ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज घिमिरे आजका दिनमा सामाजिक सेवामा समर्पित एक उदाहरणीय जनप्रतिनिधि हुन् । उनी केवल आफ्नो वडाका जनताको मात्र नभई सिङ्गो ललितपुरमा बसोबास गर्ने सिमान्तकृत तथा विपन्न समुदायका मानिसहरूका लागि पनि निरन्तर सेवामा जुटिरहेका हुन्छन् । भूकम्प, कोभिड–१९ महामारी, विरामी, प्राकृतिक प्रकोपका घडीहरू सधैं अग्रमोर्चा सतिसालझै उनी दृढतापूर्वक उभिनन्छन् ।
घिमिरेको जीवनयात्रा निकै रोचक छ । राजनीतिमा प्रवेश गर्नु अघि उनी नेपाली सिनेमा उद्यागमा थिए । २०५७ सालतिर ‘सारा खुशी’ बोलको गीतबाट अभिनयको संसारमा पाइला टेकेका उनले ‘चपली हाईट’, ‘भिजिलान्ते’ जस्ता चर्चित चलचित्रमा नायकको भूमिकासमेत निर्वाह गरे । यसले चलचित्र क्षेत्रमा ‘नयाँ स्वाद’को सुुरुआत ग¥यो भन्नेहरू पनि देखिए । कलाक्षेत्रमा कमाएको अनुभव र जनताको भावना बुझ्ने क्षमता नै पछि उनको सामाजिक र राजनीतिक जीवनको आधार बन्यो ।
विभिन्न सङ्घर्ष र अनुभवको बाटो हुँदै उनी नेकपा (माओवादी केन्द्र)को तर्फबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भए । निर्वाचित भएपछि उनले जनताको भरोसा जित्ने मात्र होइन, वडालाई सहकार्य, सद्भाव र विकासको नमूना बनाउन निरन्तर प्रयासरत छन् । आफ्नै गाउँघरमा केही गर्ने अठोटको साथ राजनीतिमा होमिएका घिमिरे आफ्नो कार्यकालमा वडालाई नमुना बनाउने अभियानमा जुट्नुभएको छ । प्रस्तुत छ, घिमिरेसँग सिटीपोष्ट दैनिकले गरेको कुराकानीः
नेपालको राजनीतिक इतिहासमा पहिलोपटक उदाएको जेनजी पुस्ताको यो आन्दोलनलाई तपाईंले कसरी आत्मसात् गर्नुभएको छ ?
नेपालको इतिहासमा २०७२ सालको संविधान निश्चय नै एक अद्वितीय उपलब्धि र लोकतान्त्रिक यात्राको महत्वपूर्ण कोशेढुङ्गा हो । तर, यो संविधान जारी भएको एक दशक पुग्दा पनि संविधानको पूर्ण कार्यान्वयन हुन नसक्नु देशका नागरिकका लागि निराशाको विषय बन्यो । यही असन्तुष्टिको छालमा जनताको मनभित्र दह्रिएको आक्रोश अन्ततः सडकमा प्रस्फुटित भयो ।
भदौ २३ गतेको आन्दोलनमा युवा र विद्यार्थी वर्गको सक्रिय सहभागिता देखिनु, हाम्रो समाजमा राजनीतिक चेतना अझै जिवन्त छ भन्ने प्रमाण हो । तर त्यसको भोलिपल्ट, भदौ २४ गते, यही आन्दोलनमा अराजकतावादी शक्तिहरूको घुसपैठ भएको कुरा स्वयं आन्दोलनकारी पक्षले नै स्वीकार गरिसकेको छ — यहीँबाट आन्दोलनको मूल उद्देश्य आंशिक रूपमा धुमिल भएको देखिन्छ ।
जेनजी पुस्ताको यो उठानलाई मूलतः व्यवस्थामा सुधार ल्याउने जनदबाबका रूपमा लिनुपर्छ । यो उनीहरूको विद्रोह होइन, बरु सुधार र उत्तरदायित्वको खोजी हो । आखिर संविधानको पूर्ण कार्यान्वयन र सङ्घीयतालाई जनताको घर–घरमा अनुभूत हुने प्रणाली बनाउन पनि कहिलेकाहीँ दबाब र आवाज आवश्यक पर्छ नै ।
तर, यही शुद्ध आन्दोलनमा घुसपैठ गरी राज्यको स्थायित्वलाई कमजोर पार्ने, भयको वातावरण सिर्जना गर्ने तत्वहरूलाई भने निर्ममतापूर्वक नियन्त्रण गर्नैपर्छ । युवा पुस्ताको ऊर्जा र आक्रोश सही दिशामा प्रवाहित हुँदा त्यो राष्ट्रको शक्तिको प्रतीक बन्छ; गलत हातमा परे भने त्यो शक्ति विनाशको कारक पनि बन्न सक्छ । यही सन्तुलनमा आजको नेपालको आशा र चुनौती दुवै निहित छन् ।
के तपाईंको दृष्टिमा यो आन्दोलनले नेपालको राजनीतिक परिवेशमा कुनै संरचनात्मक परिवर्तन ल्याउने सङ्केत देखाएको छ ? अर्थात् यो केवल असन्तुष्टिको लहर भएर समयसँगै ओझेलिन सक्ने क्षणिक घटनामात्र हो ?
