फिल्म ‘वरिष्ठ बलराम’को गीत दर्शकमाझ लोकप्रिय

 

काठमाडौं, ३१ असोज । फिल्म ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली वनैमा’ छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेको छ । दुई सातामा युट्युबमा ५७ लाख बढीले हेरिसकेको यो गीतमा २ लाख ३५ हजारभन्दा बढी टिकटक बनेका छन् । युट्युबमा गीतले पाएको भ्यूजमा टिकटकको ठूलो योगदान देखिन्छ ।

धेरै प्रयोगकर्ताले टिकटकमा गीत सुनेपछि युट्युबमा खोजी–खोजी हेरेको प्रतिक्रिया दिएका छन् । यसले पनि टिकटकमा गीत कुन रूपमा भाइरल भएको छ भन्ने देखाउँछ ।

पछिल्लो समय नेपाली फिल्मका गीतहरू अपेक्षित रूपमा नचलिरहेका बेला नयाँ फिल्म ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली वनैमा’ छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेको हो ।

दुई हप्ताअघि सार्वजनिक गरिएको यो गीत यतिबेला सामाजिक सञ्जालमा एकछत्र छाएको छ । गीतमा हजारौं टिकटक बनिसकेका छन् भने युट्युबमा पनि भ्यूज दिनप्रतिदिन बढ्दै गएको छ ।

गीतलाई दर्शकहरूबाट प्रशंसाको पनि ओइरो लागेको छ । कतिपयले यो गीतमा ‘लत बसेको’ बताएका छन् भने केहीले यसलाई ‘रुकुम मैकोट’ जतिक्कै उत्कृष्ट र मौलिक गीत भनेका छन् ।

प्रशान्त शिवाकोटीको र शान्तिश्री परियारको स्वरमा रहेको यो गीत लोकप्रिय हुँदा फिल्मप्रति नै दर्शकको चासो बढेको छ । यसले फिल्मको व्यापारमा फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

गीतको सफलतासँगै फिल्मको ट्रेलरलाई पनि सकारात्मक प्रतिक्रिया मिलेको छ । दयाहाङ राई र विजय बरालबीचको टकरावलाई दर्शकले विशेष रूचाएका छन् ।

कतिले फिल्ममा मुख्य पात्र छुट्याउनै गाह्रो भएको बताएका छन् भने केहीले कथामा नयाँपन महसुस भएको धारणा व्यक्त गरेका छन् । समग्रमा ट्रेलरले दर्शकलाई आकर्षित गरेको देखिन्छ ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी लगायतको अभिनय रहेको छ ।

निर्देशक पौडेल स्वयंको कथा तथा सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । आगामी कात्तिक ६ गतेबाट प्रदर्शन हुने यो फिल्मका निर्माताहरू आशिष तामाङ र श्रीराज कार्की हुन् ।

प्रतिक्रिया दिनुहोस्