काठमाडौं, १६ कात्तिक । फिल्म ‘हर्ष’ मंसिर १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार फिल्म ‘हर्ष’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको नयाँ पोस्टरमा सिनेमाका तीन मुख्य पात्र खगेन्द्र लामिछाने, वर्षा राउत र बालकलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ ।
यो पोस्टरले फिल्म पूर्ण रुपमा पारिवारिक कथामा निर्माण भएको झल्को दिन्छ । खगेन्द्र र वर्षा छोरासँग खुशी भावमा छन् । जसले सन्तानप्रति अविभावको लगाव त्यसले दिने आनन्दायी क्षणलाई फिल्मको मुल कथाको रुपमा प्रस्तुत गरिएको आभाष पोस्टरले गराएको छ ।
यो फिल्मलाई डेव्यु निर्देशक एकता पौडेलले निर्देशन गरेकी हुन् । उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा फिल्म समेत निर्माण गरेकी छन् । उनले दर्शकलाई ‘हर्ष’ उत्कृष्ट फिल्म को रुपमा पस्किने बताउँदै आइरहेकी छन् ।
फिल्ममा खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी फिल्ममा छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्म को कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको फिल्मका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।
काफिया फिल्मस् र डिसिएनले वितरण गर्ने सिनेमाको डिजिटल पार्टनरमा बुढासुब्बा डिजिटल छ । यो फिल्मको कात्तिक १८ गते ट्रेलर सार्वजनिक हुनेछ । ट्रेलर सार्वजनिक भएसँगै आक्रामक प्रचारमा लाग्ने तयारी निर्माण टिमको छ ।
प्रतिक्रिया दिनुहोस्