काठमाडौँ, २४ असोज । मलेसियाको क्वालालम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज एमा नेपालकी कराते स्टार एरिका गुरुङले स्वर्ण जितेकी छन ।
एरिकले महिला ६८ केजीमाथि ऐतिहासिक स्वर्ण जित्दै यो सिरिजमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छिन । सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि बुधबार राति नेपाल फर्किएकी एरिकाले अबको ध्यान विश्व च्याम्पियनसिप र एसियन गेम्स भएको समेत बताएकी छिन ।
सन् २०२३ मा एसियाली खेलकुदमा रजत जिते यता एरिकाले लगातार पदक भित्र्याइरहेकी छन् । विगत चार वर्षदेखि प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षणमा हुर्किरहेकी एरिकाले गत साता मलेसियाको क्वालालम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज एमा स्वर्ण जितेकी हुन् ।
स्वदेश आएपछि एरिकाले पछिल्लो सयम नेपालमा भएको आन्दोलनको अवस्थामा पदक जित्दै त्यो दुःखमा मलमपट्टी भएको बताइन् । साथै उनले आफ्नो मेडल देशका लागि लड्ने सहिदप्रति समेत समर्पण गरिन् ।
हरेक प्रतियोगितामा पदक जितेकी एरिकाले आफूमाथि दबाब कहिल्यै नभएको र पदक जित्नका लागि आउने आशालाई आर्शिवादको रुपमा लिएको समेत बताइन् ।
उनले भनिन्, ‘एउटा तर्फबाट हेर्ने हो भने दबाब (प्रेसर)हो । तर अर्को तर्फबाट हेर्ने हो भने चाहिँ सबै जनाको आशिर्वाद पनि हो । दबाबको रूपमा हेर्ने हो भने चाहिँ एकदमै दबाब पनि हुन्छ ।
तर सकारात्मक तरिकाले हेर्ने हो भने चाहिँ एकदमै राम्रो हुन्छ । मैले एकदमै आशिर्वादहरू पाएको जस्तो लाग्छ । त्यही भएर त्यहाँ एउटा आशा हुन्छ अनि त्यो आशिर्वादले झन् एउटा छुट्टै खालको एनर्जी प्राप्त हुन्छ ।’
मलेसियामा स्वर्ण जितेपछि आफ्नो सपना पूरा भएको पनि उनले बताइन् ।
‘हामीले रजत पदकमै घर फर्किनु परेको स्थितिहरू थियो । यतिबेला चाहिँ यो साँच्चै नै स्वर्ण पदक हो । हामीले देखेको सपना पुरा हुँदै छ । अब ध्यान विश्व च्याम्पियनसिप मा छ ।
अनि त्यसमा चाहिँ एकदमै अझै आशा बढेको छ । अझै कन्फिडेन्ट बढेको छ । रिजल्ट्सको लागि पनि हाम्रो टिम आशावादी छ भन्नु पर्छ,’ उनले भनिन् ।
अर्को वर्ष जापानमा एसियन गेम्स हुँदैछ । त्यसअघि विश्व च्याम्पियनसिप हुँदैछ । अब यी दुई मुख्य प्रतियोगितमा केन्द्रीत हुने एरिकाको भनाइ छ ।
उनले भनिन्, ‘एसियन गेम्स र वल्र्ड च्याम्पियनसिप फरक हो ।
वल्र्ड च्याम्पियनसिपमा एसिया लगायत युरोप अनि सबै महादेशका खेलाडी आउनुहुन्छ । त्यहाँको स्टेजको स्ट्यान्डर्ड नै फरक हुन्छ । अनि त्यसमा राम्रो गर्दा एसियनमा पनि एकदमै सहयोग हुन्छ । यी प्रतियोगितामा हाम्रो टिमलाई आशा छ ।
पहिलाको भन्दा अहिले नतिजाहरू एकदमै राम्रो आएको छ । मेरो मात्र नभएर पूरै टिमको नै नतिजाहरू एकदमै राम्रो राम्रो भइरहेको छ ।’
उनले राम्रा प्रतियोगितामा पदक जितिरहदा ‘हामी पनि गर्न सक्छौ’ भन्ने सन्देश गएको बताइन् ।
‘यो मेडलले हामीले पनि सक्छौँ’ भन्ने सन्देश दिएको छ ।
हामी जाँदाखेरि तीन जना मात्र थियौँ, तर हामीले एउटा स्वर्ण पदक ल्याइसक्यौँ । हाम्रो टिमका धेरै खेलाडी जाँदाखेरि अझै उत्कृष्ट नतिजा आउँछ होला ।
विश्व मञ्चमा नेपाल भनेर नचिनिने प्रतियोगितामा पनि अहिले हामी पदक जित्न सक्ने भइसकेका छौं । त्यसैले भविष्य धेरै उत्कृष्ट छ । हामीले यतिकै मेहनत गर्दै गयौँ भने चाहिँ एकदमै राम्रो हुन्छ,’ एरिकाले भनिन् ।
प्रतिक्रिया दिनुहोस्