काठमाडौँ, २९ असोज । आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा नेपालसँग कतार पराजित भएको छ । सन्दीप लामिछानेको सानदार बलिङमा नेपालले मंगलबार कतारलाई ५ रनले हराएको हो ।
अपराजित नेपालले ६ अंक जोड्दै छनोटको संभावनालाई मजबुत बनाएको छ । कतार विरूद्धको खेल नाटकीय बन्यो ।
कतारका दुई खेलाडीको अर्धशतकमा जित नजिक पुगे पनि सन्दीपको तारिफयोग्य बलिङमा नेपालले ५ रनको रोचक जित दर्ज गरेको हो । सोमबार युएई विरूद्ध जस्तै मंगलबार पनि अन्तिम ओभर नै निर्णायक र अपत्यारिलो बन्यो ।
जितको लागि १ सय ४८ रनको लक्ष्य पछाएको कतार २० ओभरमा अल आउट हुँदै १ सय ४२ रनना समेटियो। कतारले सानदार सुरुवात गर्यो ।
ओपनर इमाल लियानागे र जुबेर अलि क्रिजमा जमे । ५ बलर दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी , नन्दन यादव, गुलशन झा र रोहित पौडेलले यी दुईलाई आउट गर्न सकेनन् । यो क्रममा इमालले ३१ बलमा ५ चौका र ३ चौका सहित अर्धशतक बनाए ।
१० औं ओभरमा सन्दीपले यी दुईको ७६ रनको साझेदारी तोडे । इमाल ५६ रनमा आउट भए । सन्दीपको यो टि ट्वान्टी र ओडिआई २ सय ५० औं अन्तर्राष्ट्रिय विकेट हो ।
लगतै सन्दीपले मुहम्मद असिमलाई १० रनमा आउट गरे । यतिखेर कतारले २ विकेटको नोक्सानीमा ९७ रन बनाएको थियो । यसपछि १४ औं ओभरको पहिलो र दोस्रो बलमा नेपालले कतारका २ खेलाडीलाई रन आउट गरे । २ रन बनाएका मिर्जा मोहम्मदलाई दीपेन्द्रले रन आउट गरे ।
यस्तै रनको खाता खोल्न नसकेका मोहम्मद तनबीरलाई आदिल अलामले रन आउट गर्दा नेपालले चौथो विकेट झार्यो । यतिखेर कतारले १ सय ५ रन बनाएको थियो ।
सन्दीपले साहकेब जमिललाई २ रनमा बोल्ड आउट गरे । यसपछि कतारको छेटौं विकेट नन्दन यादवले लिए । १६ ओभर २ बलमा सारिक मुनिरलाई नन्दनले एलबिडब्लु धरापमा पारे । ६ विकेट गुमाउँदा कतारले १ सय २३ रन बनाइसकेको थियो ।
क्रिजमा अर्धशतक बनाएका जुबेर अलि टिकिरहेका थिए । नेपाल दबाबमा थियो । यसपछि ३ रन बनाएका ड्यानियल आर्चरलाई दीपेन्द्रले बोल्ड आउट गरे । १ सय २८ रनमा ७ विकेट गुमाउँदा अन्तिम १२ बलमा कतारलाई जितको लागि २२ रन जरुरी थियो ।
१९ औं ओभरको पहिलो बलमा नन्दनले सेट ब्याटर जुबेरलाई ५२ रनमा गुलशन द्वारा क्याच आउट गराएसँगै खेल रोमाञ्चक बन्यो । १ सय २८ रन जोड्दा कतारले आठौं विकेट गुमायो । ठूलो विकेट लिए लगतै नन्दनले ३ बल वाइड फाले भने चौथो बलमा चौका दिनु महङ्गो बन्यो ।
अन्तिम ओभरमा कतारलाई जितको लागि १० रन जरूरी थियो । बलिङमा सन्दीप आए । सन्दीपले पहिलो दुई बल डट फाले भने तेस्रो बलमा १ रन बनाएका आमिर फारूकलाई आउट गर्दा खेल निकै रोमाञ्चक बन्यो । बाकी ३ बलमा १ विकेटको मद्दतमा कतारलाई १० रन आवश्यक थियो । चौथो बलमा कतारले १ रन बनायो । पाँचौं बलमा मुजिबले २ रन लिए । अन्तिम बलमा कतारलाई जितको लागि ६ रन जरुरी थियो । यो बल वाइड त थियो । तर उनी स्टम्पिङआउट भए । यो सँगै नेपाल ५ रनको अत्यन्त रोमाञ्चक जित निकाल्न सफल रहयो ।
