काठमाडौँ, २७ असोज । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले व्यावसायिक सफलतापछि हौसिएका अभिनेता विजय बरालले अभिनय गर्नुभएको पछिल्लो चलचित्र ‘वरिष्ठ बलराम’ प्रदर्शनको तयारीमा छ । तिहारलाई लक्षित गर्दै आगामी कत्तिक ६ गते उक्त चलचित्र प्रदर्शन हुँदैछ ।
चलचित्रमा अभिनेता बरालसँगै अभिनेता दयाहाङ राई समान्तर भूमिकामा हुनुहुन्छ । बराल र राई गुुरुचेला हुनुहुन्छ । यिनै गुरुचेलाले पहिलोपटक समान भूमिकामा अभिनय गर्नुहुँदैछ । यसअगाडि यी दुई जनाले सँगै अभिनय नगर्नुभएको होइन, तर ती पटकथामा अभिनेता राई मुख्य र अभिनेता बराल सहायक भूमिकामा हुनुहुन्थ्यो ।
यसपटक भने दुवै जना समान भूमिकामा हुनुहुन्छ । अभिनेता बरालले यस चलचित्रमा आफ्नै गुरु अभिनेता राईलाई ‘तँ’ भन्ने र झगडा गर्नेलगायत दृश्य रहेकाले छायाङ्कनको सुरुआती समयमा आफूलाई कठिनाइ भएको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “मैले यसअगाडिका चलचित्रमा अभिनेता राईसँग पर्दा बाहिर भएको सम्बन्ध जस्तै दाजुभाइको भूमिका निर्वाह गरेको थिए । यसमा भने मैले उहाँसँग झगडा गर्ने, लात हान्ने, तँ भन्नेलगायत दृश्य छन् ।
आफ्नै गुरु र श्रदेय दाइलाई त्यस्तो गर्न अप्ठेरो नै हुनेरहेछ, तर अभिनेता राईले ती दृश्यलाई गर्न सहज बनाउनुभयो । हामी भलै चलचित्रको पात्रमा भए पनि आफ्नो श्रदेय व्यक्तिलाई होच्याउन गाह्रो हुने रैछ ।”
बरालले उक्त चलचित्रमा अभिनेता राईसँग टकराव गर्ने पात्रको भूमिका निर्वाह गर्नुभएको छ । राई चलचित्रमा काम गर्दा वास्तविक जीवनलाई बिर्सिनुपर्ने बताउनुहुन्छ । “हामीले त्यहाँ आफ्नो पात्र निर्वाह गरेका हौँ ।
त्यसकारण मैले अभिनेता बराललाई आफ्नो पात्रअनुसार व्यवहार गर्न भने, किनकि त्यहाँ हामीले हाम्रो पहिचान कायम ग¥यौँ भने पात्रलाई अन्याय हुन्छ । अभिनेता बरालसँग चलचित्रमा देखिएजस्तो वास्तविक जीवनमा कहिले हुँदैन”, उहाँले भन्नुभयो ।
बरालले वास्तविक जीवनमा कल्पना पनि नगरिएका पात्रलाई चलचित्रमा बाँच्न पाउनु नै अभिनयको सुन्दर पक्ष रहेको बताउनुभयो । स्थापित र उदाउँदो व्यक्तिबीचको सङ्घर्षको कथावस्तुमा आधारित रहेको चलचित्र ‘वरिष्ठ बलराम’ मा अभिनेताद्वय राई र बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारले अभिनय गर्नुभएको छ ।
यस चलचित्रमा समाजमा रहेको हरेक व्यक्तिमा बाहिरी आवरणमा वरिष्ठ र प्रतिष्ठित देखिने चाहनालाई देखाइएको छ । यस चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको उक्त चलचित्रको पटकथा महेश दवाडीले तयार गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्