एसियन कपमा नेपाल भियतनामसँग फेरि पराजित

काठमाडौं, ३० असोज । एएफसी एसियन कप छनोटको दोस्रो लिगमा पनि नेपाल भियतनामसँग १–० गोल अन्तरले पराजित भएको छ । लगातारको चौथो हारमा नेपालको छनोट यात्रामा पूर्ण विराम लागेको छ । भियतनाममा बुधबार भएको खेलको पाँचौ मिनेटमा नै भियतनामले अग्रता बनायो ।

नेपालका डिफेन्डर सुमन श्रेष्ठले आत्मघाती गोल गरे । ट्रोङ् टाएनलेको कर्नरमा नुयन हिउले हानेको बल सुमनको खुट्टामा लागेर गोलमा परिणत भयो । यही गोलमा भियतनामले पहिलो हाफमा १–० को अग्रता बनायो ।

नेपाल विरुद्ध घरेलु टोली भियतनामले दोस्रो हाफमा पनि दबाब बनायो । तर पाएको मौकालाई सदुपयोग गर्न सकेन । नेपालले पनि ८५ औं मिनेटमा गोल गर्ने मौका गुमायो । दिनेश हेन्जानले क्लोज रेन्जबाट हानेको प्रहार आकाशियो । भियतनामले पनि थप गोल गर्न सकेन् । खेल १–० ले जित्दै भियतनाम महत्वपूर्ण ३ अंक जोड्न सफल रहयो ।

खेल भारी वर्षाको कारण आधा घन्ट ढिला सुरू भएको थियो ।
यसभन्दाअघि नेपाल पहिलो लेगमा भियतनामसँग ३–१ ले हारेको थियो । नेपाल भियतनामसँग चौथो भेटमा चौथो पटक नै पराजित भएको छ ।

हारसँगै नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ । यसअघि नेपाल समूहको पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल पहिलोपटक लाओससँग २–१ ले स्तब्ध भयो ।

प्रतिस्पर्धामा भियतनामले ७५ प्रतिशत बल पोसेसन आफ्नो पकडमा राखेको थियो । भियतनामले नेपालको पोस्टमा २४ वटा सट प्रहार गर्दा १० वटा अनटार्गेटमा रहेका थिए ।

नेपालले केवल दुईपटक सट अवसर मात्र सिर्जना गर्न सक्यो । नेपालाई हराउँदै दोस्रो जित निकालेको भियतनामले आफ्नो समूहमा तीन खेलबाट ६ अंकसहित दोस्रो स्थान रक्षा गरेको छ । मलेसिया लगातार तेस्रो खेल जित्दै नौ अंक जोडेर शीर्षमा छ ।

मलेसियाले लाओसलाई ३–० ले हराएको छ । लाओसको तीन खेलमा ३ अंक छ । पहिलो हाफको अन्त्यतिर नेपाल १० खेलाडीमा सीमित भएको थियो ।

डी–बक्समा नेपालका स्ट्राइकर लाकेन लिम्बूले भियतनामका खेलाडीलाई सीधै फल गरे । रेफ्रीले उनलाई सीधै रातो कार्ड देखाए । त्यसपछि बाँकी समयमा नेपालले भियतनामविरुद्ध १० खेलाडीमा प्रतिस्पर्धा गरेको थियो ।

दोस्रो हाफको तुलनामा पहिलोमा नेपालले राम्रो खेल खेलेको थियो । खेलको नवौँ मिनेटमा थिन लिनले भियतनामलाई १–० को अग्रता दिलाए । तर, भियतनामको अग्रता लामो समयसम्म रहेन । खेलको १७औँ मिनेटमा सनिश श्रेष्ठले हेडिङ गोल गर्दै भियतनामलाई १–१ को बराबरीमा रोक्यो ।

२३ वर्षपछि भियतनामविरुद्ध प्रतिस्पर्धा गरेको नेपालले मध्यान्तरअघि बराबरीकै टक्कर दिएको थियो । फिनिसिङ र मिडफिल्डमा बलियो पकड बनाउन नसक्दा नेपाल दोस्रो हाफमा चुक्यो ।

खेलको ६७औँ मिनेटमा छन मानले भियतनामलाई २–१ को अग्रता दिलाए । खेलको ७२औँ मिनेटमा भान भीले भियतनामलाई ३–१ को स्थितिमा राखे । यसअघि नेपाल र भियतनामबिच सन् २००३ मा दुईपटक प्रतिस्पर्धा भएको थियो ।

दक्षिण कोरियामा सन् २००३ को सेप्टेम्बरमा एसियन कप छनोटको समूह ‘ई’अन्तर्गतको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो । इन्चेनमा भएको पहिलो खेलमा २–० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा भियतनामसँग ५ गोल व्यहोरेको थियो ।

भियतनामविरुद्ध १४ अक्टोबरमा नेपालले घरेलु मैदानका रूपमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्