राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई उपचारमा विशेष छुट

काठमाडौं, ३१ असोज । नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर अस्पताल बाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने भएकाछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नाम्सबीच खेलाडी र प्रशिक्षकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यले बिहीवार सहकार्य भएको छ । राखेपमा एक कार्यक्रमकाबीच राखेप र नाम्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकहरूलाई आवश्यकता अनुरूप विशेष सेवा दिन सम्झौता गरेका छन् ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र नाम्सका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतबीच सहकार्यको सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
खेलाडी र प्रशिक्षकको सहजताका लागि सम्पर्क अधिकृत तोकेर यो सुविधा दिन लागिएको बताइएको छ ।

यो सम्झौता पाँच वर्षको हुने र पछि सहमतिमा नवीकरण हुने सक्ने गरी अगाडि बढाइएको राखेपले जनाएको छ । ११ वटा सर्तहरूसहित सहकार्य भएको छ । नाम्सले खेलकुदमा नै काम गर्ने प्राविधिकसँगै कर्मचारीलाई पनि यो सुविधा उपलब्ध गराउनेछ । उनीहरूले विशेष ग्राह्यताका साथ दक्ष चिकित्सकको निगरानीमा स्वास्थ्य सेवा पाउने भएका छन् ।

खेलाडीले उपचारका क्रममा प्रयोगशालाबाट दिने सुविधामा विभिन्न चरणमा सहुलियत पाउनेछन् । ल्याब टेस्ट, ओपिडी, एक्सरे, भिडियो एक्सरे, अपरेसन, एमआरआई, सिटी स्क्यान र विराम भर्नालगायत सबै प्रकारका सेवाहरूमा अस्पतालको मूल्य सूचीबाट खेलाडीहरूले छुटसमेत प्राप्त गर्ने सम्झौतामा रहेको बताइएको छ । अस्पतालका सबैखाले सेवामा ओलम्पियनले सबैभन्दा धेरै ८० प्रतिशत छुट पाउनेछन् ।

त्यस्तै एसियाली र दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गर्ने तथा राष्ट्रिय टिमका खेलाडीले ६० प्रतिशत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले ५० प्रतिशत र राखेपका कर्मचारीले ४० प्रतिशत छुट पाउने छन् ।

राखेपको सम्पर्क अधिकृतले प्रमाणिकरण गरेपछि मात्र प्रतिष्ठानले खेलाडी, प्रशिक्षक र कर्मचारीलाई उक्त विशेष सेवा दिइने बताइएको छ ।
उपचारका साथै राखेपले आयोजना गर्ने खेलकुदका प्रतियोगितामा स्वास्थ्य सम्बन्धि शैक्षिक जनचेतना, प्राथमिक उपचार, एन्टी डोपिङ, फिजियो थेरापी र पोषणा सम्बन्धि विभिन्न कार्यक्रम नाम्सले दिने सहमति भएको छ ।

 

राखेपका सदस्य–सचिव घिसिङले नेपाली खेलकुद विकासमा लागेका व्यक्तित्वहरूलाई यो सहकार्यले ठूलो प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो । घिसिङले नयाँ र सुखद सन्देश दिने उद्देश्यले यो सहकार्य गरिएको बताउनुभयो ।

राखेपले सञ्चानल गरेको मिसन– २०२६ लगायत राष्ट्रिय टिमको प्रशिक्षणमा पनि विशेष प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले नेपालको स्वास्थ्य क्षेत्रको सबैभन्दा जेठो अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग सहकार्य गरिएको घिसिङले बताउनुभयो ।

राखेपले राष्ट्रिय टिमका खेलाडी र प्रतियोगिताका क्रममा घाइते भएका खेलाडीलाई बिमासँगै उपचारमा केही खर्च गर्दै आए पनि यो सहकार्यले उनीहरूलाई ढुक्कसँग प्रशिक्षण गर्ने वातावरण मिल्ने उनको विश्वास छ ।

नाम्सका उपकुलपति बस्नेतले देशको पहिचान गराउने खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सहकार्य गरिएको बताउनुभयो । उहाँले स्वस्थ्य रहन खेलकुद नै सबैभन्दा बलियो माध्यम रहेको उल्लेख गर्दै यो सुरुआत मात्र भएको र आगामी दिनमा यो सहकार्य बढ्दै जाने आशा व्यक्त गर्नुभयो ।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहता, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निर्देशक डा. दिलीप शर्मा, डा. ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक बिष्टलगायतको उपस्थिति रहेको थियो ।

निर्देशक डा. शर्माले सकेसम्म खेलाडीलाई सहज तरिकाले सेवा पाउन् भन्ने उद्देश्यले सम्पर्क अधिकृत राखिएको बताउँदै आगामी दिनमा खेलाडीको सुविधाका लागि सेवा विस्तार गर्दै लैजान सकिने बताउनुभयो । ।

प्रतिक्रिया दिनुहोस्