सामाजिक सञ्जालबाट आह्वान गरिएका आन्दोलनहरू प्रायः स्पष्ट नेतृत्वविहीन हुन्छन् । जेनजी पुस्ताको आन्दोलनमा पनि त्यस्तो स्पष्ट नेतृत्व देखिएन । इतिहासले प्रमाणित गरिसकेको छ— नेतृत्वविहीन आन्दोलनहरूले राजनीतिक रूपान्तरणका दृष्टिले ठूला उपलब्धि हासिल गर्न कठिन हुन्छ । विश्वका अरु देशमा भएको आन्दोलनले पनि यही कुरा पुष्टि गर्छ । ट्युनिसियाको जनआन्दोलन, इन्डोनेशियाको परिवर्तन यात्रा वा फ्रान्सको ‘येलो भेस्ट’ आन्दोलन—यी सबैले दिशाहीन नेतृत्वका कारण दीर्घकालीन राजनीतिक नतिजा निकाल्न सकेनन् ।
नेपालको सन्दर्भमा हेर्दा पनि यो आन्दोलनले संविधान वा वर्तमान व्यवस्थाको विकल्प खोजेको होइन, बरु यही संविधानभित्र सुधार र उत्तरदायित्वको माग उठाएको हो । सुधारका लागि निरन्तर जनदबाब आवश्यक हुन्छ, किनकि दबाबबिना सत्ता सुस्त र अकर्मण्य बन्दै जान्छ ।
त्यसैले, मेरो बुझाइमा यो आन्दोलनले संरचनागत परिवर्तन होइन, व्यवहारगत सुधारतर्फ ध्यान केन्द्रित गरेको छ । जनताको आवाज सत्तासम्म पु¥याउने माध्यमका रूपमा रहेको छ । जब राजनीति सुस्ताउँछ, त्यस्ता सामाजिक आन्दोलनहरूले नै त्यसमा चेतना र गति भरिदिन्छन् । यही कारणले म यस आन्दोलनलाई अस्थिरताको होइन, सुधार र पुनर्जागरणको सङ्केतका रूपमा हेर्छु ।
सो आन्दोलनले नेपालको राजनीतिक र आर्थिक संरचनामा के–कस्तो असर पार्ने सम्भावना छ ?
