काठमाडौँ, १६ कात्तिक । हरि खड्का राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रवार खड्कालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा गरेको ६ बर्षपछि खड्का राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन ।
म्याट रसले राजीनामा दिएपछि राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो । नेपाली टोलीले कात्तिक २७ गते बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण र मंसिर २ गते मलेसियासँग एएफसी एसियन कप छनोटको खेल्नु पर्ने भएकाले तत्कालका लागि नियुक्त गरेको हो ।
एन्फाको टेक्निकल डाइरेक्टर समेत खड्कालाई एन्फा महासचिव किरण राईले मुख्य प्रशिक्षकको नियुक्त पत्र प्रदान गरे । खड्काले अहिले तत्काल प्रशिक्षक नियुक्त गर्ने समय नभएको कारण जिम्मेवारी लिनुपर्ने अवस्था बनेको बताए ।
‘परिस्थितिले जिम्मेवारी लिनुपर्ने अवस्था बन्यो । संकट पर्दा टेक्निकल डाइरेक्टर मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने विश्व फुटबल छ, ‘ खडकाले भने,’ यो मेरो लागि जति चुनौती हो त्यतिकै अवसर पनि हो । त्यसैले व्यक्तिगत चाहना भन्दा पनि परिस्थिति आएको जिम्मेवारीलाई स्वीकार गरेको हुँ।’
खड्काले राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्तको लागि प्रक्रिया पनि सुरु गरि हाल्ने खड्काले जानकारी दिए । मैले सम्हाले भनेको अर्को व्यवस्था नभएसम्मको लागि हो, उनले भने,’ हामी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक को नियुक्तिको प्रक्रिया पनि अघि बढाउँछौं।’
एक दशकअघि प्याट्रिक अजम्स राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षक रहँदा खड्का सहायक प्रशिक्षक थिए । सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला राष्ट्रिय टोली फाइनलमा पराजित भएपछिखड्काले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
पोखरामा भएको फाइनलमा भारतसँग २–० ले पराजित भएलगत्तै खड्काले राजिनाको घोषणा गरेका थिए । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका खड्काले हारको सबै जिम्मेवारी आफूले लिदै राजीनामा दिएको बताएका थिए । उनको नेतृत्वमा नेपाली महिला टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उप विजेता बनेको थियो ।
उनको प्रशिक्षणमा महिला टोलीले भारतमा हिरो कप, उज्वेकिस्तानमा नाजेज्दा को, विराटनगरमा साफ च्याम्पियनसिप र पोखरामा सागको फाइनल खेलेको थियो। खड्काको प्रशिक्षणमा महिला टोलीले ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्