काठमाडौं, २९ असोज । कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको फिल्म ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रममा फिल्म युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।
निर्देशक अर्जुन सुवेदी, अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बु, अभिनेता विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, अभिनेत्री सबु गुरुङलगायतको उपस्थिति रह्यो ।
ट्रेलरमा एक अग्र्यानिक नेपाली प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठेराबिच अंकुरिएको प्रेमको संवेदनशील चित्रण गरिएको छ ।
ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबिचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई उजागर गरेको छ ।
ट्रेलर अनुसार प्रकाश र परीक्षा एकअर्काको प्रेममा छन् । तर, जातीय पृष्ठभूमि अलग हुँदा उनीहरूको सम्बन्ध संकटमा पर्छ । परिवारले परीक्षालाई अर्कै युवकसँग विवाह गर्न बाध्य बनाएपछि उनी परिवार र प्रेममा कुन रोज्ने भन्ने दोधारमा परेकी देखिन्छिन् ।
फिल्मले प्रेम र जातीय मूल्य मान्यताबीचको टकरावलाई केन्द्रीय द्वन्द्वको रूपमा प्रस्तुत गरेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
कथा मुख्यतः अभिनेत्री परीक्षा लिम्बुको वरिपरि केन्द्रित छ, जहाँ उनी र अभिनेता प्रकाश सपुतबिचको प्रेमकथा चलचित्रको मुख्य धागोका रूपमा प्रस्तुत गरिएको छ ।
‘सोल्टिनी’लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । लेखनमा अर्जुन र कुमार भट्टराई रहेका छन् । प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ ।
प्लानेट थ्रीको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले तयार पारेका हुन् ।
यो फिल्मको कार्यकारी निर्मातामा धरानका मेयर हर्क राई (साम्पाङ)ले नेतृत्व गरिरहेको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ रहेको छ । रेजिना बिस्ट र संसार चौलागाईँ निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन तथा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत छ । फिल्मले जातीय भेदभावविरूद्ध सशक्त आवाज उठाउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्