भदौ २४ गतेको विनाशकारी घटनाले हाम्रो समाजमा गहिरो मानसिक, सामाजिक र आर्थिक प्रभाव पारेको छ । विशेषगरी बालबालिका, युवा, वृद्ध र प्रहरीहरूमा परेको मनोवैज्ञानिक आघातबाट उनीहरूलाई सामान्य जीवनमा फर्किन धेरै समय लाग्नेछ । राजनीतिक दलका कार्यालय, जनप्रतिनिधि, व्यवसायी र उद्योगपतिका निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीले सामाजिक सद्भावमा गम्भीर दरार पारेको छ ।
यस घटनापछि अब इमानदार मनले राजनीतिमा प्रवेश गर्न चाहने नयाँ पुस्ता पनि सोच्न बाध्य हुने स्थिति बनेको छ । अर्कोतर्फ, जसले आफ्ना घर–परिवार र सम्पत्ति गुमाए, तिनीहरूमा बदलाको भावना जन्मिन सक्ने खतरा छ, जसले समाज फेरि द्वन्द्व र हिंसातर्फ धकेल्न सक्छ ।
त्यसदिनकै घटनाले करिब १० हजार कैदीबन्दी जेलबाट भागेका छन्, जसमा बलात्कार, हत्या, मानव बेचविखन र देशद्रोहजस्ता गम्भीर अपराधमा संलग्नहरू पनि छन् । ती व्यक्तिहरू अझै समाजमै घुमिरहेका छन्, जसले कानूनी व्यवस्था र शान्ति सुरक्षामा ठूलो चुनौती सिर्जना गरेको छ ।
आर्थिक दृष्टिले पनि देशले ठूलो धक्का व्यहोरेको छ । प्रारम्भिक अनुमानअनुसार सार्वजनिक र निजी सम्पत्तिमा कम्तीमा १०० खर्ब रुपैयाँको क्षति पुगेको अनुमान छ । यस्तो अवस्थामा राज्यको स्रोत र ऊर्जा भौतिक पुनर्निर्माणमै केन्द्रित हुन पुग्नेछ, जसले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक विकासजस्ता क्षेत्रमा लगानी घटाउनेछ ।
नेपालका ठूला संरचना निर्माणका सामग्री र स्रोत प्रायः विदेशबाट आयात हुने भएकाले देशको पूँजी बाहिर जानेछ, जसले आन्तरिक व्यापार कमजोर पार्नेछ । परिणामस्वरूप आर्थिक वृद्धिदर घट्ने, बेरोजगारी बढ्ने र महङ्गी चुलिने निश्चित छ । युवाहरू अझ ठूलो सङ्ख्यामा रोजगारीको खोजीमा विदेशिने खतरा पनि देखिन्छ ।
त्यससँगै, गिट्टी, बालुवा, ढुङ्गा र काठजस्ता सामग्रीहरूको अत्यधिक दोहनले वातावरणीय असन्तुलन निम्त्याउनेछ, जुन दीर्घकालीन रूपमा हाम्रो प्रकृति र समाज दुवैका लागि हानिकारक हुनेछ ।
राजनीतिक आन्दोलनहरू देश परिवर्तनका माध्यम हुन्, तर हिंसाले कहिल्यै पनि स्थायित्व ल्याउन सक्दैन । अहिलेको चुनौती समाजमा विश्वास पुनःस्थापना गर्नु, कानूनी शासन बलियो बनाउनु र आर्थिक पुनर्जीवनका लागि सन्तुलित दृष्टिकोण अपनाउनु हो ।
तपाईंको जीवनयात्रा रोचक मोडबाट गुज्रिएको छ । कलाक्षेत्रको उज्यालो पर्दाबाट राजनीतिक तथा सामाजिक सेवाको मैदानसम्म आइपुग्नुभयो । त्यस यात्राको प्रेरणा के थियो ? र चलचित्र उद्योगबाट सामाजिक सेवाको यात्रातर्फ मोडिन तपाईंलाई कसले, कसरी प्रेरित ग¥यो ?
म पहिलोपटक टेलिभिजनका पर्दाबाट जनताको घरमा पुग्ने अवसर पाएँ । प्रस्तोता र मोडलको रूपमा काम गर्दै म सिनेमा र सञ्चारको माध्यमबाट चिनिन थालेँ । त्यसपछि ‘चपली हाईट’, ‘भिजिलान्ते’ चलचित्रमा नायकको रूपमा अभिनय गर्ने मौका मिल्यो । त्यो स्थानसम्म पुग्नका लागि मैले गरिबी, अभाव र तिरस्कारका थुप्रा रातहरू पार गरेको थिएँ । त्यो यात्रा मेरो जीवनको कठिन तर प्रेरणादायी अध्याय थियो ।
तर, जब म माथि पुग्दै थिएँ, मभन्दा अझ कठिन परिस्थितिमा बाँचिरहेका मानिसहरूको अनुहार देखेँ । उनीहरूमा आफ्नै बिगत झल्किन्थ्यो । त्यतिबेलै मनमा लाग्यो—“म केवल पर्दामा मात्र होइन, उनीहरूको जीवनमा पनि उज्यालो ल्याउन सक्छु ।” सानो सहयोगबाट सुरु भएको त्यो यात्राले मलाई राजनीतिक र सामाजिक सेवाको बाटोतर्फ डो¥यायो ।
दीर्घकालीन परिवर्तनका लागि राजनीति नै मुख्य माध्यम हो भनेर मैले बुझे । त्यसैले म सिधा जनतामाझ पुग्ने जिम्मेवारी लिन वडा अध्यक्षको निर्वाचनमा उम्मेदवार बनेँ । सङ्घीय वा प्रदेश तहको चुनाव लड्न सक्थेँ, तर मेरो मन आफ्नो समुदाय र गाउँसँगै जोडिएको थियो । त्यसैले म वडाको नेतृत्वका रूपमा जनताको जनमतबाट निर्वाचित भएँ ।
सिनेमा क्षेत्रमा पाइला चाल्दा भोग्नुपरेका चुनौती र कठिनाइले तपाईंको व्यक्तित्व र निर्णयमा कस्तो प्रभाव पारेको थियो ?
