पाकिस्तान र अफगानिस्तान बीच तेस्रो चरणको वार्ता इस्तानबुलमा हुने

इस्लामाबाद(पाकिस्तान), २०कात्तिक (रासस÷एएनआई) । पाकिस्तानले सीमापार आतङ्कवाद अन्त्य गरी युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यले तेस्रो चरणमा बिहिबार इस्तानबुलमा अफगान तालिबान प्रतिनिधिहरूसँग पुनः वार्ता सुरु गर्ने तयारी गरेको जनाइएको छ ।

अक्टोबर ११ –१५ सम्म भएको झडप पछि पाकिस्तान र अफगान तालिबानका प्रतिनिधिहरूले दुई चरणको वार्ता यस अघिनै दोहा र इस्तानबुलमा गरिसकेको डन पत्रिकाले जनाएको छ ।
तेस्रो चरणको लागि टर्की र कतारको संयुक्त मध्यस्थतामा दुवै पक्षको प्रतिनिधिमण्डल बुधबार इस्तानबुल आइपुगेको छ भने वार्ता दुई दिनसम्म जारी रहने बताइएको छ ।
सेना, गुप्तचर निकाय र विदेश विभागका वरिष्ठ अधिकारीहरू सहितको पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व इन्टर–सर्भिस इन्टेलिजेन्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल असीम मलिकले गरेको जनाइएको छ । अफगान प्रतिनिधिमण्डलमा जनरल डाइरेक्टोरेट अफ इन्टेलिजेन्स प्रमुख अब्दुल हक वासेक, तालिबानका प्रवक्ता सुहेल शाहिन, लगायतका प्रतिनिधिहरु सहभागी भएको जनाइएको छ ।

अन्तिम चरणको वार्तापछि टर्कीको विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा “सबै पक्षहरू युद्धविराम जारी राख्न सहमत भएको उल्लेख छ । गत अक्टोबर ११ मा भएको झडपले दुई छिमेकी बीचको सम्बन्ध चिस्सिय पछि पाकिस्तान र अफगान तालिबानबीचको वार्ता लामो समय सम्म कूटनीति पछ्याउँदै चलिरहेको जनाइएको छ । अक्टोबर १५ को युद्धविराममा सहमति भए पछि अन्ततः दुई पक्ष दोहामा वार्ताका लागि आएका थिए । दोहा वार्ता पछि, सीमा विवाद रोक्न अस्थायी युद्धविरामका लागि दुई पक्षले स्थायी शान्ति र स्थिरताका लागि इस्तानबुलमा पुनः वार्ता गर्न प्रतिबद्ध भए ।

दुई पक्षबिच दोस्रो चरणको वार्ता अक्टोबर २५ मा टर्कीमा भएको थियो । यद्यपि, सूचना मन्त्री अत्ताउल्लाह तरारले अक्टोबर २९ मा एक्समा गरेको पोस्टमा वार्ताले “कुनै व्यावहारिक समाधान ल्याउन असफल भएको जनाउनु भएको छ । यद्देपी मध्यस्थकर्ताहरुले निरन्तरको प्रयास स्वरुप वार्ता प्रक्रियालाई बचाउन सफल भएको, टर्कीले अक्टोबर–३१ मा जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यसै गरी नोभेम्बर–छ मा इस्तानबुलमा हुने प्रमुख–स्तरको बैठकमा युद्धविराम “कार्यान्वयनको थप तरिकाहरूको छलफल र निर्णय गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्