आइसिसी क्रिकेट लिगमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ, १६ कात्तिक । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा अन्तर्गत भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो ।

त्रिकोणात्मक सिरिजमा‌ नेपालले लगातार तेस्रो हार बेहोरेको छ । प्रतिस्पर्धात्मक लक्ष्य दिएपनि बलरहरु अमेरिकाको बलियो ब्याटिङ सामू निष्प्रभावी रहे ।

जितका लागि नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा छ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।
साइतेजा मुकमल्ला र मिलन्द कुमारले चौथो विकेटका लागि १ सय २३ रनको साझेदारी गर्दै अमेरिकाका लागि जितको बलियो आधार तयार पारेका थिए । साइतेजाले ७५ र मिलन्दले ७० रनको इनिङ खेलेका थिए ।

अन्तिम दुई ओभरमा अमेरिकालाई जितका लागि १६ रनको आवश्यकता थियो । ४९ औं ओभरमा नन्दनले २ छक्का र २ वाइडसहित १७ रन खर्चेपछि नेपाल पराजित भएको थियो।

आजको खेलमा नेपालको फिल्डिङ पनि कमजोर रह्यो । सन्दीप लामिछानेको बलमा गुलशन झा र दीपेन्द्र सिंह ऐरीले क्याच छोड्नु नेपालका लागि महंगो सावित भयो । हर्मित सिंह १३ र शुभम रन्जने १९ रनमा अविजित रहे ।

नेपालका लागि सन्दीपले ३, करण केसी, नन्दन र गुलशन ले समान १ विकेट लिए । त्यसअघि नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ७१ रन जोड्यो ।

दुबईस्थित आइसिसी एकडेमीको मैदानमा अमेरिकाले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएपछि नेपाल ब्याटिङमा उत्रिएको थियो । नेपालका लागि मध्यक्रममा दीपेन्द्रसिंह ऐरीले ७५ रनको आक्रामक इनिङ खेल्दै नेपाललाई राम्रो स्कोरसम्म पुर्याएका थिए । ४६ औं ओभरमा आउट हुनुअघि उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर कुशल भुर्तेल (४७), भीम सार्की (४३) र रोहित पौडेल (३६) ले राम्रो सुरुवात पाएपनि त्यसलाई ठुलो स्कोरमा बदल्न सकेनन् । करण ले तल्लोक्रममा आक्रामक इनिङ खेलेपछि नेपालले २ सय ५० को आँकडा पार गरेको थियो । उनी अर्धशतकबाट १ रनले चुके ।

त्यसअघि नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएर खराब सुरुवात पाएको थियो । आसिफ पहिलो बलमा २ रन कुदेपछि दोस्रो बलमा नोस्थस केंजिगेबाट बोल्ड भए ।

त्यसपछि कुशल र भीमले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे । २० औं ओभरमा कुशल ठूलो सट खेल्ने धुनमा हर्मित सिंहको बलमा क्याच आउट भएपछि साझेदारी तोडिएको थियो । उनले ६५ बलमा २ चौका र २ छक्कासहित ४७ रन बनाए ।

त्यसको २ ओभरपछि नै भीम पनि हर्मितकै शिकार बने । ५८ बलमा ४ चौकासहित ४३ रनमा खेल्दा उनी बोल्ड हुन पुगेका थिए । आरिफ शेख पनि लामो समय क्रिजमा रहन सकेनन् । ८ बलमा २ रन जोड्दै उनी सौरभ नेत्रभलकरको बलमा क्याच आउट भए । उनी आउट हुँदा टिम १०६–४ को स्थितिमा पुग्यो ।

पाँचौ विकेटका लागि दीपेन्द्र र रोहितले ८९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा ल्याए । ३५ रन जोडेका रोहितले ३८ औं ओभरमा हर्मितको बलमा क्याच हुनुअघि ४६ बल खेल्दै २ चौका प्रहार गरे । गुलशन ११ बलमा ५ रन जोड्दै जस्दिप सिंहको बलमा क्याच आउट भए ।

तल्लोक्रममा करणले आक्रामक ब्याटिङ गरे । उनले ४९ औं ओभरमा आउट हुनुअघि ३१ बलमा ४९ रन जोडे । करणले २ चौका र ३ छक्का प्रहार गरे । अन्तिम बलमा जस्दिपले वाइड फ्याँक्दा सिंगल लिने सुरमा ललित रनआउट हुँदा नेपाल १ बल बाकी रहँदा अलआउट भएको थियो ।

अमेरिकाका लागि हर्मितले ३ विकेट लिँदा नोस्थस केन्जिगे र सौरभ नेत्रभलकरले २–२ विकेट हात पारे । शुभम रन्जने र जस्दिप सिंहले १–१ विकेट लिए ।अमेरिका जारी सिरिजको लगातार ३ खेलमा विजयी भयो । अंक तालिकामा नेपाल (१२) सातौं तथा अमेरिका (३४ अंक) शीर्ष स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्