म गरिब परिवारमा हुर्किएँ र समाजमा गरिबको हैसियत न्यून हुने अनुभव गरेँ । हैसियत बनाउनका लागि सामाजिक सोच परिवर्तन गर्नु पर्छ भन्ने बुझे । मैले दिनरात मेहनत गरें । सानो वा ठूलो काम नभनी मेहनेत गरे किनभने मँसग मेहनतको विकल्प पनि थिएन ।
टेलिभिजनको नयाँ युगमा पर्दामा देखिएर समाजसँग सम्वाद गर्न सकिन्छ भन्ने थाहा पाएँ । त्यसभन्दा अघि सिनेमा क्षेत्रमा पाइला राखें । यात्रा सहज थिएन, तर पार गर्नैपर्ने बाध्यता थियो । पर्दामै देखिए पनि वास्तविक शक्ति र निर्णय राजनीतिक क्षेत्रमा रहेछ भन्ने बुझेपछि राजनीतितर्फ अघि बढ्नुपर्छ भन्ने सोच विकसित भयो ।
मेरो यात्रा गरिबीबाट सिनेमा, टेलिभिजन र अन्ततः राजनीति हुँदै समाजमा प्रभाव पार्ने दिशामा अघि बढ्ने यात्राको निरन्तर प्रयास हो ।
तपाईंको बाल्यकालका अनुभवहरूले तपाईंको सोच, मूल्य र दृष्टिकोणमा कस्तो प्रभाव पारे ? र के ती अनुभवहरूले तपाईंलाई सामाजिक सेवाको मार्गतर्फ डोर्यायो ?
मेरो बाल्यकाल निकै सङ्घर्षपूर्ण रह्यो । मेरो पुरानो घर काभ्रेको बनेपा थियो भने ललितपुर मेरो मामा घर हो । सानै छँदा मैले बुबालाई मध्यपानको लत देखेँ । मद्यपान सेवनलेले भित्रभित्रै बुबालाई खाएको थियो । धोध्रिएको घरको मियोलाई जीवनको न्यूनतम आवश्यकता पूरा गर्न पनि कठिनाइ थियो । त्यसैले हाम्रो परिवार मामाघर शरणार्थीझैँ पुग्यो ।
मामाघरमा हजुरआमाले मेहनत गरेर छ जना परिवार धान्नुभएको थियो, तर खानपिनमा अभाव रहिरह्यो । आर्थिक अभावका कारण बुबाको उपचार सम्भव भएन र उहाँ बित्नुभयो । कक्षा १२ मा हुँदा १८ सय शुल्क तिर्न नसकेर दिनको १५० रुपैयाँमा खेत खन्ने र दाउरा चिर्ने काम गरेको अनुभव आज पनि मेरो मानसपटलमा ताजै छ । यद्यपि ती समस्याका बाबाजुत मैले कक्षा १२ टप गरेँ, तर पारिवारिक जिम्मेवारीले मलाई अघि पढ्न मौका दिएन ।
मैले सुखको स्वाद नचाखेको भए पनि, म जस्ता धेरैको दुःख देखेर हुर्किएँ । त्यसैले उनीहरूको जीवन सहज बनाउन कुनै पनि अवसरमा भूमिका खेल्नुपर्छ भन्ने चाहना सधैं मनमा थियो । जीवनका कठिनाइ र सङ्घर्षहरूले मलाई दृढ, समझदार र परिपक्व बनायो । भनिन्छ— मानिस या त पढेर बुझ्छ वा परेर । म परेर बुझेको मान्छे हुँ । दुःख र त्यससँग लडेर सिकेका पाठहरूले मलाई राजनीतिमा आएर समाजसेवामा लाग्ने प्रेरणा दियो ।
वडा अध्यक्षको रूपमा काम गर्दा तपाईंले अनुभव गर्नुभएको स्थानीय तहको प्रशासनिक प्रक्रिया कस्तो छ ? वडाको स्तरमा जनताको समस्या समाधान गर्ने चुनौती र अवसरहरू के–के छन् ?
