काठमाडौँ, १२ कात्तिक । डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा डा. न्यौपानेको नेतृत्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको हो ।
आम नागरिकको व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्ने पार्टीको मुख्य लक्ष्य रहेको सभापति डा. न्यौपानेले बताउनुभयो । “नेपाली जनतालाई सदाका लागि गरिबी, भय–त्रास बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन, कानुनी शासन बहाल गर्न, सुशासनमार्फत जनताको दैनिकी सजिलो पार्न र आर्थिक उदारवादमार्फत आर्थिक समृद्धि हासिल गर्न यो पार्टी गठन गरिएको हो”, उहाँले भन्नुभयो ।
पार्टीले उदारवादी अर्थव्यवस्था, कर–कटौती, खुलापन, पारस्परिक सम्मान, उत्तरदायी प्रशासन, बजार विनियमन, आधुनिकीकरण, औद्योगिकीकरण, शहरीकरण, नैतिक राजनीति र विश्वव्यापीकरणको व्यावहारिक प्रयोगको नीति रहेको सो पार्टीका महासचिव डा. सुशील पौडेलले बताउनुभयो । “हाम्रो पार्टीको एउटै एजेन्डाः आर्थिक उन्नति हो”, उहाँले भन्नुभयो ।
यसैगरी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’ले निर्वाचन आयोगमा मंगलबार दल दर्ताका लागि निवेदन दिएको छ । आयोगको कार्यालय, बहादुर भवनमा पुगेर सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितले दल दर्ताको निवेदन दिनुभएको हो ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले निर्वाचनमा गएर दलहरूको समर्थन लिने लोकतान्त्रिक अभ्यासमा लागेकामा सो दलका नेता–कार्यकर्तालाई धन्यवाद दिनुभयो ।
आयुक्त भण्डारीले विशेष परिस्थितिमा आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनलाई सफल तुल्याउन राजनीतिक दल र सम्बद्ध पक्षसँगको परामर्शमा आयोगले काम गर्ने विश्वास दिलाउनुभयो । नेता विश्वकर्माले लोकतान्त्रिक आन्दोलनलाई पुनः सङ्गठित गर्दै मुलुकका विभिन्न कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यका लागि वार्ता भइरहेको बताउनुभयो ।
उहाँले समाजवाद स्थापनाका लागि सिद्धान्तनिष्ठ सच्चा कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वको प्रश्नमा आफूहरू केन्द्रित रहेको पनि जानकारी दिनुभयो । विसं २०७७ फागुन २० गते सरकारसँगको सहमतिपछि विप्लव समूह तत्कालीन अर्धभूमिगत अवस्थाबाट मूलधारको राजनीतिमा आएको थियो ।
यसैगरी, अहिलेसम्म निर्वाचन आयोगमा १२२ दल दर्ता भएका छन र अझै १५ वटा नयाँ आवेदनहरू परेका छन । निर्वाचन आयोगले नयाँ दलहरूलाई दर्ता गर्ने अन्तिम मिति समेत जारी गरेको छ । अझै आयोगमा नयाँ दलकोलागि आवेदन दिने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्