काठमाडौं, १६ कात्तिक । माओवादी केन्द्रसंग सात वटा कम्युनिष्ट पार्टीले एकता गर्ने तयारी भैरहेको माओवादी केन्द्रका प्रवक्ता एवं नेता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
एकताको विषयमा छलफल गर्न शनिबार माओवादी केन्द्रको पार्टीको सचिवालय बैठक नै राखेको थियो । बैठकपछि सापकोटाले एकताबारे नै छलफल भएको बताउनुभएको हो ।
प्रवक्ता सापकोटाका अनुसार, एकता गर्ने गरी टुंगो लागेका पार्टीको संख्या सात पुगेको छ । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीमा विद्रोह गरेर बनेको महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।
यसका अलावा नेकपा एमालेमा विद्रोह गरेर बनेको प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी र विप्लवको पार्टीमा विद्रोह भएर बनेको चिरण सी नेतृत्वको समूह एकता प्रक्रियामा सहभागी हुने टुंगो लागेको हो ।
‘वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत कुराहरू करिब–करिब कुरा फाइनल भइसकेको छ । आज प्रावधिक र सांगठनिक कुरामा छलफल भएको छ,’ सापकोटाले भन्नुभयो ।
नेताहरूका अनुसार, एकतापछि बन्ने पार्टीको नेतृत्वमा प्रचण्ड रहनेछन् । तत्काललाई प्रचण्डलाई संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक तोकेर जानेगरी छलफल चलिरहेको छ ।
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । भोलिपल्टै माओवादीको सचिवालय बैठक बसेको हो । एकताको निर्णय अनुमोदनका लागि माओवादले यही कात्तिक १७ गते केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ ।
सचिवालय बैठकपछि प्रचण्डले एकता प्रक्रियामा रहेका दलहरूको एकता सभा एक साताभित्रै भइसक्ने बताउनु भएको छ । उहाँका अनुसार एकता प्रक्रियामा रहेका दलहरूभित्र फरकमत राख्नेसँग समेत छलफल चलिरहेको छ ।
सबै एकताबद्ध भएर एकतामा जाँदै गरेको उहाँले बताउनु भयो ।
यसैगरी, नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक प्रचण्डले एकीकृत समाजवादीसँगको एकता प्रक्रिया ठिक ढंगले अगाडि बढेको बताउनु भएको छ ।
नेता जनार्दन शर्मासमेत केन्द्रीय समितिको बैठकसम्म सहमत भएर अगाडि बढ्ने उहाँको विश्वास छ । शनिबार माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेता शर्मा आफ्ना कुरा राखेर बाहिरिनु भएको छ ।
शर्माले एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि रोक्न समेत माग राख्नुभएको छ । बैठकपछि प्रचण्डलाई पत्रकारहरूले ‘पार्टीमा पहिरो जाने हो कि भन्ने देखियो नि ?’ भनि प्रश्न गरेका थिए । प्रचण्डले जवाफ दिए, ‘केही जाँदैन ।
सबै एकजुट भएको छ हाम्रो पार्टी । केन्द्रीय समितिको बैठकसम्म जनार्दन पनि एक हुनुपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ ।’ शनिबारको बैठकमा जनार्दनले आफ्नो कुरा राखेको र अरुको कुरा नसुनेको प्रचण्डले बताउनु भयो ।‘ बैठक राम्रो सुरु भएको थियो ।
उहाँले विषय राख्नुभयो । ल बस्नु सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । त्यो शैली उहाँको नराम्रो हो । त्यो कसैलाई मन पर्ने शैली होइन । बसेर छलफल पो गर्ने हो त,’ प्रचण्डले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्