मेरो वडामा राजनीतिक रूपमा प्रतिस्पर्धा निकै गहिरो छ । नेकपा (एमाले) का वागमती प्रदेश सचिव तथा पूर्व सङ्घीय सांसद नवराज सिलवाल, गोदावरी नगरपालिकाका उपप्रमुखका पाँच प्रत्यासी यहि वडाक थिए । उहाँहरूमध्ये धेरैले जित्ने दावी राखेका थिए । त्यहाँ माओवादीको जनाधार कमजोर थियो । तर म निर्वाचित हुन सकें भनेको मेरो विगतमा जनताको सेवामा गरेको निरन्तर प्रयासको परिणाम हो ।
म विश्वास गर्छु, जब तपाईं मनदेखि जनताको सेवा गर्नुहुन्छ, जनताले तपाईंलाई समर्थन गर्छन् । तपाईंको व्यवहार र उनीहरूको अपेक्षा मेल खाँदा विश्वास र मत स्वतः आउँछ । म त दुःखको पहाड चढेर आएको मान्छे हुँ, गरीब परिवारमा जन्मेँ, त्यसैले त्यहाँको जीवन बुझ्छु । म जनतासँग शासकका रूपमा होइन, परिवारका सदस्यका रूपमा व्यवहार गर्छु । यही मेरो सफलताको मुख्य आधार हो ।
आज पनि म १२५ जना अशक्तलाई औषधि वितरण गर्छु, सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गर्छु, विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गर्छु । यही मेरो काम हो, यही मेरो कर्तव्य हो । मैले राजनीतिमा सिमान्त र गरिबहरूको पक्षमा काम गर्नैका लागि प्रवेश गरेको हुँ । मेरो वडाको २० करोड रुपैयाँको बजेटमा पनि एक पैसा व्यर्थ खर्च हुन दिँदिनँ ।
अन्त्यमा सिटीपोष्ट दैनिक मार्फत गोदावरीवासीलाई केही भन्नु छ ?
गोदावरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्छ । यसले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बढाउनेछ । गोदावरीमा होमस्टेका साथै आधुनिक होटल खोल्ने क्रम बढेको छ । हामीले पर्यटन प्रवर्धनका लागि धेरै कामहरू गरेका छौं । गोदावरीको होमस्टेलाई सुदृढ गर्नको लागि यस वडामा भएका जनजाति धर्म संसकृति, रीतिरिवाज अनुरुप झल्किने खानपिन बसोबास आदिलाई पहिचान दिलाउने गरी साास्कृतिक कार्यक्रम, प्रदर्शन, तालिमको व्यवस्था समेत गरेका छौं । यो क्रम निरन्तर रूपमा बढ्नेछ । यसले गोदवारीबासीलाई पर्यटन व्यवसायी बनाउन मद्दत गर्नेछ भनेर विश्वास लिएका छौं ।
गोदावरी–३ लाई म केवल नमुना वडामात्र बनाउने छैन्, देशकै उत्कृष्ट वडा बनाउने लक्ष्यका साथ काम गरिरहेको छु । मैले निर्वाचित भएदेखि मेरो चुनावी प्रतिबद्धता अनुसार भएर काम गरेको छु । सबै निर्णय र कार्यक्रम जनताको आवश्यकता, पारदर्शिता र समुदायको सहभागितामा आधारित छन् । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार विकास र वातावरणीय संरक्षणमा केन्द्रित कार्यक्रमहरू कार्यान्वयन गर्दै, हामीले सिमान्तकृत र विपन्न वर्गसम्म पनि सेवा पु¥याइरहेका छौं ।
जब वडाका प्रत्येक नागरिकलाई आफ्नो अधिकार, सहयोग र अवसर उपलब्ध हुन्छ, तब मात्र वडाको समग्र विकास सम्भव छ । म आफ्नो अनुभव, प्रतिबद्धता र जनताको विश्वासमा आधारित भएर, अविचलित रहँदै, गोदावरीलाई देशकै उदाहरणीय र उत्कृष्ट वडा बनाउने यात्रामा निरन्तर अघि बढिरहन्छु ।
प्रतिक्रिया दिनुहोस्