काठमाडौँ, २० असोज । एफसी एसिया कप छनोट २०२७ अन्तर्गत भियतनामसँग खेल्ने २३ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गर्नुभएको हो ।
टोलीमा कप्तान लिम्बूसँगै अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दिप कार्की, दिनेश हेञ्जन र जिलेस्पीजङ कार्की छन् ।
यसैगरी कृतिकरत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन्
टोलीमा ६ खेलाडीले पुनरागमन गरेका छन् । बंगलादेशसँगको मैत्रीपूर्ण खेल दौरान यु–२३ टोलीमा रहेका आयुष घलान, कृतिश रत्न छुन्जु र सुमित महर्जनलाई टोलीमा फर्किएका छन् ।
चोटमुक्त भएर सनिश श्रेष्ठ र विमल पाण्डेले टोलीमा पुनरागमन गरेका हुन् । गोलकिपर विशाल सुनार यसपटकको टोलीमा छन् । बंगलादेशविरुद्ध टोलीमा रहेका अमित लामा, आदित्य शाक्य, रन्दिप पौडेल, समिर तामाङ, सृजनराज गौतम र गोलकिपर टिकेन्द्र यसपटक टोलीमा छैनन् ।
नेपालले भियतनामसँग दुई खेल खेल्नेछ । खेल यही असोज २३ गते भितनाममा हुनेछ ।
यसैगरी, मलेसियाविरुद्धको टी ट्वेन्टी अन्तरराष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । मलेसियाको क्वालालम्पुरमा आइतबार भएको खेलमा मलेलियासँग नेपाली महिला राष्ट्रिय क्रिकेट टोली १३ रनले पराजित भएको हो ।
यो पराजयसँगै पाँच खेलको उक्त शृङ्खलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।
मलेसियाले जितको लागि दिएको एक सय २१ रनको लक्ष्य पछ््याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय सात रनमा समेटियो । नेपालका लागि रुबी पोद्धारले सर्वाधिक ३१ रनको योगदान दिइन् ।
यसैगरी, कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् भने सम्झना खड्काले १८ रन बनाइन् । साथै कविता जोशी र कविता कुँवरले समान दुईदुई विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्