एक्सन फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक

 

काठमाडौं, ६ असोज । नेपाली फिल्म उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको फिल्म ‘बलिदान’को ट्रेलर संविधान दिवसको अवसर पारेर शुक्रबार सार्वजनिक गरिएको छ । यसअघि पोस्टर, प्रि–टिजर, टिजर र गीतमार्फत उत्सुकता जगाइसकेको यो सिनेमाले ट्रेलरमार्फत अझै व्यापक चर्चा पाएको हो ।

ट्रेलरको सुरुमा ऋचा शर्मा आमाको भूमिकामा देखिन्छिन्, जहाँ उनले छोरासँग देश र अस्मिता बचाउने वचन माग्छिन् । यसपछि मुख्य भूमिकामा रहेका समीर भट्टको दमदार प्रवेश हुन्छ । उनका संवाद र एक्सन दृश्यले ट्रेलरलाई उच्च स्तरमा पुर्याएको छ । विशेषगरी उनले प्रस्तुत गरेको संवाद ‘मेरो आमाको बारेमा केही भनिस् भने काटिदिन्छु’ दर्शकमाझ चर्चाको विषय बनेको छ ।

फिल्मको सार्वजनिक ट्रेलरमा सौगात मल्ल, अर्पण थापा र महेन्द्र बुढाथोकी फरक रूपमै प्रस्तुत भएका छन् । सौगात र समीरबीचको द्वन्द्व, सौगातको राक्षस बन्न बाध्य पारेको संवाद र भीडसँगको भिडन्तले फिल्मलाई शक्तिशाली एक्सन–ड्रामा बनाउने संकेत गरेको छ । फिल्मको छायांकन, संवाद र ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई अझ प्रभावशाली बनाएको समीक्षकहरूको भनाई छ ।

यसअघि सार्वजनिक टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, ऋचा शर्माको भावनात्मक अभिव्यक्ति र हेमन्त बुढाथोकीको संवादले नै दर्शकलाई देशभक्ति र क्रोधमा डुबाएको थियो । गत मंगलबार सार्वजनिक फिल्मको शीर्ष गीत ‘यो ज्यान बलिदान’ अहिले चर्चामा छ । सुजन चापागाईंको स्वर र संगीत तथा हर्क साउदको शब्दमा तयार गीतले देशभक्ति भावलाई अझ बलियो बनाएको छ ।

 

आसुसेन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, कामेश्वर चौरासिया, प्रेम पुरीलगायत कलाकारको अभिनय छ । सन्तोष सेनको निर्देशन तथा अभिनय रहेको बलिदानलाई ‘केवल फिल्म नभई हरेक नेपालीको मनको विद्रोह’को प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।

निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका ‘बलिदान’ आगामी बडादशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउँदैछ । गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रव्युसनले वितरण गर्ने ‘बलिदान’ले नेपाली फिल्ममा साहसिक मोड ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्