काठमाडौँ, २८ असोज । डेङ्गीको सङ्क्रमण बढेसँगै ‘खोज तथा नष्ट’ अभियान सुरु भएको छ ।
देशभर डेङ्गीका बिरामीको सङ्ख्या पाँच हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।
महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार पाँच हजार पाँच सय ८९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै, तीनजना डेङ्गी रोगको सङ्क्रमणका कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठा
उँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।
डेङ्गी सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ ।
महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार चार सय ४० देखिएको छ । कोशी प्रदेशमा सात सय ४९, मधेसमा ८६, बागमतीमा एक हजार चार सय ८६, गण्डकी दुई हजार चार सय ४०, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा तीन सय ३४ जना सङ्क्रमण देखिएको छन् ।
काठमाडौँ जिल्लामा चार सय ६६, भक्तपुर ६२ र ललितपुर ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।
यसैगरी, बागलुङमा डेङ्गीको सङ्क्रमण बढसँगै ‘खोज तथा नष्ट’ अभियान सुरु भएको छ । अघिल्लो साता जिल्लाभर ११० जनामा डेङ्गी सङ्क्रमण देखिएका त्यो बढेर २५७ पुगेपछि जनस्वास्थ्य कार्यालयले सोमबारदेखि जनचेतनाममूलक कार्यक्रमसहित खोज तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।
गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार ‘खोज तथा नष्ट गर्’ अभियान बागलुङ नगपालिका–१ रामरेखा, वडा नं २ समीक्षालयरोड, वडा नं ३ बुद्ध विहार र वडा नं ४ उपल्लाचौरबाट एक साथ सुरु गरिएको हो ।
सो अभियानमा जिल्लास्थित जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थयकर्मी, टोलसुधार समितिका प्रतिनिधि र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको छ । अभियानका क्रममा डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान रहेको सडक, नालीलगायत सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, फूलदानी, पुराना टायर, ड्रम आदिको सफाइसमेत गरिँदै आइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाले जानकारी दिनुभयो ।
जिल्लामा सबैभन्दा बढी सङ्क्रमण फैलिएको बागलुङ नगरपालिकामा मात्र १३६ जना प्रभावित भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा २३, ढोरपाटन नगरपालिकामा १५, जैमिनी नगरपालिकामा सात, बडिगाड गाउँपालिकामा छ, ताराखोला गाउँपालिकामा चार र निसीखोला गाउँपालिकामा दुई जनालाई डेङ्गी सङ्क्रमण फैलिएको सो कार्यालयले जनाएको छ ।
बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामप्रसाद खनालका अनुसार लामखुट्टेको बासस्थानसहित लार्भा हुर्काउने स्थल नष्ट गर्ने तथा व्यापक जनसहभागितासहित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेतर्फ पालिकालो अभियानका रुपमा कार्यक्रम सञ्चालन गरेको छ ।
एक्कासि उच्च ज्वरो आउनेजस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गरी र आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । यसैगरी रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापरेमा डेङ्गी सङ्क्रमण हुनसक्ने भएकाले अस्पतालमा सम्पर्क गर्न जनस्वास्थ्य प्रमुख सापकोटाले सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्