बलिङमा सन्दीप छाए । ३.५ ओभरमा १८ रन दिएर ५ विकेटको सानदार प्रदर्शन गरे । नन्दन यादवले २ र दीपेन्द्रले १ विकेट लिए ।
यसअघि अल अमेरत क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा विकेट ९ विकेट गुमाएर १ सय ४७ रन बनायो । नेपालले सुरुवात राम्रो गर्न सकेन् । पहिलो पावर प्लेमा नेपालले २ विकेट गुमाएर मात्र ३३ रन मात्र बनायो । ओपनर कुशल भुर्तेल स्कुप सट खेल्ने क्रममा मात्र ६ रनमा आउट भए । मिर्जा मोहम्मद बेगको बलमा लियानागेद्वारा क्याच आउट हुँदा नेपालले पहिलो विकेटको नोक्सानीमा १४ रन बनायो ।
४.२ओभरमा अर्का ओपनर आशिफ शेख ११ बलमा बेगकै बलमा ११ रनमा पबिलोयन फर्किए । २ ओपनरलाई गुमाउँदा नेपालले २५ रन मात्र बनायो ।
लगत्तै कुशल मल्ल पनि आउट भए । ओपनरद्वय आसिफ र कुशल जम्न नसक्दा उत्कृष्ट प्रदर्शन गर्दै कुशललाई आलोचकलाई जवाफ दिने मौका थियो । तर यो खेलमा पनि उनी मात्र ८ रनमा ओएस अहमदको बलमा कट एण्ड बोल्ड आउट हुन पुगे ।
७ ओभर ४ बलमा कुशल आउट हुँदा नेपालले ४८ रन मात्र बनाएको थियो । कमजोर सुरूवात गरेपनि कप्तान रोहित र उप कप्तान दीपेन्द्र सिंह ऐेरीले इनिङ्स सम्हाल्दै कतारका बलरहरूलाई दबाब दिए ।
यो क्रममा रोहितले अर्धशतक बनाए । उनले ३५ बल खेल्दै ६ छक्का र १ चौका सहित अर्धशतक बनाए । टि –ट्वान्टी आईमा उनको यो आठौं अर्धशतक हो । यी दुईले चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे । २२ बलमा १ वौका सहित २५ रन बनाएर डानियल आर्चरको बलमा क्याच आउट भए । १५ ओभरमा ४ विकेट गुमाउँदा नेपालले १ सय १० रन बनाएको थियो ।
दीपेन्द्र सहित ३ खेलाडी आउट हुँदा नेपालले ६ रन बनाउने क्रममा ४ विकेट गुमायो । दीपेन्द्र,आदिल आलम, रोहित र सन्दीप जोरालाई आउट गर्दै कतारले सानदार कमब्याक गर्यो । अल राउन्डर आदिल आलम मात्र २ रनमा ड्यानियल आर्चरको बलमा कट एण्ड बोल्ड भए ।
आदिललाई आज ललितको स्थानमा खेलाइएको थियो । लगतै ड्यानियलले नै रोहितको ठूलो विकेट लिए । रोहित ४१ बल खेल्दै ७ चौका र १ छक्का सहित ५८ रनमा आउट भए । सन्दीप जोरा १ रनमा आउट भए ।
यसपछि गुल्सन झाले ८ बल खेल्दै २ छक्का प्रहार गर्दै १६ रन जोडे र कतारका कप्तान बेगको बलमा आउट भए । १ सय १६ रनको स्थितिमा नेपालले सातौं विकेट गुमायो। सोमपाल कामीले ९ बलमा १४ रन बनाए ।
बलिङमा कप्तान मिर्जा मोहम्मद बेग र ड्यानियल आर्चरले समान तीन विकेट लिए । आर्चरले ३ ओभरमा २२ रन दिंदै किफायती बलिङ गरे । बेगले ४ ओभरमा २९ रन दिए । नेपालले यो जितमा ६ अंक बनाएको छ । कतारको भने लगातार तेस्रो हार हो । उसले सुपर सिक्समा अंकको खाता खोल्न सकेको छैन । अब नेपालले ओमानसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्