काठमाडौं, ७ असोज । कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मैझारो’को टिजर रिलिज भएको छ । सोमबार बडादसैंको घटस्थापनाको अवसरमा फिल्मको करिब दुई मिनेट लामो टिजर सार्वजनिक गरिएको हो ।
सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । इलामको गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न सकिन्छ । चिया बगानमा काम गर्ने युवतीको भूमिकामा मिरुना मगरलाई देख्न सकिन्छ । धिरज र मिरुनाको प्रेम टिजरमा देख्न सकिन्छ । तर कुनै बाध्यताले धिरज दिया पुनसँग नजिकिएका छन् ।
दर्शकले तक्मेबुढा (विल्सन विक्रम राई) भन्ने वितिक्कै कमेडी शैलीको फिल्मको अपेक्षा गर्छन् । तर उनले कमेडी शैलीभन्दा विल्कुलै फरक मौलिक प्रेमकथामा फिल्म निर्माण गरेका छन् । सार्वजनिक टिजरमा किराती मौलिक प्रेमकथामा भावनात्मक सम्बन्ध देखाइएको छ । यो फिल्म ले नेपाली माटोको कथा भन्ने अपेक्षा दर्शकको छ ।
त्रिकोणात्मक प्रेम कथामा आधारित सिनेमा ‘मैझारो’ निर्देशक राईकै कथामा निर्माण भएको हो । फिल्ममा धिरज, मिरुना र दियासहित बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय छ ।
यो सिनेमामा अभिनेता दयाहाङ राई पनि विशेष भूमिकामा देखिनेछन् । तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत, राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारीको स्वर, सौरभ लामाको छायांकन रहेको छ । मित्र डी गुरुङको सम्पादन राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई अस्मिता अधिकारी र अनमोल गुरुङको स्वरमा गीत समावेश छन् ।
वितरण अधिकार आरआर फिल्मले लिएको छ भने डिजिटल स्ट्रिमिङ अधिकार ओएसआरले खरिद गरेको छ । यस फिल्ममार्फत कलाकार विल्सन विक्रम राई पहिलो पटक लेखन तथा निर्देशनमा उत्रिदैछन् । उनले यसअघि पनि ‘तक्मे प्रोडक्सन’ बाट फिल्म निर्माण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्