बाढीपहिरोबाट तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

काठमाडौँ, २४ असोज । देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढिपहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण कोशी, बागमती र कर्णाली प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका हुन् ।
अवरुद्ध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणखोलास्थित कोशी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएका छन् ।
यस्तै बाढीपहिरोलो इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको पाँचथर तुम्बेवा गाउँपालिका–२ नावाखोलास्थित तमोर करिडोरसमेत अवरुद्ध भएको प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित पासाङ ल्हामु सडकखण्ड, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोलास्थित वीपी राजमार्ग र सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकस्थित वीपी राजमार्गसमेत अवरुद्ध भएको छ ।
यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका–५ कुरिल्लास्थित कर्णाली करिडोर र कालिकोटको पचालझरना गाउँपालिका–८ जुगेनीखोलास्थित कर्णाली करिडोरसमेत पूर्णरूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताउनुभयो ।
वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–१ स्थित कोशी लोकमार्ग, मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवाखोलास्थित कान्ति लोकपथ सडक र मकवानपुरकै वकैया गाउँपालिका–११ घटटेपाखास्थित कान्ति लोकपथ एकतर्फीरूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी पहिरोजस्ता प्राकृतिक विपद्ले क्षति पु¥याएको विपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डमा अस्थायी डाइभर्सन निर्माणमा जोड दिएको छ ।
क्षतिग्रस्त सडकका कारण सवारी साधन आवतजावतमा समस्या भइरहेका बेला मन्त्रालयले यातायात व्यवस्था सहज बनाउन अस्थायी डाइभर्सन निर्माणमा जोड दिएको हो ।
गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड क्षति पुर्याएको थियो । उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकामा पुनः यस वर्षको बाढीले करिब चार किलोमिटर सडक पूर्णरूपमा बगाएको थियो ।
गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायीरूपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकिएको छ । केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
बाढीले क्षतिग्रस्त बनाएको करिब चार किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको हो । मन्त्री कुलमान घिसिङले सङ्घीय राजधानी काठमाडौँसँग बागमती, मधेस र कोशी प्रदेशका जिल्लालाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न सडक विभाग र निर्माण व्यवसायीलाई अग्रह गर्नुभयो ।
मन्त्री घिसिङको नेतृत्वमा सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोली सडक अनुगनमा गएको थियो । मन्त्री घिसिङले बाढीपहिरोले क्षतिग्रस्त चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्