अध्यक्ष ओलीद्वारा राष्ट्रिय हितमा एकजुट हुन सबै दललाई आग्रह

काठमाडौँ, ३० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा राष्ट्रिय हितमा एकजुट हुन सबै दललाई आग्रह गर्नुभएको छ ।

ललितपुर, जावलाखेलको भनिमण्डलस्थित रामबाघ महलमा बुधबारदेखि सुरू भएको पार्टीको १० औँ केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा गणतन्त्र, संविधानमा एकताबद्ध र रक्षाका लागि लोकतान्त्रिक शक्तिबीच सहकार्य गर्ने उल्लेख गर्नुभएको हो । अध्यक्ष ओलीले प्रतिवेदनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र वर्तमान सरकारका बारेमा प्रस्तुतीकरण गर्नुभयो ।

अध्यक्ष ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता हुनुपर्नेमा जोड दिनुभएको छ । बैठकको प्रारम्भ गर्दै उहाँले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्ने खालको पार्टी नभएको स्पष्ट पार्नुभयो । एमाले देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक न्यायका लागि निरन्तर लाग्ने अध्यक्ष ओलीले बताउनुभयो ।

अध्यक्ष ओलीको प्रतिवेदनपछि बुधबार नै प्रदेशगत रूपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्यहरूलाई वर्णाक्रमनुसार आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।

“पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश दिन्छ भने म खुसीका साथ नेतृत्व छाड्न तयार छु । तर अप्ठ्यारो स्थितिमा देशलाई अलपत्र पार्दिनँ”, अध्यक्ष ओलीले भन्नुभयो, “मैले पार्टीको अध्यक्ष छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने हो ।

कमिटीले भनेका बेला एकदम खुसीका साथ नेतृत्व छोड्न तयार छु । यो कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर लोकप्रियवादका पछि कुद्न हुँदैन ।” अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आह्वान पनि गर्नुभयो ।

जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिरमाथि उठाउने पार्टी एमाले मात्रै भएको बताउनुभयो । उहाँले मुलुकलाई लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय, समृद्धिको लयमा फर्काउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

यसअघि असोज २६ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले आउँदो मङ्सिर अन्तिम साता पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो ।

बैठकमा समसामयिक प्रस्ताव लेखनका लागि पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्य राजेन्द्र गौतम र विघटित प्रनिनिधिसभाका प्रमुख सचेतक महेश बर्ताैला रहेको समिति गठन गरिएको छ ।

बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई तोकिएको समयमा बोल्न समय उपलब्ध गराउने र बहस नोटका लागि पोलिटब्युरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्यद्वय विष्णु रिजाल एवं निरज आचार्यलाई जिम्मेवारी तोकिएको महासचिव शङ्कर पोखरेलले जानकारी गराउनुभयो ।

बैठकमा अध्यक्ष ओलीले गत भदौ २२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनबाट निर्वाचित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । बैठक असोज ३१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्