 
                        
काठमाडौं, १४ कात्तिक । म्याट रसले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदबाट राजीनामा दिएका छन । गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो । तर रसले करिब आठ महिनामै राजीनामा दिएका छन ।
बिहीबार म्याट रसले राजीनामा दिएपछि मलेसियाविरुद्ध हुने एएफसी एसियन कप छनोटको खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली प्रशिक्षकलाई राष्ट्रिय पुरुष फुटबल टोलीको जिम्मेवारी दिने भएको छ ।
म्याट रसले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदबाट राजीनामा दिएपछि छनोटमा मलेसियाविरुद्ध नेपालीलाई प्रशिक्षकको जिम्मेवारी एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ ) इन्द्रमान तुलाधरले जानकारी दिए ।
एएफसीको प्रतियोगितामा राष्ट्रिय टोलीको प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुनुपर्छ। तर एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) लाई पत्र पठाएर मलेसियाविरुद्धको खेलका लागि विना प्रो प्रशिक्षक नियुक्तको छुटको माग गरेको पनि बताए ।
तुलाधरले एएफसीको स्वीकृत पछि एक पटकको लागि नेपाली प्रशिक्षकलाई नै जिम्मेवारी दिइने र शुक्रबार प्रशिक्षकको घोषणा गर्ने पनि जनाए ।
आइतबारदेखि नै नेपाली टोलीको प्रशिक्षण सुरु गर्ने भएकोले शुक्रबार नै प्रशिक्षक चयन गरिने उनले जानकारी दिए । नेपाल र मलेसियाको खेल मंसिर २ गते मलेसियामा हुनेछ । त्यसअघि नेपाल र घरेलु टोली बंगलादेशबीच कात्तिक २७ गते मैत्रीपूर्ण खेल हुने एन्फाले सार्वजनिक गरिसकेको छ ।
मलेसियापछि लाओससँगको खेलको लागि भने प्रो लाइसेन्स प्रशिक्षक नियुक्त गरिसक्ने पनि तुलाधरले जानकारी दिए । प्रशिक्षक म्याट रसले केहि दिन अगाडि फोन मार्फत पदबाट राजीनामा दिएको तुलाधरले बताए ।
‘रसले केही दिन अघि नेपाल छोडिसक्नु भएको छ । राष्ट्रिय टोलीलाई नतिजा दिलाउन नसकेकै कारण उहाँले निरन्तरता दिन चाहानुभएन, सिइओ तुलाधरले भने, ‘उहाँको केही व्यक्तिगत कारण पनि थिए । त्यसलाई सार्वजनिक गर्न मिल्दैन ।’
रसले ८ महिना मुख्य प्रशिक्षक रहँदा नेपाली टोलीले ७ खेल खेलेको थियो । जसमा नेपालले मात्र १ खेल जित्दा २ मा बराबरी र ४ खेलमा हार बेहोरेको थियो । भियतनामविरुद्ध पछिल्लो खेलमा रस दुई पहेंलो कार्डको निलम्बनका कारण टचलाइनमा पनि थिएनन् ।
रसले सम्हालेपछिको पहिलो खेलमा नै नेपालले सिंगापुरलाई १–० ले हराएको थियो । त्यो नै उनको लागि उत्कृष्ट नतिजा रहयो । नेपालले हङकङ र बंगलादेशसँग गोलरहित बराबरी खेल्यो । नेपालले मलेसिया र लाओससँग १–१ र भियतनामसँग २ खेलमा हार बेहोर्यो ।
प्रतिक्रिया दिनुहोस्