा लगानीकर्ताको सक्रियता केही सुस्त देखिएको विश्लेषकहरूको भनाइ छ ।
उपसमूहगत विश्लेषणमा विकास बैंक, जीवन बीमा, सामूहिक लगानी कोष र व्यापार उपसूचकमा गिरावट आएको छ । तर अन्य समूहमा सुधार देखियो । विशेषगरी होटल तथा पर्यटन उपसमूह १.४१ प्रतिशत ले उक्लँदै आजको दिनको मुख्य ‘गेनर’ बन्न सफल भयो। पर्यटक आगमन बढ्ने सकारात्मक संकेतका कारण यो समूहको मांग बलियो देखिएको विश्लेषण गरिन्छ ।
सबैभन्दा आकर्षक काउन्टर बन्दीपुर केवलकार रह्यो। यस कम्पनीको शेयर रु २६ करोड ९९ लाख ९७ हजार ६४९ बराबर कारोबार हुँदा यो शीर्ष स्थानमा रह्यो । लगानीकर्ताको निरन्तर आकर्षणले कम्पनीको बजार उपस्थिति बलियो बनाइरहेको छ ।
आजको दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड का लगानीकर्ताका लागि भने सकारात्मक रहन सकेन । कम्पनीको शेयरमूल्य ४.९६ प्रतिशत ले घट्दै दिनको ‘टप लुजर’ मध्ये पर्न पुग्यो । बजारमा शेयर आपूर्ति बढ्नु तथा लगानीकर्ताको मनोविज्ञान कमजोर हुनु यस गिरावटको सम्भावित कारणका रूपमा देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्